जहाँ मेयरकै ज्यान धरापमा छ
हेर्नेलाई रमिता छ । बाहिरबाट हेर्दा गाईजात्रा चलिरहेको चितवनको राप्ती नगरपालिकाको अवस्था भयावह छ ।
मेयरले त पिएसओ लिएर हिँड्नुपरेको ठाउँमा कर्मचारीको के हालत होला ? निमित्त प्रमुख प्रशासकीय अधिकृत पनि घानमा पिसिने खतरा छ । उपमेयर देवेन्द्र लामाले ‘कार्यालयमा आइस् भने लत्याएर निकाल्छु’ भनेपछि भर्खरै निमित्त पाएका शैलेन्द्र भण्डारी निल्नु न ओकल्नुको स्थितिमा छन् । जे पर्ला, पर्ला भनी अस्ति आइतबारबाट फेरि नगरपालिकामा आउन थालेका छन् ।
जनप्रतिनिधिबीच द्वन्द्व चर्किंदै गएर राप्ती नगरपालिका चरम बेथितिमा फसिरहेको बेला चैत १० देखि २५ गतेसम्मका लागि उपमेयर बिदामा बसेपछि १८ गते आफू नफर्केसम्म भनी वडा नं. ७ की अध्यक्ष सुमिता डल्लाकोटीलाई कार्यवाहकको जिम्मा सुम्पेर मेयर पनि बिदामा बसे ।
यता सुमिता र शैलेन्द्रले नगरपालिका चलाए । उपमेयर फर्केपछि शुरुमै कार्यवाहक मेयरसँग झगडा भयो । वरीयताको विषयमा असन्तुष्टि जनाउँदै कार्यक्रमको माइन्युट नै केरिदिएका थिए । जुँगाको लडाइँमा अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई समेत सफाचट गर्न उपमेयर देवेन्द्र लामा र उनको समूह लागिपरेको बताइन्छ ।
यो आर्थिक वर्ष गत असोजमा एकपटक भएदेखि कार्यपालिका बैठक हुन नसकेको र हिउँदे नगरसभा नभएको निहुँमा कार्यपालिकाका अधिकांश सदस्य (एमाले–कांग्रेस) मिलेर दुई महिनादेखि मेयर, उपमेयरको कोठामा गरेको तालाबन्दी अझै खुलेको छैन । आफू विद्रोह गरेर निस्केको एमालेका जनप्रतिनिधिसँग अहिले तालमेल हुनै नसकिरहेका बेला मिलेर लडी सँगै विजयी भएका उपमेयर तथा कांग्रेसकै जनप्रतिनिधिहरूबाट समेत साथ नपाएर नेकपा एकीकृत समाजवादीका मेयर समशेर लामा फसादमा झन् ।
कार्यपालिकाको २३ जना सदस्यमा १६ जना एमाले, ४ जना कांग्रेस । अनि, तीनजना समाजवादीको के चल्नु ? बिदापछि चैतको अन्तिमतिरबाट कार्यालय आउन थालेको मेयर बताउँछन् । तर कार्यपालिका बैठक डाक्न सक्ने स्थिति नै छैन । यही मेसोमा उपमेयरले आफैं बैठक राखेर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई बर्खास्त गरिदिएका हुन् ।
उपमेयरले केही दिनअघि निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीलाई ‘तैंले गलत गरिस्, मैले कार्यपालिकाबाट निर्णय गरिसकें, तुरुन्त कुर्सी छोडेर जा, नभए लत्याएरै निकाल्छु’को शैलीमा फोनमा धम्क्याएका थिए ।
यस्तो छ, फोन संवाद –
‘तपाईंले गर्नुभएको काममा कुनै पनि किसिमको पारदर्शिता नभएको भन्ने विषय प्रष्ट पारिसकेको छु । संघीय मामिला मन्त्रालयका सचिवलाई पनि जानकारी गराइसकेको छु । हिजो पनि निर्णय भइसकेको छ । त्यो पदमा तपाईंले नैतिकताको आधारमा बसिरहन उपयुक्त हुन्छ जस्तोचाहिँ मलाई लाग्दैन । हिजोको कार्यपालिका बोर्डको बैठकले पनि त्यो विषयमा प्रष्ट रूपमा लेखिसकेको छ ।’ उपमेयरले यसो भन्दा शैलेन्द्रले भने ‘मैले कहाँनिर गल्ती ग¥या छु र सर ? मैले, नगरप्रमुख–उपप्रमुख दुइटैलाई मान्नुपर्छ ।’ यसपछि देवेन्द्र बोल्छन्, ‘मैले एकदम हार्डली रिक्वेस्ट गरिरा’छु सर ! तपाईंप्रति मेरो ईष्र्या इगो होइन, तपाईंको पदप्रति हो । सर, प्लिज ! मैले तपाईंलाई पनि ध्यानाकर्षण गरा’को छु । हिजो कार्यपालिका बोर्डको बैठकबाट तपाईंको खिलाफमा निर्णय भा’को छ । प्रशासक भएर गलत गर्नुभो । म अहिलेसम्म मौन थिएँ । यो मौनताको फाइदा उठाउने काम भयो ।’
– शैलेन्द्र भन्छन्, ‘मेयरको र हजुरको कुरो हो । मसँग किन यसो गर्नुहुन्छ, मैले तपाईंलाई पनि समन्वय गरेको छु । मेयरलाई नि समन्वय गरेको छु । समन्वय गर्नी हो । लिखितम मेयरले दिने हो । मैले होइन । मेयर सापसँग नै हजुरले कुरा गरेर क्लियर गर्नुपर्छ ।’
– देवेन्द्र बोल्छन् :‘म को हो ? म को हो के ? भन्नु न !’
