आरोप लाएर हामीलाई हताेत्साहीमा पुर्याउने ?

आरोप लाएर हामीलाई हताेत्साहीमा पुर्याउने ?
सुन्नुहोस्

-चक्रबहादुर बुढा,महानिर्देशक राजश्व अनुसन्धान विभाग 

राजश्व अनुसन्धान विभागको काम कारवाहीबारे सार्वजनिक आलोचनाको विषय नयाँ होइन । तर,विभागमाथि लागेको हालैको एउटा गम्भीर आरोपबारे यतिबेला सर्वत्र चर्चा भैरहेको छ । गत साता एक जना सांसदले संसदबाटै बिचौलिया भनिएका एक व्यक्तिले राजश्व अनुसन्धानमा प्रभाव जमाएको र त्यहाँको नेतृत्वले साथ दिएको आशययुक्त अभिव्यक्ति दिएका थिए । त्यसैमा आधारित रहेर सञ्चार माध्यमहरुले भटाभट समाचार लेखे । तर, विभागका नवनियुक्त महानिर्देशक चक्रबहादुर बूढाले भने उक्त आरोपको खण्डन गर्दै सत्यतथ्य नबुझी समाचार लेखिएका कारण आफ्नो प्रतिष्ठामा ठेस लागेको गुनासो गरेका छन् । विगतमा भन्सार विभागदेखि अन्य सरकारी निकायमा जिम्मेवारी सम्हालिसकेका उनलाई भद्र प्रशासकका रुपमा चिनिन्छ ।

महानिर्देशक बुढासँग सम्बन्धित विषयमा राजकुमार रायले गरेको कुराकानी :     

तपाईंलाई एकजना बिचौलियासंग जोडेर संसदमै आवाज उठ्यो,यसबारे बताइदिनुस् न !

- सार्वभौम संसद, माननीयज्यू र मिडियाप्रति मेरो सम्मान छ । सबैले आ-आफ्नो जिम्मेवारी निभाउने हो । तर,पनि मिडियामा जुन किसिमले मलाई कुनै अमूक व्यक्तिसँग जोडेर समाचार आएको छ, कम्तिमा सोधेको भए हुन्थ्यो । म आफ्नो क्ल्यारिफिकेसन दिन्थेँ । त्यहीअनुसार विषय बाहिर आउँथ्यो भन्ने लाग्छ । त्यो मिडियामा आएको कुरा मैले पनि हेरें,महानिर्देशकको मोबाइलबाट बाहिरको मान्छेलाई फोन गएको छ भन्ने आरोप छ । तर, त्यो मेरो नम्बर हुँदै होइन । 

तर त्यो व्यक्ति तपाईंको नातेदार भनेर आयो नि त ?

- त्यो व्यक्ति मेरो नाता पर्ने मान्छे होइन । एउटा कुरा के हो भने,यो राजस्व अनुसन्धान विभाग धेरै सरोकारवाला व्यक्ति र निकायका मान्छेहरु सम्पर्कमा आउने ठाउँ हो । व्यापारी,उध्योगी, सन्चारकर्मी,नागरिक समाजका व्यक्तित्व, कानुनकर्मी, राजनीतिककर्मी या सर्वसाधारण पनि विभागको कार्यालयमा आउने-जाने चलिरहेको हुन्छ । सबैलाई एक्सेस दिएका छौं,सबैका कुरा सुन्ने र संवाद छलफल गर्न हामी सँधै खुलै छौं । तर, को मान्छे कस्तो छ भन्ने बुझिसकेपछि हामी त्यस्ता व्यक्तिलाई पहुँच दिने या नदिने,सहयोग लिने या नलिने भन्नेमा सचेत छौँ । त्यसैले कुनै अमूक व्यक्तिसँग जोडेर मेरोबारे लेख्नुपर्दा कम्तिमा मलाई स्पष्ट पार्ने मौका दिएको भए हुन्थ्यो जस्तो लाग्छ । 

त्यसोभए तपाईंको मोबाइलबाट बिचौलिया भनिएका उपेन्द्र शाहीले व्यापारीहरुलाई फोन गरेर पैसा मागेको भन्ने समाचार सत्य होइन ?

