विपद व्यवस्थापन सिकाउँदै नेपाली सेना

विपद व्यवस्थापन सिकाउँदै नेपाली सेना

नेपाली सेनाले प्राकृतिक विपद्बाट सुरक्षित रहनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

श्री कृष्ण दल गणले कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा सचेतना कार्यक्रम तथा तालिम आयोजना गरेको हो । ‘अभ्यास मनसुन–४’ अन्तर्गत गत जेठ १४ देखि २० गतेसम्म कार्यक्रम सञ्चालन गरिएको गणका क्याप्टेन उमङ्ग श्रेष्ठले बताए । 

उनका अनुसार वडा नम्बर १६ अर्मला, वडा नम्बर २५ हेम्जा, वडा नम्बर २४ पामे, वडा नम्बर २२ पुम्दीभुम्दी, वडा नम्बर २१ कृस्तिनाच्नेचौर र निर्मलपोखरीका स्थानीयलाई विपद्बाट बच्ने तालिम दिइएको छ । 

‘हामीले प्राकृतिक विपद्मा आफू, आफ्नो परिवार र समाजलाई कसरी सुरक्षित राख्ने भनेर सचेतनात्मक कार्यक्रम गरेका हौं । उक्त कार्यक्रममा विभिन्न वडाका स्थानीय बासिन्दालाई पनि समावेश गराएका थियौं । उहाँहरुलाई विपद्को दौरान ईप्रोभाईजेशन गरी बाढी तथा पहिरोमा प्रयोग गरिने सामग्रीहरु रोप, पिकेट, कपडाबाट स्टेचर बनाउने तरिका, म्याट्रेसको प्रयोग गरी बोट बनाउने र बोतलको प्रयोग गरी लाइफ ज्याकेट बनाउने तरिकाहरुको डेमो देखाउनुका साथै बनाउन सिकाएका छौं’, उनले भने । 

बर्खाको समयमा बाढी तथा पहिरोबाट हुने जोखिम न्यूनिकरणका लागि गणले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । ती कार्यक्रमले हावाहुरी, बाढी पहिरोमा हुन सक्ने जनधनको क्षति न्यूनिकरणमा सहयोग पुर्याउने गणको भनाइ छ ।

टिप्पणीहरू