देउवा ओली भारण्ड भए; तर बीष नखाउन् !

देउवा ओली भारण्ड भए; तर बीष नखाउन् !

नेपाली राजनीतिमा अन्तत: भारंड पक्षीको जन्म भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अद्द्यक्ष केपी शर्मा ओलीको देखाउने दल अलग हो। स्वार्थ मिलेको छ। यो अहिले देखि होईन। तर यी दुवैको पृष्ठभूमि फरक छ। देउवा जीवनमा सत्र पटक जेल परेका छन्। नेपाली कांग्रेसका जुझारु कार्यकर्ता यादवनाथ आलोक मारिएको सुरजपुरा काण्डमा उनको झन्डै ज्यान गएको थियो। त्यो बेला दिवंगत शैलजा आचार्यले मण्डले आक्रमणका बीच शेरबहादुरको टाउको आफ्नो काखमा राखेर पच्छ्यौरीले ओठबाट बगेको रगत रोकेर उनको ज्यान बचाएकी थिईन् । 

केपी शर्मा ओली ढिंडो खाने लिम्बुवानबाट लखेटिएर रामनाथ ढकालको भात खान झापा आईपुगेका एक नीरिह बालक थिए। सिलिगुडीका चारु मजुमदारको नक्सलवादी आन्दोलन मेची नदि तरेर भर्खरै झापा आउंदै थियो। रामनाथ ढकाल हुनेखाने तर क्रान्तिकारी रोमाञ्चले भरिएका एक बामपन्थी थिए। उनैको शिक्षा दिक्षामा ओली कम्युनिष्ट बने। धर्मनाथ ढकाल लगायतका शरीर गिंड्ने अभियानमा सहभागी भए। पुलीसले खोज्न थालेपछि मोहनचन्द्र अधिकारीको पछि लागेर अहिलेका कानूनका गुरुदेव कृष्णप्रसाद भण्डारीको पैतृक घर रौतहटमा "सेल्टर" लिए। अधिकारी उमेरले पाका, लुकेर बस्थे। चंचल ओली बजार घुम्न गएको बेला पक्राउ परे। पक्राउ मात्र परेनन्, दुई थप्पड खाएपछि मोहनचन्द्र अधिकारी लुकेको भण्डारीको घर पनि देखाईदिए । 

यता शेरबहादुर देउवा जेल जाँदै आउंदै नेपाली कांग्रेसको पूर्णकालीन राजनीतिमा स्नातक दर्जा लिंदैथिए। उनि दिउँसो कांग्रेसी खलकमा पलेंटी कसेर कुरा सुन्थे। बेलुकी मैतीदेवीको हरियो पर्दा हालेको एउटा भट्टीमा उधारो ठर्रा तान्थे। कुखुराको पन्जा र टाउको मिसाएर भुटेको तत्कालीन 'स्न्याक' उनको प्रीय परिकार थियो। मैतीदेवी चोकबाट घट्टेकुलो जाने बाटोमा उनको डेरा थियो। डेरा मुनि भट्टी। भट्टीवाल्नी कहिलेकाहीं बेलामा पैसा नतिर्दा देउवालाई अगुल्टाले हानुंला जस्तै गर्थिन्। तर देउवा कताकताबाट पैसा ल्याएर तिर्थे। देउवा र भट्टीवाल्नीको सम्बन्ध राम्रो थियो । 

यता केपी ओली गोलघरमा थिए। राधाकृष्ण मैनालीहरु बिंडी तान्थे। ओलीलाई याक चुरोट नभई नहुने। दाल भातमा घ्यू हाल्नैपर्ने। हरियो तरकारी भन्दा मासुमा जोड। जेल प्रशासनले कहिलेकाहीं चाहाड बहाडमा राँगाको मासु दिन्थ्यो। ओलीको मनोदशा देखेर गोलघरका कैदीहरु आफ्नो भागको दुई चार टुक्रा उनकै आल्मिनियमको कुच्चिएको थालमा थपिदिन्थे । 

