ठगका ठूला स्वरले गणतन्त्र ठहरै

ठगका ठूला स्वरले गणतन्त्र ठहरै

मुलुकमा सहकारी ठगी र अनेकौँ अवैध धन्दाबाट सम्पत्ति आर्जन गरिरहेकाहरू नै ठूला र चर्का स्वर गर्दै आफूलाई चोखो देखाउन खोज्दै छन् । राज्यसत्ता र नेतालाई सजिलै लगाइने आरोप ‘चोर’, ‘अपराधी’ र ‘ठग’ जस्ता शब्द उनैले बेच्दै आएका छन् । आखिर किन र कसरी त्यस्तो विकृतपूर्ण संस्कृति मौलायो ? हाम्रो समाज र प्रणाली हामीले कस्तो बनाउँदै छौँ ? प्रश्न गम्भीर छ ।

किन कुनै व्यक्ति र निकायप्रति अराजक आक्षेप–आरोप लगाइन्छन् ? कतिपय सन्दर्भमा राजनीतिक नेतृत्व र राज्यप्रणालीप्रति गैरकानुनी तथा फौजदारी प्रकृतिका आगो ओकल्ने प्रवृत्ति बढ्दै गएका देखिन्छन् । ठग र भ्रष्टाचारीहरू नै राजनीतिमा आएर ठूला कुरा गर्दै छन् । ठूला भनिएका माछा साँढे भएर हिँडेका छन् । सामान्य नागरिकलाई कानुन लाग्ने, ठूला भने बच्ने प्रवृत्ति सर्वत्र देखिँदा लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्यापिँदै गएको छ ।

खानेपानी संस्थानको कार्यालय सहायक पदमा काम गर्ने धु्रव वाग्ले नामक कर्मचारीले धारा जडानको क्रममा सडक खन्न ६ हजार लाग्ने र त्यो काम आफैँ गरिदिने शर्तमा रकम लिएका थिए । त्यसैलाई ग्राहकले घुस भन्दै अख्तियारमा उजुर गरेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता ग¥यो । अदालतले निजलाई सफाइ त दियो तर फेरि खाल्टो खन्न मागेको ६ हजारको मुद्दा बोकेर अख्तियार सर्वाेच्च अदालत पुग्यो । त्यतिबेलासम्म ध्रुव वाग्लेलाई धेरै खालका हैरानी र दुःख भइसकेको थियो । बल्ल उनले सर्वाेच्च अदालतबाट पनि सफाइ पाए । त्यसबेलाचाहिँ सर्वाेच्च अदालतले यस्ता साना मुद्दामा राज्यको साधन–सोत खर्च गर्नुको औचित्य छैन भन्दै निजलाई सफाइ दिएको थियो (ने.का.प. २०७७, अंक ६, नि.नं.१०५१८) । मुलुकमा एकातिर यस्ता घटना छन् । तर, ठूला सहकारीका ठग, अपराधी, करमारा, राजश्वमारादेखि अनेकौँ धन्दाबाट अकुत कमाउनेहरू भने शानसँग हिँडिरहेकै छन् ।

मन नपरेको जो–कसैलाई जस्तोसुकै प्रकृतिको गम्भीर आरोप–आक्षेप लगाउने संस्कृति बढ्दै गएको छ । लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त राजनीतिक स्वतन्त्रतालाई गलत अर्थमा बुझ्दा यस्ता कुसंस्कार बढेको हो । प्रत्येकले अधिकारै अधिकारबारे चर्का कुरा गर्ने तर आफ्ना आधारभूत दायित्व पूरा नगर्ने प्रवृत्ति बढ्दै गएका कारण प्रणाली धमिलो बनेको छ । युरोपेली देशमा अधिकारका साथै प्रत्येकले आफ्ना दायित्व पूरा गर्दछन् । समाजवादी चीनको शासन प्रणाली मूल रूपले दायित्वमा बढी निर्भर छ । नेपालमा चाहिँ स्वतन्त्रताको उपयोग गर्ने नाममा ठग र अपराधीहरूको नै ठूलो स्वर छ । यो लाजमर्दाे कुरा हो ।

