नेपाली ठगिएको थाहा छ, टुलुटुलु हेर्न सकिँदैन : श्रममन्त्री

नेपाली ठगिएको थाहा छ, टुलुटुलु हेर्न सकिँदैन : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नेपाली ठगिएको बताएका छन् । 

‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन नहुँदा ठूलो संख्यामा नेपालीहरु ठगीमा परिरहेको उनको भनाई छ । ठगिएका नागरिकहरुको सम्बन्धमा आफूले काम गरिरहेको दाबी गरेका मन्त्री अर्यालले अब टुलुटुलु हेरेर नबस्नेसमेत स्पष्ट पारे ।

‘अहिले पनि फ्रि टिकट फ्रि भिसा जम्मा ४ प्रतिशत मात्र कार्यान्वयनमा आएको भनेर हामीले डाटा प्राप्त गरेका छौँ । त्यसकारणले यसलाई मैले संवेदनशील रुपमा हेरेको छु’, आज प्रतिनिधिसभा बैठकमा उनले भने, ‘९६ प्रतिशत नागरिकहरु जो विदेश जानुभएको छ, उहाँहरुमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ । त्यसको विषयमा काम गरिररहेको म जानकारी गराउन चाहान्छु ।’ 

मन्त्री अर्यालले हरेक वर्ष झण्डै एक खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिक ठगिएको जनाए । सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको उनले जानकारी दिए । 

‘फ्रि भिसा फ्रि टिकट सम्बन्धीको जुन विषयवस्तु छ, यसले एउटा विकराल अवस्था सिर्जना गरेको छ । करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ,’ मन्त्रीले भने, ‘जुन त्यही नागरिकबाट ठगिएको देखिएको छ । त्यसकारणले यसको अन्त्य त गर्नु नै पर्छ । गर्नु नै छ । हामीले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि त्यसमा उच्चतम प्रयास गरिरहेका छौँ । त्यो भइसके पछाडि नागरिकहरु ठगिनबाट अझ बच्नुहुन्छ भन्ने मेरो बुझाइ छ ।’

टिप्पणीहरू