नेपालमा बहुदलीय व्यवस्थाका लागि शुरु भएको ०४६ को आन्दोलन भन्दा दुई बर्ष अघि केपी ओली जेलमुक्त भए। राधाकृष्ण मैनाली छुटिसकेका थिए। ओलीलाई साँझको रमझम गराउने जिम्मा पनि मैनालीकै थाप्लोमा पर्यो। त्यो बेला पाटन तिर चहलपहल गर्नेहरुले यो देखेका छन्। मैनालीले त जेलमा हुँदा ओलीको पृष्ठ भाग धोईदिने देखि तेल मालिस सम्म गरेको कुरा आफ्नो किताबमै लेखेका छन् । 

यसैबेला हो, शेरबहादुर देउवा परशुनारायण चौधरीको पदचिन्ह पछ्याउंदै पंचायत प्रवेश गर्न लागेको हल्ला चल्यो। हल्ला हावादारी थिएन। देउवा भन्दा बरिष्ठ नेपाली कांग्रेसका नेता बिपीन कोईराला पंचायत छिरिसकेका थिए। उनीसंग देउवालाई मात्नेगरी जांड आपूर्ति गर्ने क्षमता थियो। देउवा पनि "राजाले मरिगए प्रजातन्त्र दिंदैन" भन्ने मनस्थितिमा पुगिसकेका थिए। आधा पत्रकार, आधा नेपाली कांग्रेसका कार्यकर्ता रेवतीरमण सुवेदीको कानमामा यो हल्ला पुग्यो। उनले दौडिएर नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई यो कुरा सुनाए। कृष्णप्रसाद भट्टराई सत्तामा थिएनन्, तर बिदेशी दुतावासका अधिकारीहरु उनको कुरा सुन्थे। भट्टराईले बेलायती दूतसँग कुरा गरेर देउवालाई "लन्डन स्कूल अफ ईकोनोमिक्स" मा पढ्ने छात्रवृत्ति दिलाए। संकट टारे । 

ओली जेलबाट छुटेपछि के गरे भन्ने कुरा पनि रोचक छ। चुरोट खाने पैसा थिएन। खैनी खान थाले। कसैले दिएको पाईन्टको कम्मर खुकुलो थियो। लगाउने जुत्ता थिएन। तर उनलाई पुँजीवादीहरुको रहन सहन कस्तो हुन्छ भन्ने हेर्ने उत्कण्ठा थियो। उनले माले भित्रका तत्कालीन बिचारवेत्ता टंक कार्कीलाई अनुरोध गरे- "मलाई एकपटक गिरिजाप्रसाद कोईरालाको घर लगिदिनुस न !"  गिरिजाप्रसाद कोईरालाको आवास त्यो बेला जयबागेश्वरी स्थित तारिणीप्रसाद कोईरालाको घर थियो। बीपी कोईरालाको अवसान पनि त्यही घरमा भएको थियो। त्यस भेटका एक साक्षी नेपाली कांग्रेसका एक पुराना कार्यकर्ताले यो लेखकलाई सुनाए अनुसार, "ओलीको मन गिरिजाबाबु संग वार्तालाप गर्ने थिएन। गिरिजाबाबुले पनि ओलीलाई खासै महत्व दिनुभएन। ओलीको ध्यान गिरिजाले कस्तो लुगा लगाएका छन्, वरिपरी कोठाभरी कस्तो सामान सजिएको छ भन्ने हेर्न तिर बढी थियो। " पुंजीवादसंग ओलीको पहिलो साक्षात्कार गिरिजाप्रसाद कोईराला बसेको जयबागेश्वरीको त्यही घर थियो । 

राष्ट्रियता प्रजातन्त्र समाजवादको आदर्श बोकेको नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा लण्डनमा मोज गर्दैथिए। कृष्णप्रसाद भट्टराईले मिलाइदिएको छात्रवृत्ति पनि गजबको थियो। देउवाले जांच दिएर पास गर्नुपर्ने थिएन। क्लास गएपनि हुने, नगए केही छैन। नेपाली कांग्रेसका भावी नेता देउवा त्यो बेला करिश्मा केसीका ससुरा, बिनोदका बुवा ईश्वरी मानन्धरको रेष्टुरेंटमा सुत्न थाले। खल्तीमा पैसा थिएन। त्यसको जोहो पनि कृष्णप्रसाद भट्टराईले नै गरिदिनुपर्यो। उनले त्यतिबेला बीबीसी नेपाली सेवामा कार्यरत मणि राणालाई भनेर त्यहाँ काम लगाईदिए। देउवा काम गर्दैनथे। उनलाई के गर्ने भन्ने नै थाहा थिएन। तर मणि राणाले ढाकछोप गरिदिए । 

