चीनमा देखिएको यस्तो चमत्कार

चीनमा देखिएको यस्तो चमत्कार

– रविना श्रेष्ठ

२०२४ मे १८ तारिख, छिमेकी मुलुक जनगणतन्त्र चीनको राजधानी शहर बेइजिङमा आएको नौ दिन भइसकेछ । विकासको चरमोत्कर्षमा पुगिसकेको बेइजिङलाई छाडेर उत्तर–पूर्वी किनारामा अवस्थित ग्वाङडोङ राज्यको चुहाइ शहरमा पदार्पण गरेको तीन दिन भयो । ३०० वटाभन्दा बढी द्वीपसमूह मिलेर बनेको, विश्व मानचित्रमा छुट्टै पहिचान र अस्तित्व रहेको, पूर्वाधार र मानव बसोबास धेरै भएको अनि उत्पादन र उत्पादकत्वको दृष्टिले धेरै अगाडि रहेको ठाउँ हो यो । जनघनत्व अधिक रहेको चुहाइ शहरमा केही समय बिताएर भोलि बिहानै बेइजिङ फर्कनु छ ।

मानव जीवन स्वार्थपूर्ण रहेछ । मनलाई जतिसुकै स्थिर राखेर बाँध्न खोजे पनि अस्थिर र चञ्चल भइहाल्ने । यी विकास र सकारात्मक कुरा नेपाल लैजान पाए पनि हुने जस्तो लागिरहेको छ । बेइजिङ फिर्ने समय भइसक्यो तापनि मनन गर्नु र सिक्नुपर्ने केही महत्वपूर्ण चिज छुट्यो कि जस्तो लागिरहेको छ ।

हिँड सुन्दर शहरमा
चिडिया आज बनुँ उडी त्यहाँ
ढकमक्क सुगन्ध छाउने
वनमा नीड रचेर गाउने ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा लेखेका यी शब्द सम्झिरहें । मिश्र र नाइल नदीको सभ्यता मात्रै पढेको मलाई मोतीयुक्त नदीको सभ्यताले झनै मुग्ध बनाएको छ । मैले पढेको र सुनेको भोटबर्मेली सभ्यताको उद्गमस्थल सम्भवतः यही हो कि भन्ने दोधारमा छु ।

जब घामले मोतीहरूको नदी (पर्ल) लाई नाघेर मकाउ अनि दक्षिण चाइना समुद्र किनाराको क्षितिज चुम्न खोज्छ, तब चुहाइवासी ह्वारार्र बाहिर निस्कन थाल्छन् । १९८० को दशकमै चीनको चार पर्यटकीय शहरमध्ये एकमा पर्ने यो शहर रातिको १२ बजिसक्दा पनि जागै छ । पर्यटकहरू सडक, पार्क, रेष्टुराँ र ‘कान्चे’ भनिने चोकको फुडकोर्टतिरै झुमेर रमाइरहेका छन् । दिनभर उद्योग, कलकारखानामा उत्पादन, आयात र निर्यातको व्यस्त जीवनशैलीलाई राहत दिने र भोलिको दिनलाई निःशर्त स्वागत गर्ने चुहाइवासीको यो नियमित दिनचर्या नै हो ।
 

चुहाइले खाद्यान्न र अन्य बन्दोबस्तीका लागि हङकङ र मकाउलाई पालेको छ । आँखाले भ्याएसम्म लामो अत्याधुनिक पुलपारिको आलिशान परिहरूको शहर, जुवाको शहर, कमलको फूलको यस टापुलाई दर्पणको आगमन र सुगन्धित पर्वतको शहर जस्ता नामले चिनिँदोरहेछ ।

५ जी नेटवर्कलाई लक्ष्य मानेर अघि बढिरहेको चीनले ‘अब ८ जी’ भन्न थालेको छ । विकास र विनाश एकआपसका पूरक हुन् भन्ने भाष्यलाई चुहाइ शहरले गलत सावित गरिसकेको छ । भ्रमणको क्रममा संसारकै एक प्रमुख एयर कन्डिसनर निर्माता कम्पनी ग्री इलेक्ट्रिक एप्लाइन्सेस कम्पनीमा पुग्दा जो कसैलाई अचम्म लाग्छ । ‘विशाल कम्पनी छ, व्यापक उत्पादन तर कार्बन उत्सर्जनको दृष्टिले शून्य’ यस्तो किसिमको चकित पार्ने वातावरणमैत्री काम दुनियाँमा यही कम्पनीले गरेको छ । ८० हजार कामदारले तीन सिफ्टमा काम गर्ने विशाल कम्पनीले १६० भन्दा बढी राष्ट्रलाई आफ्नो उत्पादन बेच्दैछ । कम्पनीले निर्माण गरेको चलाख विद्युत् मानव ‘रोबोट’ को एक समूहले फर्माइसअनुसारको सांगीतिक धुन बजाएर दिनभरिको थकान मेटी पुनर्ताजगी भरेर बिदाइ गर्दोरहेछ । कम्पनीले निर्माण गरेको बोलेर बन्द र सुचारु गर्न मिल्ने सेन्सरयुक्त अत्याधुनिक टेलिभिजन र अत्याधुनिक वातानुकुलित (एयर कण्डिसन) बलियो र टिकाउ भनेर प्रख्यात छ । इञ्जिनहरूको दिमाग भनेर चिनिने माइक्रोचिप्ससमेत यसैले निर्माण गर्छ ।

