भरतपुरमा साढे चार हजारलाई निःशुल्क तालिम

भरतपुरमा साढे चार हजारलाई निःशुल्क तालिम

चितवनको भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा साढे चार हजारलाई निःशुल्क तालिम प्रदान गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०८०÷०८१ को जेठ मसान्तसम्म चार हजार पाँच सय २४ जनालाई निःशुल्क तालिम दिएको जनाएको छ ।

महानगरले वडा र महानगरस्तरीय गरी विभिन्न तालिम प्रदान गरेको जनाएको छ । रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकासहित महिलाको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाजा बजाउने, मादल तथा खंैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल र अचार बनाउने तालिम दिइएको छ ।

यस्तै, प्लम्बिङ, कृषि, बेकरी, सर्फ, साबुन, भाँडा माझ्ने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन,  झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राईभिङ, एड्भान्स सिलाई कटाई, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउनेलगायत तालिम पनि प्रदान गरिएको छ । 

एक दिनदेखि चार महिनासम्मका ती तालिमले दक्ष जनशक्तिको उत्पादनमा सहयोग पुर्याएको महानगरको भनाइ छ । ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिकस्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य उद्देश्य रहेको महानगरको भनाई छ ।

मेयर रेनु दाहाल भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिएको बताउँछिन् । उनका अनुसार महानगरभित्रका उद्योग, कलकारखानामा भारतलगायत अन्य मुलुकबाट दक्ष कामदार ल्याउनुपर्ने बाध्यता अझै छ ।

तालिमबाट युवाहरुलाई स्वःरोजगार बनाएर स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको मेयर दाहालको भनाइ छ । आगामी आर्थिक वर्षमा निःशुल्क तालिम कार्यक्रमलाई थप बिस्तार गर्ने महानगरको योजना छ ।

टिप्पणीहरू