६० किलाे सुन प्रकरणमा ४६ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

सुन्नुहोस्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन प्रकरणसम्बन्धी दोस्रो चरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई बुझाएको छ । 

आज पत्रकार सम्मेलन गर्दै ब्यूरोले प्रतिवेदनबारे जानकारी गराएको हो । प्रतिवेदनमा ४६ जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये २० जना पक्राउ परिसकेका छन् भने २६ जना अझै फरार छन् । 

पक्राउ पर्नेमा अधिकांश चिनियाँ र भारतीय नागरिक भएको पनि ब्यूरोले जानकारी दिएको छ । प्रतिवादीहरुविरुद्ध कुल २ खर्ब ६६ अर्ब ७६ करोड बिगो दाबी गर्दै आज वा भोली नै काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने तयारी छ । 

गत वर्ष साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थ्ति भन्सार कार्यालय परिसरबाट ६० किलो सुन बरामद गरेको थियो । उक्त सुन हङकङबाट ल्याइएको बताइएको थियो ।

यसबारे सिआइबीले पहिलाे चरणमा दुई महिना लगाएर तयार पारेको प्रतिवेदनलाई जाँचबुझ आयोगले अपूर्ण भनेपछि दोश्रो पटक अनुसन्धान थालेकाे थियाे ।


 

टिप्पणीहरू