यसरी पार लाग्ला र मिसन ०८४ !

यसरी पार लाग्ला र मिसन ०८४ !

एमालेले मिसन ०८४ भन्दै आएको छ । तत्कालीन एमाले र नेकपामा धेरै गुट भयो भन्ने ओली नेतृत्वले धरातलमा नदेखे पनि एमाले गुटको महासंघजस्तो भएको छ । त्यसको एक उदाहरण सुदूरपश्चिम हो ।

धनगढीमा शुरु भएको गुटबन्दीको चरम सीमा बाजुरामा अझ चर्को तरिकाले प्रकट भएको छ । कैलाली अधिवेशनमा स्थायी समिति सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारीको गुटबीच चुनाव भयो । अध्यक्ष दामोदर पक्ष र दुई पदाधिकारीसहित बहुमत कर्ण पक्षले जित्यो । कर्णको पक्षमा केन्द्रीय सदस्य झपट रावल पनि खुलेका थिए । त्यही कैलालीमा अहिले पालिका अधिवेशन भएका छन् । १३ मध्ये ११ मा कर्णनिकट र अध्यक्षमा पराजित डेजी पाण्डेको समर्थनप्राप्त उम्मेदवार विजयी बनेको जिल्ला उपाध्यक्ष लोकेन्द्र शाहीको दाबी छ । 

बाजुराको जिल्ला अधिवेशनमा कर्ण र लालबहादुर थापाले दुई टीम उठाउँदा लालबहादुर पक्षले अध्यक्षसहित सबै पदाधिकारी जितेको छ । जिल्ला कमिटीमा पनि प्रचण्ड बहुमत छ । 

कञ्चनपुरमा पनि लक्ष्मी बुढा एक मात्र महिला अध्यक्ष हुने भएपछि ओलीकै दवावमा निर्विरोध बनाइयो । उनी कर्णबहादुर थापानिकट मानिन्छन् । तर कञ्चनपुरमा निरु पाल, सुरेन्द्र विष्ट, लक्ष्मीपल्लव भट्ट एकातिर छन् भने कमला बोहराको टीम अर्कोतिर छ । 

डडेल्धुरा, दार्चुला र बैतडीमा निर्विरोध नेतृत्व चयन भएको छ । बझाङ, अछाम र डोटीमा अध्यक्ष ओलीलाई चित्त नबुझ्नेहरू अध्यक्ष हुने सम्भावना भएकोले अधिवेशन हुन नदिइएको चर्चा सुदूरपश्चिमेलीका बीचमा छ । अछाम र डोटीमा भीम रावल निकट र बझाङमा कर्ण थापा निकट जिल्ला अध्यक्ष हुने अवस्था छ । यी तीन जिल्लामा पनि पार्टी एकता बलियो बनाउन कठिन छ । 

अर्कोतिर हिजो एमालेमा एकथरीले अछामीले बढी अवसर पाए भनिन्थ्यो भने अहिले दामोदर भण्डारीका कारण बैतडीकाले बढी अवसर पाएको चर्चा छ । दामोदर आफै संघीय उद्योगमन्त्री छन् । यही बेला बैतडीबाट जितेका उनका खास मानिने सुरेन्द्र पाल अर्थमन्त्री भएका छन् । समानुपातिक प्रदेश सभा सदस्यमा पनि बैतडीकै जानकी ऐर बम बैतडीकै भएका कारण छानिएको बताइन्छ । दामोदरमाथि कैलाली, कञ्चनपुरमा पनि बैतडीबाट बसाँइसराइ गरे आएकालाई बढी बोक्ने गरेको आरोप छ । अहिले संघका १६ मध्ये दुई र प्रदेशका ३२ मा चार सिट मात्र एमालेले जितेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू