सिमलताल क्षेत्रको अवलोकनमा कार्यदल

सिमलताल क्षेत्रको अवलोकनमा कार्यदल
सुन्नुहोस्

चितवनको सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशुलीमा बगेर दुईवटा बस र यात्रु बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गृह मन्त्रालयद्धारा गठित कार्यदलले काम शुरु गरेको छ । कार्यदलका संयोजक सहसचिव छबिलाल रिजालको नेतृत्वमा आज घटनास्थलको अवलोकन गरी काम शुरु गरिएको हो । 

कार्यदलमा नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरी बलका एसएसपी शंकर खनाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सन्ध्या सिग्देल, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिको रुपमा प्रकाश भण्डारी रहेका छन् ।

 

कार्यदलले घटनास्थलको अवलोकनसहित प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्दार टोली, स्थानीय प्रशासनसँग छलफल तथा अन्तक्रिया समेत गरेको छ । गत शुक्रबार चितवनको नारायणघाट–मुग्लिङ्ग सडकखण्डअन्तर्गत भरतपुरको सिमलतालमा पहिरोसहितको लेदो खस्दा त्रिशुलीमा दुईटा बस र पाँच दर्जन बढी यात्रु बेपत्ता भएका थिए । 

तीन जनाले भने पौडिएर ज्यान जोगाएका थिए । बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेको छ । अन्यको अवस्था अज्ञात छ । यता, नवनियुक्त गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रम सिमलताल घटनाबारे अध्ययन गरी प्रतिवेदन तयार पार्न मन्त्रालयका सहसचिव छबि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलको म्याद १० दिनको छ ।

टिप्पणीहरू