०४६ सालको आन्दोलनले नेपालमा बहुदलीय व्यवस्था स्थापित गर्यो। मणि राणाले देउवालाई सोधे, "अब नेपाल जाने होईन?" देउवाको जवाफ थियो, "मलाई प्रधानमन्त्री बनाउने भए जान्छु, नत्र जान्न। " त्यो बेला नेपाली कांग्रेसकै युवा नेता मनमोहन भट्टराई पनि नेपाली प्रजातान्त्रिक आन्दोलनको पक्षमा माहौल बनाउन लन्डनमै थिए। उनले पनि देउवालाई सोधेका थिए, "अब जाने होईन नेपाल?" देउवाको उत्तर थियो, "तँ जाने भए जा, म जान्न। राजाले त्यसै दिन्छ प्रजातन्त्र ? मार्छ हामीलाई ।"

 संविधान संशोधन: पाण्डोराको बाकस  

नेपालमा गणतान्त्रिक संविधान जारी भएको नौ बर्ष पछि बल्ल संविधानमा पहिलो "त्रुटी" देखा परेको छ। यसलाई सच्याउने जिम्मेवारी गजबको रंगीन पृष्ठभूमीका शेरबहादुर देउवा र केपी ओलीको हातमा परेको छ। शेरबहादुर देउवा र केपी ओलीको घाँटी २८ बर्ष अघि भारतसंग महाकाली सन्धी गर्दा नै जोडिएको हो। यो बीचमा केही भएन। भयो भने एउटा नेपाली नागरिक महाकाली नदि तर्न खोज्दा तुईन चुँडिएर (वा चुँडाईएर )  मर्यो । 

संविधान संशोधन मुलुकको आवश्यकता हो अथवा देउवा र ओलीको? ०७२ सालको संविधानमा जनताको अभिमत प्रकट भएको थियो कि थिएन? भारतको थिएन। यसमा संशय छैन। के नेपालको अस्थीरताको कारण वर्तमान संविधानमा उल्लिखित संवैधानिक प्रावधान नै हुन्? पहिलो संविधान सभा किन भंग भयो? दोश्रो पटक संविधान बनाउँदा पश्चिमाहरु किन हावी भए? किन फास्ट ट्रयाकमा, संसदीय व्हीप लगाएर, हात उठाएको भरमा, कुनै बिचार विमर्श र छलफल नगरि संविधानको मस्यौदा पारित भयो? किन नेपाली कांग्रेसका दिवंगत नेता प्रदिप गिरीले मतदान बहिष्कार गरे? किन नेपाली कांग्रेसले गिरीलाई कारवाही गर्ने नैतिक साहस देखाएन? यस्ता प्रश्न धेरै छन्। तर यी प्रश्नको उत्तर दिने साहस देउवा र ओलीमा छैन । 

नेपालको वर्तमान संविधान चार कक्षा फेल बिद्द्यार्थीले गरेको गुणा र भागको हिसाब किताब जस्तो छ। तर देउवा र ओली यसलाई सच्याउन सक्षम पात्र हुन सक्दैनन्। यी दुवै मुलुकको दीर्घकालीन हित भन्दा तत्काल प्राप्त हुने लाभबाट परिचालित संकुचित मानसिकताले ग्रस्त हुँडार हुन्। हुँडारको चरित्र नै आफू शिकार नगर्ने, अर्काको लुछेर खाने हो। देउवा र ओलीले आजसम्म गरिआएको कर्मको लेखाजोखा पनि यस्तै हो। पुष्पकमल दाहालको दुवा तिर्की दाउले गणतन्त्रमा प्रवेश गरेदेखिनै मुलुकलाई बन्धक बनाएको हो। भारतको सातू नबुक्याई प्रचण्डको जनयुद्द गर्ने सामर्थ्य थिएन। देउवा र ओलीले यो कुरा नबुझेका थिएनन्। तर ०४६ सालको ऐतिहासिक आन्दोलनका सहकर्मीहरु कसरी प्रचण्डको नाडी छाम्न असफल रहे? ओली त त्यो बेला आफ्नै पार्टी भित्र माधवकुमार नेपालले पेलेर छटपटिएका थिए। तैपनि उनले माओवादी संग सामिप्य राख्ने चेष्टा गरेनन् । 

माओवादी र सरकार बीच पहिलो वार्ता हुनु अघि प्रचण्डले शेर बहादुर देउवालाई "हिलोमा फुलेको कमल" भन्दै पहिलो दुवातिर्की फालेको सम्झना कतिलाई होला? शेरबहादुरले  तत्काल प्रचण्डलाई उपमा दिए -"बहादुर नेता!" बहादुर नेताले अचानक वार्ता भंग गरेर दांग, सोलु र सल्यानमा आर्मी ब्यारेक हान्यो। त्यतिबेला हिलोमा फुलेको कमलको हविगत के भयो, नेपाली कांग्रेसको बैठकबाट निस्किंदा नेताहरुको अनुहारबाटै प्रकट हुन्थ्यो। प्रचण्डले पांच हजार मृत्युको जिम्मा लिन्छु भन्नुको पनि अर्थ छ। उनलाई थाहा छ, जनयुद्दमा मारिएका बाँकी मान्छे शेरबहादुर र पूर्व राजा ज्ञानेन्द्रले मिलेर मारेका हुन् । 

शेरबहादुर देउवा र ओलीले चाहे अनुसारको संविधान संशोधन मुलुकको हितमा छैन। यदि वर्तमान संविधान द्वारा निर्दिष्ट चुनाव प्रणालीकै कारण मुलुकमा अस्थीरता व्याप्त भएको हो भने स्थीरता के हो? कहाँ छ अस्थीरता ? यो पार्टी वा त्यो पार्टी मिलेर सरकार चलेको छ। पुलीस प्रशासन आफ्नो ठाउँमा छ। कर उठाउनेले उठाएकै छन्। जुनसुकै व्यक्ति प्रधानमन्त्री होस्, जुनसुकै पार्टीको सरकार होस्, आम जनजीवनमा के फरक परेको छ? जनता जन्म देखि मृत्यु कर तिर्न बाध्य छन्। दुई मुठा रायोको साग हाटमा बेच्दा पालिकालाई कर तिर्नुपर्छ। आफ्नै जिल्लाको एउटा गाउँबाट अर्को जाने पुल तर्दा पैसा तिर्नुपर्छ। कुखुरा खसीको छुट्टै ! 

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ अहिले चर्चामा छन्। दुई ठूला दलले उनलाई लगाईदिएको टीका हो यो। तर कल्याण श्रेष्ठको पृष्ठभूमि हेरौं न। खीलराज रेग्मीलाई बिदेशी शक्तिले सरकार प्रमुख बनाउँदा नेपालका सबै राजनीतिक शक्ति त्वं शरण भए। कल्याण श्रेस्ठको बोल्ने पालो थियो। शक्ति पृथकीकरणको सिद्दान्तमाथि ठाडो बलात्कार हुँदा श्रेस्ठ मौन रहे। उनले पूर्व प्रधानन्यायाधीशहरु पनि राष्ट्रपतिको लाईनमा लाग्न पाउनुपर्छ भन्ने विचारको गोटी राजनीतिक पासामा फ्यालेको पनि देखिएकै हो । 

के कल्याण श्रेष्ठसंग कांग्रेस एमालेको अजेण्डा पुर्ती गरेर अन्य गुनासा पन्छ्याउने सामर्थ्य छ? संविधान सुधार सुझाव आयोगले मधेशी मुद्दालाई कसरी हेर्नेछ? जनजाति? सिमान्तिकृत? दलित? के संविधान राज्यको बागडोर कुन अधिनायकको हातमा पर्ने वा नपर्ने निर्क्यौल गर्ने एक दस्तावेज हो वा समाजको रुपान्तरण गर्ने एक गतिशील गन्तव्यको नक्सा ? 