अर्काेतर्फ आधुनिक, पढेका र नवयुवा भनिएका ठूलो जमातचाहिँ राजनीति, राजनीतिक प्रणाली, देश, राजनीतिक नेतृत्व र शासन सत्ता सञ्चालन एवं प्रणालीप्रति अनदेखा वा बेमतलबी बन्दै छन् । समाजलाई अग्रगति दिने र दिशानिर्देश गर्ने भनेको राजनीतिक नेतृत्व, सरकार तथा नागरिक समाजका अगुवा आदिले हो । घरपरिवार, स्कूल–कलेज मानिसको पहिलो पाठशाला हुन् । त्यहीँबाट मानिसले नैतिकता, असल आचरण र संस्कार सिक्छ । तर विडम्बना, त्यही आधारभूत इकाइलाई भ्रष्ट र प्रदूषित बनाइएको छ । नेता आफैँ भ्रष्ट, अनैतिक, मूल्यहीन, अविश्वासी र पतीत भइदिए भने त्यसको दुष्प्रभाव समाजमा पर्ने हुन्छ । नव पार्टी खोल्दै आफूलाई नेता र देश निर्माण भन्ने गफाडीले प्रणाली बदनाम बनाएका हुन् । राजनीतिमा मूल्य र नैतिकताको संस्कृति ध्वस्त हुँदा त्यसको कुप्रभावले समाजमा अराजकता फैलिँदै छ ।

ठग र भ्रष्टका कारण नकारात्मकता यति वृद्धि हुँदै छ कि मानिसहरू ‘सबै चोर हुन्’, ‘राज्य प्रणालीमा रहेकाहरू पूरै अपराधी र ठग हुन्’ भन्ने भाष्य, सोच तथा ‘आम आवाज’ बन्दै छ, बनाइँदै छ । उद्देश्यहीन, दिशाहीन, लक्ष्यहीन र दृष्टिकोणविहीन नकारात्मक आक्रोश वा आगोले सबैको नाशबाहेक केही गर्दैन । अतिवाद र नकारात्मकता जहिल्यै घातक हुन्छ । अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र व्यवहार, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिमा प्रवेश गर्दाका अभिव्यक्ति, युक्रेनी राष्ट्रपति जेलेन्स्कीका उग्रराष्ट्रवादी अभिव्यक्ति आदिले उनीहरूलाई मात्र सकेन, तिनका पार्टी र मुलुकमा समेत भाँजो पार्‍यो ।

सार्वजनिक सञ्चार माध्यम लोकतन्त्रमा अत्यावश्यक क्षेत्र हुन् तर सस्तो, छिटो र बढी प्रचार गर्दै धेरै कमाउने सोचका कारण नेपालमा पनि सिरोहिया प्रवृत्तिले बढावा पाएको छ । अर्काेतर्फ सामाजिक सञ्जालको दुरुपयोग बढेको छ । युट्युबरका झुटा र फट्याइँपूर्ण हर्कतले समाज भ्रमित मात्र बनेको छैन राज्यसत्ता, नेता, सरकार, प्रणाली जता पनि जसले जस्तोसुकै अराजक, गैरकानुनी आक्षेप लगाउन पाउने जस्तो वातावरण निर्माण गरिँदै छ । आफूबाहेक सबैलाई ‘चोर’ र ‘निकम्मा’ भन्ने प्रवृत्ति रवि लामिछाने जस्ताले नै बढाएका हुन् । यसबीच आफू पानीमाथिको ओभानो भएर ‘सच्चा र चोखो’ देखाउँदै ‘ठूलो बन्ने’ प्रवृत्ति बढ्यो । ठग र अपराधी नै राजनीतिक नेतृत्व गर्ने र तिनै व्यक्ति ‘नेता’ बन्न पुग्दा मुलुकको लोकतान्त्रिक प्रणाली जनताको होइन यिनै ठगको व्यवस्था जस्तो पो भइदियो । ठग र अपराधी आफैँ अरुलाई अराजक, अशिष्ट र गैरकानुनी आक्षेप लगाउने प्रवृत्ति बढ्दै गएकाले गणतन्त्र चोरको व्यवस्था जस्तो बनाइयो । सञ्चार माध्यमको नाममा, दल, सत्ता र शक्तिको नाममा ठग, अपराधी र राजश्वमारालाई नै सलाम गर्दै जानुपर्ने हो भने गणतन्त्रको औचित्यमाथि नै प्रश्नचिह्न उठ्न पुग्छ । ठूला स्वर गर्ने अपराधीलाई सबैतिरबाट बहिष्कार गर्नु र कानुनअनुसार सजायँ गर्नु आजको आवश्यकता र चुनौती भएको छ ।

टिप्पणीहरू