– शैलेन्द्र : ‘हजुर उपमेयर हो ।’
– देवेन्द्र : ‘उपमेयर हो भने तपाईंले उपमेयर चिनेन अस्ति ? तपाईं यहाँबाट आउट हुनुस् । यो राप्तीको उपप्रमुखले भन्दै छ, ‘तपाईं यहाँ नबस्नुस् । तपाईंले काम गर्न सकेन भन्ने प्रमाणित भइसकेको छ ।’
– शैलेन्द्र : ‘तपाईंले थ्रेट दिने हो र उपमेयर साप, आफूभन्दा सानो कर्मचारीलाई ?’
– देवेन्द्र : ‘किन नदिने ? तपाईंले गलत गरेपछि पालेर राखुँ ?’
– शैलेन्द्र : ‘के गलत गरें ?’
– देवेन्द्र : ‘मैले प्रष्ट लेखेर देको के हो ? भन्नु न त्यहाँ ?’
– शैलेन्द्र : ‘हजुर । के मा ?’
– देवेन्द्र : ‘कार्यपालिका बैठकमा मैले तपाईंलाई पनि समन्वयको लागि कुरा गरेको हो । आउनुभएन । मेयरलाई पनि बोला’को, आउनुभएन । इटस् ओके । हामीले निर्णय गरेका छौं । बहुमतको आधारमा जति उपस्थिति छ, त्यसको सर्वसम्मत गरेका छौं । कोरम पुगेको छ ।’
– शैलेन्द्र : ‘म कुनै पनि हालतमा गलत छैन उपमेयर साप । तपाईंले गल्ती गर्नुभयो है एकपटक मसँग सोध्या भए नि हुन्थ्यो, म पनि कुरा गर्थें, त्यो भन्न मैले पाउने कि नपाउने ? तपाईंले मेयरसँगै कुरा गर्ने हो के, मसँग होइन ।’
– देवेन्द्र : ‘कार्यपालिका बैठक नराखेर उच्च अदालतसँग प्रश्न गर्नुपर्ने मेरो दोष हो ?’
– शैलेन्द्र : ‘के था त मलाई तपाईंहरूको कुरो ?’
– देवेन्द्र : ‘मैले भन्दाखेरी तपाईंलाई के था हुने होइन ?’
– शैलेन्द्र : ‘नौ महिनाअगाडिको कुरो हो नि उपमेयर साप त्यो त ?’
– देवेन्द्र : ‘के नौ महिना अगाडिको भन्नुस् त ? मलाई जुन उच्च अदालतबाट १५ दिने सूचना आ’को छ । मलाई कारबाही गरेर देखाऊ त ल ?’
– शैलेन्द्र : ‘मैले ग¥या हो त ? मैले गएर देको हो निवेदन ?’
– देवेन्द्र : ‘म तपाईंसँग नराम्रो हुन चाहन्न, तपाईं चुप लागेर आफ्नो कामकाजबाट फिर्ता हुनुस् । मैले यत्ति भनेको छु ।’
– शैलेन्द्र : ‘मन्त्रालयले चिठी दिनुपर्ला नि त फिर्ता हुनलाई ?’
