आफ्नै खुट्टामा अन्तिम पटक उभिएको त्यो कालो दिन

आफ्नै खुट्टामा अन्तिम पटक उभिएको त्यो कालो दिन
सुन्नुहोस्

भुइँमान्छे कुनै दिन बुझ्ने भएको थिएन्, त्यो बेला धेरै अज्ञानी थिए । बुबा आमाको नजरमा होस् या साथीको अपरिपक्व पात्रको रुपमा परिवार र समाजमा विस्तारै आफ्नो राज गर्दै थिए । 

थोरै खेतीपाती थियो । अर्काको घर बनाएर बुवाले घरखर्च चलाउनुहुन्थ्यो । मलाई कुनै चिन्ता थिएन । किनकी आमाको फाटेको चोलीको खल्ती र बुवाको पुरानो कोटको खल्ती छामछुम गर्दा पकेट खर्च जुटिहाल्थ्यो । 

तर, हाम्रो जीवनमा एकाएक कालो बादल मडारियो । बुवालाई क्यान्सरको पुुष्टि भयो । उपचार अभावमा बुवा सदाका लागि हामीलाई छाडेर जानुभयो । हामीमाथि चट्याङ खसेझैं हाम्रो सानो परिवारको खुशी सदाको निम्ति उजाडियो । 

आमाको अनुहारमा मुस्कान देख्न छाडियो । घरको जेठो छोरा भएकाले सबै जिम्मेवारी मेरो काँधमा आयो । बुवाको अन्तिम संस्कार गर्दा लागेको ऋण मेरो थाप्लोमा थियो । निजी क्षेत्रका आधा दर्जन कम्पनीमा मैले काम गरेँ । 

तर, सामान्य खर्च धान्न नै धौधौ पर्थ्यो । ऋणको ब्याजले थिचिरहेको थियो । सोही कारण रातमा निद्रा लाग्न छोड्यो । म पानीबिनाको माछाजस्तै छट्पटाउन थाले । निदाएको बेलामा मैले जन्मस्थान छाड्ने र अन्यत्र आफ्ना अनगिन्ती चाहना पूरा गर्ने सपना मात्र देख्थें । 

बुवाले भनेको कुरा जहिले झल्झली याद आउँथ्यो मलाई । सपना देख्न सजिलो छ तर त्यसलाई पूरा गर्न अनेकौं संघर्ष गर्नुपर्छ भनिरहनुहुन्थ्यो बुवा । मलाई विदेश गएर मिहेनत गर्नुथियो । 

केही कमाउनु थियो । आफ्नी आमाको फाटेको चोली, घरको चुहिने छानो फेर्नु थियो । भाइबहिनीलाई पढाउनु थियो । साहुको ऋण चुक्ता गर्नु थियो । त्यही सपना बोकेर म काठमाडौं आए । 

दुई दिनको यात्रापछि बल्लतल्ल काठमाडौं आइपुगेको मलाई गाउँभन्दा शहर केही खास लाग्यो । सबैको नम्र बोलीचाली अनि मिठो भाषा शैलीले मलाई प्रभावित बनायो । एउटा होटलमा बास बसेँ । गाउँघरमा नाम सुनेको एउटा म्यानपावरमा गएँ । 

त्यहाँ पुगेपछि मैले थाहा पाएकी मेरोजस्तो समस्या त लाखौंको रहेछ । म्यानपावरमा वैदेशिक रोजगारीमा जानेको लर्को थियो । मपनि लाइनमा लागेँ । सोधपुछपछि मलेसिया जाने टुंगोमा पुगे । अनि पासपोर्ट बनाउने योजनाका साथ अघि बढेँ । 

त्यहाँको भीड देखेर मलाई रिँगटा लाग्यो । राहदानी बनाउन हजारौंको संख्यामा लाइनमा उभिएका थिए । मेरो मनमा एउटा प्रश्न आयो र त्यहाँ उभिएका एक जनालाई सोधिहालें, ‘यहाँ सँधै यस्तै भीड हो कि आज मात्रै ?’

ती साथीले भने, ‘तीन दिन भयो म यहाँ आएको । भीड घटेको छ ।’ दुई दिन लगातार धाएपछि मैले पासपोर्ट पाएँ । त्यसको केही दिनपछि मलेसियाका लागि उडेँ । हवाई यात्रा मेरो निम्ति बिल्कुल नौलो थियो । कालो बादलमाथि निलो आकाश हेर्दै चार घण्टाको यात्रापछि म मलेसियाको राजधानी क्वालालम्पुर ओर्लिएँ । 

केही समय एअरपोर्टमा बिताउन मलाई साह्रै सकस पर्यो । रोजगारदाता कम्पनीको एजेण्टले रिसिभ गरेर कम्पनीमा लाग्यो । त्यहाँको भाषा मेरो लागि नयाँ थियो । मैले पनि विस्तारै तोते बोलीमा नयाँ भाषा बोल्न थालेँ । त्यसको भोलिपल्टदेखि काम शुरु भइहाल्यो । निकै तातो अनि रातो अनौठो मेसिनमा काम गर्न थालियो ।

त्यो चलाउँदै गर्दाको अनुभूति यस्तो छ : 

डरलाग्दो आगोको रापभित्र बास हुन्छ आमा
तातो घाम मुसलधारे पानी खास हुन्छ आमा

शरीर तातिएर पसिना तरक्कतरक्क चुहिदाँ  
चलिरहेको सास पनि जिउँदो लास हुन्छ आमा 

हतारहतार उमेर बढाएर परदेशमा जब भासिन्छ
तिम्रो सन्तान हरेक काम गर्न पास हुन्छ आमा 

वर्ष दिनमा एकचोटी घुम्दै आउने दसैं र तिहार 
त्योदिनमा पनि कामै कामको रास हुन्छ आमा 

यो शहर हो हेर्दा सबै इमानदार देखिए पनि 
यहाँ कोही न कोही असाध्यै बदमास हुन्छ आमा 

दिन अनि महिना हुँदै वर्ष बिताउन त्यति सहज थिएन्, त्यहाँ । तर, काँधमा थुप्रिएको जिम्मेवारीले दिनानुदिन थिच्दै थियो । त्यसैले जसोतसो दिनहरु बिताइरहेको थिए । घरबाट आउँदा लागेको झन्डै चार लाख ऋण घटाउन के शुरु गरेको थिए, आफ्नै खुट्टामा उभिने अन्तिम दिन मेरो नजिक आएको पत्तो पाइँन् । सदाझैँ त्यो दिनको खानपिन तयार गरेर काममा लागे । सधैं मनमा एउटै कुरा खेल्थो, साहुको ऋण कहिले चुक्ता गरेर आमाको नाममा दुई–चार हजार हालेर पठाउने । 

हजुरको खातामा पैसा हालेको छु भन्न नपाउँदै मेरो खुट्टा मेसिनमा पस्यो । त्योदिन मेरो लागि कालो साबित भयो । आफ्नो खुट्टामा उभिने अन्तिम दिन बन्यो मेरो । शरीर सबै रगतमा लतपतियो । जतिसुकै ठक्कर खाएपनि कहिले होश् नगुमाएको म त्योदिन चाँहि केही घण्टाका लागि बेहोस हुन पुगेछु । 

साथीहरुले मलाई अस्पताल पुर्याएछन् । बेलैमा अस्पताल नपुर्याएको भए त्योदिन मेरो जीवनको अन्तिम दिन हुन सक्थ्यो । अस्पताल पुगेपनि भाषाका कारण मैले धेरै समस्या झेल्नुपर्यो । होशमा आएपछि आफन्तहरुले फोन गरेर ज्यान जोगाउन सफल भएकोमा खुशी व्यक्त गरे ।

केही समय दुःख महशुस भयो । तर, मैले अन्यलाई पनि हेरें । दुवै खुट्टा गुमाएका हरिबहादुर बुढामगरले कृत्रिम खुट्टाको सहयोगमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएको सम्झिए । नेपाली मूलका ब्रिटिस नागरिक जोर्डन क्षेत्री, जो १३ वर्षको उमेरदेखि क्यान्सरजस्तो भयानक रोगसँग लड्दै आएका छन्, उनलाई याद गरे । 

क्यान्सर भएपनि हार नखाएका उनले ३० वर्षको उमेरमा सगरमाथा आरोहण गरे । त्यो सम्झिँदा मलाई आनन्द लाग्यो । आत्तिनुपर्ने केही छैन् भनेर मनलाई सम्झाए । साथीहरु ड्यिुटीमा जाँदा १०–१२ घण्टासम्म पानी पिउन नपाएको कुरा म वर्णन पनि गर्न सक्दिन् । घरपरिवार सम्झिँदा बेलाबेलामा भक्कानिँदै रुन्छु । त्यो घटनाले गर्दा जीवनमा केही नयाँ गर्ने मेरो हुटहुटी कमजोर भयो । 

रोजगारदाता कम्पनीको सहयोग र विदेशमा रहेका नेपाली दाजुभाइ र दिदीबहिनीका कारण आज म सामान्य दिनचर्यामा फर्किएको छु । एक अँध्यारो रातपछि जसरी नयाँ दिन आउँछ, त्यसैगरी मेरो जीवनले पनि नयाँ शुरुवात गर्दैछ । सक्दो सत्कर्म गरेर म मेरो जीवनलाई सफल बनाउने छु । आफ्नै खुट्टामा अन्तिमपटक उभिएको म त्यो कालोदिनलाई सेतो बनाउन सक्दो प्रयास गर्नेछु ।

टिप्पणीहरू