होटल, गेष्ट हाउसमा अपराधिक गतिविधि मौलाउँदा प्रशासन रमितेमा सीमित

होटल, गेष्ट हाउसमा अपराधिक गतिविधि मौलाउँदा प्रशासन रमितेमा सीमित

गत वैशाख २१ गते काठमाडौंको एउटा होटलमा दुःखद् घटना भयो । सो दिन गोगंबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा एक जोडी युवा–युवती बास बस्न पुगे । होटलले उनीहरुलाई तेस्रो तल्लाको ९ नम्बरको कोठा उपलब्ध गरायो । तर, होटलले उनीहरुको परिचय पत्र हेरेन । युवकसँग होटलमा बसेकी उनको भोलि बिहान ढिलासम्म ढोका खुलेन । 

ढोका नखुलेपछि झ्याल फुटाएर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परिन् । प्रहरीले उनलाई तत्काल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्यायो, तर उनको मृत्यु भइसकेको थियो । उनको दायाँ आँखा सुन्निएको र शरीरका अन्य भागमा चोटपटक लागेको पोस्टमार्टममा देखियो । युवतीको परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि प्रहरीले चन्द्रागिरी नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीलाई पक्राउ गरेको हो । युवतीको श्रीमान् विदेशमा रहेको खुलेको छ । 

गौशालास्थित सिरहा धनुषा होटल एण्ड लजमा गत माघमा एक युवती मृत फेला परिन् । प्रेमीसँग होटल पुगेकी प्रमिला दमाई हत्या भएको अवस्थामा भेटिएकी हुन् । रामेछापको लिखु तामाकोशी घर भएकी उनको कोठा दुई दिनसम्म नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो । घाँटीमा डोरी कसेर उनको हत्या गरेपछि प्रेमी कोठा बन्द गरेर फरार भएका थिए । अनुसन्धानका क्रममा प्रेमीले गलत विवरण लेखेर कोठा बुक गरेको खुलेको थियो । प्रमिला आफ्नो पतिसँग गौशालामा बस्दै गएकी थिइन् । 

गोंगबुको होटलमा केही वर्षअघि एक महिलामाथि सामूहिक बलात्कार भयो । कामको खोजीमा काठमाडौं आएकी उनलाई एकदिन नयाँ बसपार्कस्थित मित्रनगरको एउटा होटल र अर्को दिन थप दुई वटा होटलमा लगेर बलात्कार गरिएको थियो ।

उक्त घटनामा प्रहरीले आठ जनालाई पक्राउ गर्यो । अनुसन्धानका क्रममा उनीहरु सबै वैदेशिक रोजगारीका लागि काठमाडौं आएको खुलेको थियो । यता, होटल सञ्चालकसहितलाई मतियार बनाएर प्रहरीले सबैउपर मुद्दा चलायो । यी त केही प्रतिनिधि पात्र मात्र हुन् । होटल सञ्चालकहरु पैसा कमाउनेतर्फ केन्द्रित हुँदा अपराधिक घटना भएको हो ।

ग्राहकबीचको नाता खुल्ने प्रमाण अभावमा पनि होटलले जथाभावी कोठा उपलब्ध गराउँदै आएको देखिन्छ । मुखले दम्पती भनेको भरमै कोठा दिँदा हत्या, बलात्कार, यौन दुराचारका जघन्य अपराध भइरहेका छन् । यता, ‘अण्डर ऐज’ का लाई परिवारबिना होटलमा बस्न दिन नहुने प्रावधान भएपनि होटलले ख्याल गरेको पाइँदैन । जसलाई पनि व्यक्तिगत फाराम नभरेको अवस्थामा र परिचय पत्र नहेरी कोठा दिने गरिएको छ । 

यसबाट होटलका कोठाहरु असुरक्षित बन्दै गएका हुन् । कतिपयले फारममा गलत विवरण भरेर ‘रुम बुक’ गर्ने गरेको पाइन्छ । होटलका सञ्चालक तथा कर्मचारीहरुले परिचयपत्र नमागी उनीहरुले भनेअनुसार नै विवरण टिप्ने गरेका छन् । जसले अपराधलाई प्रोत्साहन गरिरहेको छ । तर, सरोकारवाला निकायले अनुगमनमा तदारुकता देखाएको पाईंदैन । 

होटलमा मान्छेको हत्यासम्मको जघन्य अपराध हुँदासमेत सरोकारवाला निकायले कडाइ गरेको छैन । यता, होटल सञ्चालकहरुले ऐनकानुनकै धज्जी उडाइरहेका छन्  । सरोकारवाला निकायले बेलाबखत सूचना जारी गरेर होटल तथा गेष्ट हाउस सञ्चालनका लागि पालना गर्नुपर्ने मापदण्डबारे स्मरण गराउँदै आएको छ । तरपनि होटल व्यवसायीहरुले अटेर गरेका हुन् ।

बास बस्न आउने पाहुनाको नाम, ठेगाना खुल्ने गरी राख्न, उनीहरुको परिचयपत्र हेर्न, होटलमा ‘इन र आउट’ भएको समय टिप्न र सिसीटिभी क्यामेरा राख्न होटललाई सूचित गरिएको छ । तर, थोरै होटल तथा गेष्ट हाउसमा सिसीटिभी क्यामेरा जडान गरिएको पाइएको छ । होटलमा ग्राहक आएको र गएको समय देखाउनको लागि मात्रै लेख्ने गरिएको बताइन्छ । 