जसले बिगार्छ, उसैले बनाउँछ 

यावत लोभ पाप छल र द्वेष आफ्नो ठाउँमा। मुलुकलाई प्रजातान्त्रिक र सम्मृद्द दिशामा डोर्याउन नेपाली कांग्रेस र पंचायत बिरोधी बामपन्थीको बिकल्प छैन। तत्कालीन माले र मनमोहन अधिकारी संग जोडिएर बनेको एमालेको प्रजातान्त्रिक यात्रामा शंका गर्ने ठाउँ छन्। "जनमत संग्रह धोका हो" भन्दै ०३७ सालमा नेपाली कांग्रेसलाई गाउँ छिर्न रोक्ने मालेका कार्यकर्ता नै हुन्। त्यसपछि खुला भएको बिद्द्यार्थी युनियनको चुनावमा कांग्रेस पार्टी समर्थित नेपाल बिद्द्यार्थी संघका उम्मेदवारहरुलाई मण्डलेसंग मिलेर काट्न जाने पनि अनेरास्ववियूकै कार्यकर्ता हुन्। ०४६ सालमा भारतका कम्युनिष्ट नेताहरुले माले लगायत अन्य कम्युनिष्ट पार्टीहरुलाई नहप्काएको भए सहाना प्रधान, राधाकृष्ण मैनाली, गणेशमान सिंह आदि मिलेर बृहद बाम प्रजातान्त्रिक रुपरेखा तयार नै हुनेथिएन। यो पंक्तिकारलाई त्यो बेला नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीको हैसियतमा गिरिजाप्रसाद कोईरालाले भनेको शब्द अझै याद छ -"हरकिशन सुरजित नभएका भए कम्युनिष्टहरु हामीसंग मिल्दैनथिए। रोमानियाको चाउचेस्कुको हालत देखेर उनीहरुको बुद्दी फर्किनुपर्ने हो। कम्युनिष्टबाट हामीले धेरै धोका खाएका छौं ।" 

०३६ सालमा यो लेखक पांच वा छ कक्षाको बिद्ध्यार्थी थियो। आन्दोलनको रुप के हो, पहिलो साक्षात्कार थियो। स्कूलको पोशाकमा झोलाको किताब अन्तै थन्क्याएर, पंचायती व्यवस्था बिरोधी पर्चा कोचेर कलेज कलेज पुर्याउंदाको रोमान्च अझै छालामा दौडिन्छ। खाकी लगाउने पुलीस हामी साना बिद्ध्यार्थीलाई वास्ता गर्दैनथ्यो। हामी पर्चा आदान प्रदान गर्थ्यौं। परेको बेला गल्ली गल्छ्यौंडाबाट ढुङ्गा पनि हान्थ्यौं। ०४६ सालमा कांग्रेस कम्युनिष्ट नभनी दुवै पार्टीका नेताहरुलाई सेल्टरमा लुकाउने र निकाल्ने काम गरियो। अब पंचायत ढल्छ र नयाँ युगको शुरुवात हुन्छ भन्ने एउटा आशा थियो। त्यो तुहियो। तुहिएको तुहिएकै छ । 

कांग्रेस कम्युनिष्ट फेरी मिलेको जस्तो गर्दैछन्। तर शेरबहादुर देउवा र केपी ओली बिश्वास गर्न लायक पात्र होईनन्। ओलीलाई भारतले पत्याउंदैन। शेरबहादुर कसैले नपत्याउने अवस्थामा पुगिसके। मान्छेलाई अन्तिम स्वास फेरुन्जेल सुध्रिने मौका हुन्छ। भूराजनीतिक चुनौति आफ्ना ठाउँमा होलान्। नेपाली एक भएपछि बिदेशीको शक्ति कमजोर हुन्छ। उनीहरु धम्क्याउन होईन, फकाउन आउनेछन् । 

मान्छे बढी बाँचे सत्तरी बर्ष बाँच्छ। जम्मा २५ हजार ५ सय ५० दिन। सय बर्ष बाँचे पनि जम्मा ३६ हजार ५ सय दिन। आधा जीवन सुत्नु, खानु र खाएको फाल्नुमा व्यतित हुन्छ। बाँकी जीवन के गर्ने? के गर्यौं? शेरबहादुर र ओलीले यसबारेमा सोच्नु जरुरी छ । 

ईतिहासमा कलंक हुने काम छैन। तिमीहरुसंग समय कम छ । 


 

टिप्पणीहरू