अझै विभिन्न विमान निर्माण, मर्मत र विकास गर्दै आएको चुहाइस्थित अत्यन्तै महत्त्वपूर्ण एभिएसन पार्कले विज्ञान जगतको प्रतिविम्ब झल्काउँछ । उडान अवधिमा विमान नियन्त्रणबाहिर गएमा एक पावर बटन थिच्नासाथ स्वचालित भई सुरक्षित रूपमा अवतरण हुने आविष्कारलाई आँखाअगाडि देख्न पाउँदाको खुशी कसरी पो वर्णन गर्न सकुँला र ! यस्तो आविष्कार सायद विश्वकै पहिलो हुनुपर्छ । ‘अम्फिबियन विमान’ अर्थात् भूमि र पानी दुबैमा अवतरण र उड्न सक्ने देखि लिएर प्याराग्लाइडिङसम्मको मोडल उडान, उड्डयन सिमुलेटर जस्ता चमत्कार चुहाइ एभिएसन पार्कमा देख्न पाइन्छ ।

आफ्नो अस्तित्वका लागि ‘खहरे पहाडमा जतिसुकै गड्गडाए पनि सागरमा विलिन हुँदा शान्त त हुनै पर्छ ।’ यही हो प्राकृतिक नियम र ध्रुवसत्य पनि । शान्त, सौम्य चिनियाँहरूलाई आतिथ्य सत्कार र आमोद विनोदमा कसले पो सक्छ र ? मोतीहरूको नदी दक्षिण चीन सागरमा समाहित हुने ठाउँ यलि द्वीपको पूर्वी किनारा हो । यही विन्दु नजिक दक्षिण चीन सागर तटमा निर्मित गोलाकार भव्य र मनमोहक युगल ओपेरा भवन (ओपेरा घर) छ । ५९ हजार वर्गमिटर क्षेत्रमा सुविधासम्पन्न भवन छ । व्यापक जनसंख्या, चौडा र व्यस्त चिल्लो सडक तर सवारी जाममा कहीँ, कतै, कोही पनि परेको देखिँदैन । सडकको नामै प्रेमीहरूको सडक अर्थात् लभर्स रोड । मकाउ सिमानामा जमिनमुनि विशाल र सस्तो बजार ‘पोर्ट प्लाजा मार्केट’ छ, जसले व्यस्त शहरलाई थप व्यवस्थित पारेको छ र मकाउवासीको किनमेल गर्ने मुख्य मार्केट बन्न पुगेको छ । उन्नत बाली प्रणालीबिना बढ्दो जनसंख्यालाई भोकमरीबाट जोगाउन सकिन्न भनेर ज्ञानको आँखा खोल्ने र कनेक्टिभिटी नै विकासको द्योतक हो भन्ने मन्त्र सिकाउने विश्वविद्यालय यहीं छ । चीनले ५५ किलोमिटर अर्थात् ३४ मिल लम्बेतान पुलद्वारा हङकङ र मकाउलाई चुहाइ शहरसँग जोडेर विकासको मार्गचित्र प्रस्तुत गरिसकेको छ ।

जसरी संरचना बलियो हुन जग र त्यसमाथिका अवयव मजबुत हुन जरुरी छ, त्यसरी नै कुनै पनि देश सम्पन्न र बलियो हुन स्थायी आम्दानीका स्रोत र बलियो स्थायी संरचना हुनुपर्छ । यसलाई जनगणतन्त्र चीनले ८० को दशकमै आत्मसात गरिसकेको रहेछ । ‘सके थपिन्छ, नसके घटाउने त परिकल्पनाभन्दा बाहिरको कुरा’ भन्ने दृढ निश्चय प्रत्येक चिनियाँ नागरिकले बोकेको पाइन्छ । त्यसैले त भन्ने गरिन्छ, चीन यत्तिकै विश्व जगत्मा शक्ति सम्पन्न भएको हो र ?
 

टिप्पणीहरू