प्रधानमन्त्रीद्वारा युवा–विद्यार्थी पलायनको क्रम रोक्न आग्रह

प्रधानमन्त्रीद्वारा युवा–विद्यार्थी पलायनको क्रम रोक्न आग्रह
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा–विद्यार्थी विदेश पलायन हुने गरेको कारण पत्ता लगाउँदै स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूले अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको बढ्दो संख्यालाई रोक्नुपर्नेमा जोड दिनुभएको छ । ‘युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ ।’ 

२१औँ शताब्दीका युवा–विद्यार्थीको चाहना, आवश्यकता र प्राथमिकता बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । उद्यम अथवा निर्वाहमुखी रोजगारीको व्यवस्थाका लागि समेत विश्वविद्यालयहरूले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वैकल्पिक साधन–स्रोतहरूको खोजीमा ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

‘अब विश्वविद्यालयहरूले सरकारको मुख ताकेर बस्ने होइन कि हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि ध्यानकेन्द्रित गर्नैपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । उच्चशिक्षामा विकासको गतिलाई व्यापक, व्यावहारिक र जीवनोपयोगी बनाउँदै लैजान सुझाव दिँदै प्रधानमन्त्रीले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको बढ्दो प्रभावलाई न्यूनीकरण गर्नका लागि सूक्ष्म खोज–अनुसन्धान, प्राकृतिक सम्पदा र परम्परागत ज्ञान–सीपको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धन र कृषिमा आधुनिकीकरण तथा यान्त्रिकरणका माध्यमबाट प्रदेशका साथै समग्र देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

अलैँची, चिया, रूद्राक्ष, जडिबुटी, जुट, फलफूललगायत नेपालका मौलिक उत्पादनहरूका बारेमा समेत सूक्ष्म शोध–अनुसन्धान गर्न विश्वविद्यालयलाई सुझाव दिनुभएको छ । प्रधानमन्त्रीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तारमा समेत उक्त विश्वविद्यालयले महत्वपूर्ण योगदान दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीका अनुसार मोरङको गोठगाउँमा सुविधासम्पन्न अस्पतालका साथै मेडिकल कलेज सञ्चालन गरेर सो क्षेत्रका आमजनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपब्ध गराउन सरकार प्रतिबद्ध छ ।

टिप्पणीहरू