काठमाडौं उपत्यकामा पछिल्लो समय होटल, लज तथा गेष्ट हाउसहरु छ्याप्छ्याप्ती खुलेका छन् । घरैपिच्छे यस्तो व्यवसाय सञ्चालन गरिएको पाइन्छ । तीमध्ये अधिकांशले मापदण्ड पालना गरेका छैनन् । रात्रिकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड २०७९ को बुँदा नम्बर ८ मा व्यवसायीले व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने सुरक्षासम्बन्धी व्यवस्थाबारे उल्लेख छ । 

जसमा कम्तीमा ३० दिनको रेकर्ड राख्ने व्यवस्थासहित कार्यस्थलको ‘इन्ट्री र इक्जिट’ प्रवेशद्वार र आसपासको सडक क्षेत्रसम्मको पहुँच पुग्नेगरी सिसीटिभी क्यामेरा जडान गर्नेलगायत व्यवस्था उल्लेख छ । यद्यपि, अनुगमनमा सरोकारवाला निकायले चुस्तता नदेखाउँदा होटलहरुले मनलाग्दी तवरले  व्यवसाय गर्दै आएका छन् । एकातिर होटल व्यवसाय क्षेत्रमा बेथिति मौलाएको छ भने अर्कोतिर समाजमा अपराधको ग्राफ उकालो लागेको छ । 

होटल व्यवस्था तथा मदिरा बिक्रीवितरण (नियन्त्रण) ऐन, २०७५ मा होटल मालिकले पालना गर्नुपर्ने नियमबारे उल्लेख छ । जसमा होटलमा आएका ग्राहकको नाम, नागरिकता नम्बर, पेशा, आएको मिति र ठेगाना समेतको विवरण लेखाउनुपर्ने भनिएको छ । १६ वर्ष मूनिका नाबालक, मातिसकेका व्यक्ति, मानसिक असन्तुलन भएकालाई मदिरा बेच्न वा खान दिन नहुने, मदिराले मातिसकेका व्यक्तिलाई होटलमा छिराउन नहुने स्पष्ट व्यवस्था छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार होटलले रजिष्ट्रेशनबिना ग्राहकलाई राखेको पाइएमा कारबाही हुन्छ । सबै होटलले ग्राहकको व्यक्तिगत विवरण खुलाएर राख्नुपर्ने उनी बताउँछन् ।

‘होटलमा जस्तो पनि ग्राहक आउन सक्छन् । अपराधी बास बस्न आउन सक्ला । त्यसैले व्यक्तिगत फाराम भर्नुपर्ने व्यवस्था गरिएको हो । आफ्नो पहिचान खुल्ने परिचय पत्र पनि देखाउनुपर्छ । रजिष्ट्रेशनबिना ग्राहकलाई बास दिने होटललाई कारबाही हुन्छ । दुई जनाको हकमा उनीहरुको नाता के हो भन्ने पनि फाराममा उल्लेख गर्नुपर्छ’,उनले भने । 
त्यस्तै, होटलमा अपराध भएमा र सञ्चालकले विवरण राखेको नपाइएमा सञ्चालकलाई कारबाही हुने कार्कीले बताए । ‘पोखरामा एउटा घटना भएको थियो । श्रीमानले बीमाको रकमका लागि श्रीमतीको हत्या गर्न लगाउँछ । जसलाई हत्या गर्न लगाइएको हुन्छ, उनीहरु होटलमा बस्छन् । खोजतलास गर्दै जाँदा हामी त्यो होटलमा पुग्यौं । होटलवालाले रजिष्ट्रेशनबिना उनीहरुलाई राखेको रहेछ । त्यसपछि हामीले होटलवालालाई पनि कारबाही गर्यौं । रजिष्ट्रेशन नगर्ने होटल सञ्चालकलाई पनि कारबाही भयो’, उनले भने । 

जिल्ला प्रशासन कार्यालयको समन्वयमा होटलहरुमा बेलाबखत अनुगमन गरिरहने प्रहरीको दाबी छ । शंकास्पद व्यक्ति रहेको सूचना पाउनेबित्तिकै होटलमा छापा मार्ने गरिएको उनको जिकिर छ । 

व्यक्तिगत विवरण नै भनेर छानबिन भएको छैन 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले होटलहरुमा बेलाबखत निरीक्षण भइरहने भएपनि व्यक्तिगत विवरण नै भनेर अनुगमन नगरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले व्यक्तिगत विवरण राखेको–नराखेकोबारे अनुगमन नभएको बताए । तर अनुगमनका लागि प्रशासनले अनुगमन समिति बनाएको छ । 

समितिले छानबिन गर्दै आएको दाबीका साथ उनी भन्छन्, ‘होटलहरुमा अनुगमन भइरहेको हुन्छ । तर, यसकै लागि भनेर गरिएको हुँदैन । प्रशासनले एउटा अनुगमन समिति बनाएको छ । निरीक्षक हुनुहुन्छ । उहाँहरुले अनुगमन गर्नुहुन्छ । पछिल्लो समय स्थानीय सरकारले पनि अनुगमन गर्दै आएको छ’, उनले भने । त्यस्तै, उनले ठमेल र दरबारमार्गमा २४ सै घण्टा रात्रिकालिन व्यवसाय सञ्चालन भएपछि अनुगमनमा कडाइ गरिएको दाबी गरेका छन् ।

टिप्पणीहरू