पुल निर्माणमा भएको ढिलाइविरुद्ध चक्काजाम

पुल निर्माणमा भएको ढिलाइविरुद्ध चक्काजाम

पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै आक्रोशित सिराहाका स्थानीय सडक संघर्षमा उत्रिने भएका छन् । 

धनुषा र सिरहा जोड्ने कमला नदीमा निर्माणाधीन पुल ठेकेदार कम्पनीले अलपत्र छोडेपछि स्थानीयले चरणवद्ध आन्दोलन गर्न लागेका हुन् । 'कमला पुल निर्माण संघर्ष समिति' गठन गरि सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएपछि भोलिदेखि सडक संघर्ष गर्ने निर्णय भएको समितिका संयोजक रवीन्द्र साहले बताए । 

आन्दोलनका कार्यक्रमअन्तर्गत भोलि बिहान ८ बजेदेखि तीन घण्टा सिरहा बजारमा चक्काजाम गर्ने तयारी छ । त्यस्तै, सिरहा बजारसहित जिल्लास्थित सबै सरकारी कार्यालय बन्द गर्ने कार्यक्रम रहेको संयोजक साहले जानकारी दिए । 

मधेशको मेरुदण्डको रुपमा रहेको कमला नदीमा पुलको निर्माण अन्तिम चरणमा रहँदा भासिएको थियो । पुल भासिएको दुई वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन् । 

जसले गर्दा स्थानीय पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्न बाध्य छन् । समितिका पदाधिकारीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र पनि बुझाएका थिए ।
 

टिप्पणीहरू