खहरे मासेर धमाधम सडक निर्माण, स्थानीय आन्दोलित

खहरे मासेर धमाधम सडक निर्माण, स्थानीय आन्दोलित

भक्तपुरको चाँगुनारायणस्थित खहरे खोला मासेर सडक निर्माण थालिएपछि स्थानीयबासी आन्दोलित भएका छन् । चाँगुनारायण नगरपालिका–२, असल छिमेकी टोलमा खहरे खोला, कुलो र खोल्सा मासेर ह्युम पाइप राखी सडक निर्माणको काम थालिएपछि उनीहरु आक्रोशित भएका हुन् ।

ह्युम पाइप राखेर सडक निर्माण गर्दा बर्खामा बस्ती नै डुबानको जोखिममा पर्ने उनीहरुको भनाई छ । यस विषयमा जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउँदा समेत जबरजस्ती रातको समयमा काम गर्ने गरिएको आरोप छ ।

उक्त निर्माणको विरोधमा स्थानीयसँगै जनप्रतिनिधिहरु समेत उत्रिएका हुन् । वडा नम्बर २ का सदस्य उमेश प्रधान र राधाकृष्ण गेलालले आफूहरुको विरोधका बाबजुद् वडाध्यक्ष सोमप्रसाद प्रधानको एकलौटी निर्णयबाट जबरजस्ती काम भएको बताए ।

नगरपालिकाले रोक्का पत्र पठाउँदा समेत रातको समयमा काम हुने गरेको जनप्रतिनिधिहरुको भनाई छ । वडा सदस्यहरुले नियम विपरीत भएको उक्त कार्य नरोकिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा उजुरी हाल्ने चेतावनी समेत दिएका छन् ।

टिप्पणीहरू