– देवेन्द्र : मन्त्रालय, सन्त्रालय होइन, हामी एक्सेप्ट गर्दैनौं । तपाईंलाई लखेट्छौं । मैले बोलेको कुरा रिकर्ड गरेर राख्नुस् ।’
– शैलेन्द्र : ‘ठीकै छ, गलत कुराहरूचाहिँ नगरुम ।’
– देवेन्द्र : ‘तपाईं बीचमा नआउनुस् ! सुरुक्क आफ्नो बाटो लाग्नुस् । रिकर्ड गरेर राख्नुस्, कहाँ लैजाने हो लैजानुस् ।’
– शैलेन्द्र : ‘हजुरले लिखित दिनुस् ।’
– देवेन्द्र : ‘मैले निर्णय गरिसकें त केको लिखित हो ?’
– शैलेन्द्र : सामान्यमा गएर निर्णय ल्याउनुस् न त उपमेयर सा’प सक्किगो नि ।’
– देवेन्द्र : ‘मेरो निर्णय छ । मेरो कार्यपालिकाको निर्णय छ ।’
– शैलेन्द्र :‘ठीक छ त । कार्यपालिकाको निर्णय लगेर सामान्यमा दिनु ।’
– देवेन्द्र : ‘सामान्यमा होइन । मैले निर्णय गरिसकेको छु । संघीयमा पनि जान्छ । तपाईं तुरुन्त निक्लिनुस् । तपाईं निक्लेन भने के गरेर निकाल्नुपर्छ, त्यतिखेर मलाई केही नभन्नुस् ।’
– शैलेन्द्र : ‘हजुरले जे गर्नुपर्छ कर्मचारीमाथि गर्ने व्यवहार देखाउनुहोला । यो मेरो लेबलको कुरो पनि होइन । सामान्यबाट चिठी लिएर आउनु, अर्काे व्यवस्था गर्नु । मलाई किन टाउको दुखाउनुप¥यो भन्या ?’
– देवेन्द्र : ‘तपाईं त्यो अफिसबाट निक्लिनुभएन भने गलहत्याएर निकाल्दै गरेको अवस्थाचाहिँ सामना गर्न सक्नुपर्छ है !’
– शैलेन्द्र : ‘गर्नु न त उपमेयरले गर्ने कामभित्र पर्छ कर्मचारीमाथि भने ।’
– देवेन्द्र : ‘मत गर्छु । नगर्ने सवाल छ र भनेको यार ?’
– शैलेन्द्र : ‘ल गर्नु न त ।’
– देवेन्द्र : ‘तपाईंलाई मैले राम्रोसँग भनको छु । तपाईं त्यहाँबाट निक्लिनुस् आफ्नो कामकाजमा लाग्नुस् ।’
– शैलेन्द्र : ‘उपमेयरसँग निस्केर जा भन्ने हैसियत रहन्छ र ? सामान्यले जा भन्ला । चिठी देला नि त ?’
– देवेन्द्र : ‘कार्यपालिकाबाट निर्णय गरिसकेँ मैले ?’
– शैलेन्द्र : ‘ठीक छ त सामान्यमा पठाउनु, उल्ले मलाई फिर्ता गर्छ, मलाई रहर छ र ? म जान्छु त ।’
– देवेन्द्र : ‘तपाईंले काम गर्न सक्नुभएन ।’
– शैलेन्द्र : ‘हजुरले जज गर्ने हो र ? काम गर्न सक्यो कि सकेन भन्ने कुरो, उपमेयर साप ?’
– देवेन्द्र :‘ए, म को हो ? जनप्रतिनिधिले जज गर्दैन ? तपाईंले गलत काम गरेपछि मचाहिँ मुकदर्शक भएर चुप लागेर बस्नुपर्ने ?’
– शैलेन्द्र : ‘हजुर न्यायिक समितिको संयोजक पनि हो । जज पनि हजुरले गर्ने हो । सामान्यमा चिठी पठाउनुस् । सामान्यबाट चिठी पठाएर ल तँ आजबाट निमित्त हटिस् भनेर पत्र आउनेबित्तिकै जान्छु । तपाईंले दिएको पद पनि होइन उपमेयर साप । सामान्यले हो । सामान्यबाट पत्र ल्याउनुस् । म अहिल्यै हटिहाल्छु ।’
– देवेन्द्र : मलाई यत्रोको सामान्य ? कार्यपालिका बोर्डको निर्णय भइसक्यो त ।’
– शैलेन्द्र :‘हजुरले पनि नियम मान्नुपर्ला । हजुर पनि सरकारी मान्छे हो ।’
– देवेन्द्र : ‘तपाईंलाई गलहत्याएर निकाल्दै गरेको अवस्थामा तपाईं दुखी मनचाहिँ नगर्नुस् ।’
– शैलेन्द्र : ‘ल आउनु त नि गलहत्याएर निकाल्न ।’
– देवेन्द्र : ‘तपाईंलाई लत्याएर निकाल्न मलाई केको आइतबार हो र हौ ?’