-त्यो पुरापुर गलत हो । उनी यसभन्दा अघिका महानिर्देशकलाई पनि सूचना दिने भनी आउने गरेका रहेछन्,त्यही आधारमा मलाई पनि भेट्न आएका थिए । तर,उनीसँग मेरो न कुनै नाता-सम्बन्ध छ,न मेरो नम्बरबाट उनले फोन गर्न सक्छन् । त्यसैले यस्ता बेक्कारका नाता-साइनो जोडेर मलाई बद्नाम गराउन खोजिएको हो भन्ने कुरा  स्पष्ट पार्न चाहन्छु ।

तपाईं यति ढुक्क हुनुहुन्छ भने के उद्धेश्य र प्रयोजनका साथ यो हल्ला बाहिर आएको हुनसक्छ ?

-मैले पनि कुरा बुझ्न पाएको छैन । तर,राजश्व अनुसन्धान विभाग अवैध आर्थिक क्रियाकलाप र अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न अनुसन्धान गर्ने अख्तियारी प्राप्त राज्यको निकाय हो । यस्ता विषयमा हामीसँग सूचना संकलन गर्ने आफ्नै इन्टेलिजेन्स छैन । यसकारण बाहिरी व्यक्तिले दिने सूचनामा भर पर्नुपर्ने बाध्यता छ । जस्तो,राजस्व चुहावट,कर अपचलनजस्ता विषय जो कोहीले हामीलाई प्रत्यक्ष या इमेलमार्फत पनि जानकारी दिन सक्छ । विभागमै आएर निवेदन दिन या फोनबाट पनि जानकारी टिपाउन सकिन्छ । 

त्यस्ता सूचना प्राप्त भएपश्चात विभागले अध्ययन/छलफल गरेर आवश्यकताअनुसार कानुनको अधिनमा रही अनुसन्धान गर्ने या नगर्ने भनेर निर्क्यौल गर्छ । हचुवामा गर्दैनौँ । यो प्रक्रियामा आम सर्वसाधारणदेखि सरोकारवालासम्म सबैसँग जोडिएर काम गर्नुपर्ने अवस्था छ । त्यसक्रममा विविध खालका मान्छेसँग प्रत्यक्ष-परोक्ष सम्बन्ध हुने नै भयो । यस्ता सम्बन्धबाहेक अरु सम्बन्ध राख्ने कुरै हुँदैन ।

राजश्व अनुसन्धान विभागले व्यापारीलाई अनुसन्धानका नाममा तर्साउने गरेको भन्ने आरोप पनि लाग्ने गरेको छ,यसबारे चैँ के भन्नुहुन्छ ?
 
-ऐनले दिएको अधिकार प्रयोग गर्दा कहिलेकाहीं  सम्बन्धित व्यक्तिलाई त्रसित बनाउन खोजियो रे ! व्यक्ति त्रसित भए रे ! विधि र प्रक्रिया पुर्याएर बयानमा बोलाउँदा त्रसित बनाइयो भन्नु सरासर गलत आरोप हो । बयान लिने त हाम्रो कामै हो नि !, गल्ति गरेको देखिएन भने सफाई पाइहाल्छ,न बिचौलिया लगाउनुपर्छ न भनसुन गराउनुपर्छ । तर,गलत गरेको छ भने त कानुनबमोजिम कारवाही हुन्छ,भनसुन गराएर पनि मुक्ति पाउँदैन । तथापि,काम गर्दै जाने क्रममा कहिलेकाहीं  सामान्य त्रुटी हुन सक्छन् । त्यसलाई सच्याउन हामीलाई प्रोत्साहित गर्नुपर्नेमा झन ठूलो बनाएर अनेक आरोप लगाउने र विभागलाई हतोत्साही बनाइनु दु:खद कुरा हो । त्यस हिसाबले फ़ैलाइने भ्रम र त्यसले पार्ने असरप्रति विभाग सजग र सचेत रहँदै आएको छ । 

यस्ता समाचारले विभाग र यहाँ कार्यरत कर्मचारीमा कस्तो प्रभाव पार्छ ?

-हामी ऐन कानुनअनुसार नै अघि बढ्छौँ । विभागलाई विचलित पार्ने,कर्मचारीको मनोबल घटाउने,विभागको नेतृत्वलाई बद्नाम गर्ने कसैको नियत हो भने त्यो सफल हुँदैन । कहीं कतैबाट यस्तो हुनु पनि हुँदैन । पुष्टि नहुने आरोपले कर्मचारीको प्रतिष्ठामा आँच आउँछ र उसको मनोबल पनि घट्छ । डिप्रेसनमा जाने अवस्था हुन्छ,त्यसैले आरोप लगाउनुअघि बिचार पुर्याउन र सही सत्य बुझिदिन आग्रह गर्दछु ।

टिप्पणीहरू