बागलुङका पत्रकारलाई हेला,मुक्तिनाथ बाबाको हिसाबकिताब फेला

बागलुङका पत्रकारलाई हेला,मुक्तिनाथ बाबाको हिसाबकिताब फेला

नेपालका चर्चित बाबाहरूमध्ये सँधै चर्चामा आउन रूचाउने कमलनयनाचार्य पनि एक हुन् । उनी आफूलाइ मुक्तिनाथ पिठाधिश भन्न रुचाउँछन् ।

चर्चासँगै राजनीतिक शक्तिको वरपर रहेर आफ्नो वर्चस्व कायम राख्न सफल धार्मिक खेलाडीको रुपमा परिचित आचार्यले पछिल्लो समय आफ्नो जन्मभूमिको बारेमा धेरै प्रचार थालेका छन् । बागलुङ नगरपालिका वडा नम्बर ६ को धार्मिक पर्यटकीय केन्द्र सर्वसिद्विधाम पन्चकोट बनाउन थालेपछि बागलुङका अधिकांश पत्रकारहरूले मिसनको रूपमा यसको सक्दो प्रचारप्रसार गरेका छन् ।

गत फागुन ९ देखि २३ गतेसम्म बागलुङमा सम्पन्न ब्राह्मण्डीय महायज्ञको प्रारम्भमा स्वामी कमलानयनचार्यलाई स्थानीय सञ्चारकर्मीहरुले भेटेर पन्चकोट यज्ञका बारेमा समन्वय गरेर अगाडि बढ्न अनुरोध गरेका थिए ।

तर,आचार्यले ‘बागलुङका पत्रकारको के हैसियत छ ?’ भन्दै ‘उनीहरूसँग समन्वय गर्न मलाई के चासो ?’ भन्ने ठाडो जवाफ फर्काएको गुनासो छ । उनले आफूलाई काठमाडौं,पोखरा, भैरहवातिरका पत्रकारले नै पर्याप्त सहयोग गरेको आशय व्यक्त गरेका थिए ।

पन्चकोटको सन्दर्भमा एक दशकदेखि कलम चलाउँदै आएका पत्रकारहरूलाई अपमान गरेलगत्तै अहिले महायज्ञमा भएका केही अस्वाभाविक हरहिसाब छरपस्ट भएका छन् । अनन्तश्री ब्राह्मण्डीय महायज्ञमा मिडिया स्क्रिनिङ, प्रचारप्रसार,सूचना,टिभी आदिमा बागलुङमा चार लाख १० हजार ५०० सय रूपैयाँ खर्च भएको हिसाब देखाइएको छ । काठमाडौं गल्फुटारबाट स्वामी कमलनयनाचार्य स्वयमले ११ लाख खर्च गरेको समेत जोडेर १५ लाख १० हजार ५०० रूपैयाँ खर्च भएको उल्लेख छ । तर,यो रकम कहाँ खर्च भयो भनेर आयोजक पक्षले बताउन नसकेको स्थानीय पत्रकारहरुले बताए ।

११ वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सर्वसिद्विधाम पन्चकोट शिलान्यास गरेदेखि हजारौं सर्वसाधारणबाट करोडौं रूपैयाँ प्राप्त भएको छ । तर त्यो पनि पारदर्शी रूपमा नदेखाइएकोमा पत्रकारहरुले आश्चर्य मानेका छन् ।

टिप्पणीहरू