– शैलेन्द्र : ‘ल बारबार भनेको छु ।’
– देवेन्द्र :‘सामान्य किसिमले जानुस् ।’
– शैलेन्द्र : ‘निकाल्नुहोला सर आउनु, निकाल्नु ।’
यो फोन संवादपछि विवादको वास्तविकता बुझ्न निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीसँग सम्पर्क राख्दा जनआस्थालाई उनले भने, ‘आईटी कर्मचारी सुरज चौधरीले उपमेयरले विशेष कार्यपालिका मिटिङ भनेको खबर ल्याए । मेयर सापले म हुँदाहुँदै किन ? भन्नुभो । यसपछि मैले सुरजलाई डाकेर भनेको यत्ति हो, ‘सुरज भाइ, माथि मेयर साप हुँदाहुँदै तपाईंले डाक्नुभो, एकपटक मेयर सापसँग सल्लाह गर्नुपथ्र्याे । मसँग भने नि हुन्थ्यो । तपाईंले गल्ती गर्नु भो भाइ ।’ भनेको यत्ति हो । मैले मेरो कर्मचारीलाई यति भन्न पाउने कि नपाउने ? त्यहाँ १३ नं. को वडाअध्यक्ष हुनुहुन्थ्यो । शैलेन्द्रले सुरजलाई जागिरमा नआइज भन्यो भनेर उपमेयर सापले भन्नु हुन्छ । भण्डारीले सुरजलाई थर्कायो, भोलिबाट नआइज भन्यो भनेर । तर १३ नं.कोले भनेकै छैन त्यो कुरा भन्छन् । सुरजले त बिचरा ‘सर, तपाईंले मलाई त्यो भन्नु भाकै छन् नि ! कहाँ भन्नु भाछ र ?’ भन्छ ।’ मेयर हुँदाहुँदै उपमेयरले कार्यपालिका बैठक डाक्न पाउने नियमबारे आफूले कहीँकतै थाहा नपाएको भण्डारी बताउँछन् ।
उपमेयर देवेन्द्र लामासँग सम्पर्क राख्दा जनआस्थासँग यसो भने, ‘प्रमुख प्रशासकीय अधिकृतले के गल्ती गरेको छ, भनेर उहाँलाई नै सोध्नुस् । म प्रशासकले गलत गरेको टुलुटुलु हेरेर बस्नसक्ने मान्छे होइन ।’ भण्डारीसँगको फोन संवादमा आफूले सभ्य भएर बोलेको उपमेयरको जिकिर छ । आफूले यो विषयमा गलत गरें भनेर भण्डारीले मनन् गर्नुपर्ने बताउँदै उनले थपे, ‘नियम विपरीत काम गर्नुभएन । म आएपछि म हुने होइन कार्यवाहक मेयर ?’
मेयर नआई आफूभन्दा ठूलो उपमेयरलाई कावा दिन नमिल्ने भण्डारीले बताएका थिए । भण्डारीको विषयमा सामान्य मन्त्रालयमा कम्प्लेन पहिल्यै पठाइसकेको जनाउँदै उपमेयर भन्छन् ‘गलत गर्ने मान्छेलाई नेपाल सरकारले राखिराख्छ भने मेरो भन्नु केही छैन । संसदमा त ठोकाठोक हुन्छ । राप्तीमा गलत भइरा’छ भने देवेन्द्र लामा टुलुटुलु हेरेर बस्दैन । प्रशासकले ऐन सम्मत चलाउनुपर्छ । जनप्रतिनिधिहरू सबैले कानुन पढेर त आ’को हुँदैन । नेतृत्व गर्ने अभिभावक मेयर साप हो । मेयरले राम्रो तरिकाले चलायो भने कसैले कुनै विरोध गर्नुपर्ने आवश्यकतै नरहने उनको भनाइ छ । ‘मेयरले बैठक नराखेपछि के गर्ने त ?’, उपमेयर लामाले भने ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू