दलित र थप महिलाले पाएनन् सरकारमा ठाउँ

दलित र थप महिलाले पाएनन् सरकारमा ठाउँ
सुन्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको आज गठित नयाँ सरकारमा महिला र दलितको प्रतिनिधित्व खुम्चिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको यसअघिको सरकारको तुलनामा उक्त समूहमध्ये दलितको संख्या शून्य छ ।

यसअघिको मन्त्रिमण्डलमा महिला चार जना थिए । एमालेबाट भगवती चौधरी र ज्वालाकुमारी साह क्रमशः महिला तथा बालबालिका र कृषिमन्त्री थिए हुँदा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री र रास्वपाकी सुमना श्रेष्ठ शिक्षा मन्त्री रहे । आज गठित क्याबिनेटमा चाहिँ डा. आरजू राणा र विद्या भट्टराई दुई जना मात्रै अटाएका छन् ।

हिजो प्रधानमन्त्रीमा नियुक्त ओलीले आज २२ सदस्यीय क्याबिनेट गठन गर्नुभएको छ । जसमा आरजूलाई परराष्ट्र र विद्यालाई शिक्षा दिइएको छ । 

त्यस्तै,कुल जनसंख्याको १३ प्रतिशत ओगटेको दलित समुदायको मन्त्रिपरिषदमा प्रतिनिधित्व छैन । यसअघि एमालेबाट छविलाल विश्वकर्मा र काँग्रेसबाट जीवन परियारको नाम चर्चामा थियो तर घोषणामा दुबैको नाम परेन ।

यसअघि गत शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै गर्दा निवर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेलाई यसतर्फ लक्षित प्रश्न गर्नुभएको थियो । उहाँले समावेशी र समानुपातिक प्रणालीको निरन्तरताको कुरो उठाए पनि नयाँ सरकारमा महिला र दलितको प्रतिनिधित्वमा देखिएको अनुदारताबारे प्रश्न उठ्नु स्वाभाविक हो ।
 

टिप्पणीहरू