मिथिला थाली दोस्रो वर्ष, बाजेको सेकुवा कति वर्ष ?

मिथिला थाली दोस्रो वर्ष, बाजेको सेकुवा कति वर्ष ?

पत्रकारिता आचार संहितामा व्यक्तिगत व्यवसाय, व्यापारको विज्ञापनलाई समाचार बनाउन नहुने उल्लेख छ । जसअनुसार सञ्चारमाध्यमले त्यस्ता कुनै पनि समाचार प्रकाशन प्रसारण गर्न हुँदैन ।

त्यसमा पनि सरकारी सञ्चार माध्यमले अन्य मिडियाको तुलनामा आचार संहिताको पालनामा धेरै ध्यान दिनुपर्ने हुन्छ । सानातिना मिडियाले विभिन्न स्वार्थमा त्यस्ता उत्पादन र विज्ञापनको समाचार बनाए पनि सरकारी मिडियालाई राज्यले नै बजेट व्यवस्था गर्ने भएकाले समाचार बनाउनुपर्ने कुनै आवश्यकता नै पर्दैन ।

तर,राष्ट्रिय समाचार समिति (रासस) को अस्तिको एक समाचारको शुरुआतमा मास्टर सेफ सन्तोष साहले नेपालमा थालेको रेष्टुरेन्ट मिथिला थालीको दोस्रो वर्ष प्रवेशको समाचार बनाइएको छ । समाचारको लिड नै त्यही छ । उनले जनकपुरमा शुरु गरेको यो रेष्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको समाचारको समग्र सार हो । 

उक्त समाचार सम्प्रेषण गरेपछि राससकै कर्मचारीहरुले भने, ‘साहको रेष्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको समाचार जान्छ भने बाजेको सेकुवा कति वर्षमा प्रवेश गर्यो भनेर किन नदिने ? त्यो पनि नेपालमा एउटा ब्राण्डकै रुपमा स्थापित उत्पादन हो नि !’ 

तिनै साह राससले आयोजना गरेको फोटो प्रदर्शनी हेर्न बुधबार रासस भवन पुगेको बताइन्छ । गणतन्त्र दिवसका अवसरमा शुरु गरिएको फोटो प्रदर्शनी लगभग महिना दिन पुग्न लागेको छ । अवलोकनका लागि अध्यक्ष धर्मेन्द्र झाले राससका सबै समाचारदातालाई आफ्नो बिटअनुसारका राजनीतिक तथा अरु व्यक्तिलाई फोटो हेर्न बोलाउने उर्दी नै जारी गरेका छन् ।

गत महिनादेखि अध्यक्ष झाले आएका पाहुनालाई फोटो प्रदर्शनीको व्याख्या गर्ने,उनीसँगै राससमा आफ्नो पनि समाचार र फोटो छाप्ने र हिँड्ने बेलामा आफ्नो पुस्तक दिने गरेको राससका ठूलै ओहोदाका एक जना कर्मचारीले बताए । ‘राससजस्तो सरकारी संस्थाको प्लेटफर्म प्रयोग गरेर अध्यक्षले आफ्नो प्रचार गरेकामा यहाँका कर्मचारी आजित भएका छन्,’ उनले दुःखेसो पोखे ।
 

टिप्पणीहरू