लाखेजात्रासँगै गोल्डकप, विजेतालाई पाँच लाख
कमल भट्टराई
ताप्लेजुङमा फुटबल खेलको सुरुआत वि.सं. २० को दशकको प्रारम्भदेखि भएको स्थानीयको भनाई छ । त्यसको एक दशकपछि लाखेजात्राको अवसर पारेर ताप्लेजुङमा फुटबल खेलाउन थालिएको बताइन्छ ।
क्याप्टेन देउमान नेयोङको निधनपछि बृटिश आर्मीमा कार्यरत लाहुरेहरुले उनकै नाममा लाखेजात्रामा प्रतियोगिता आयोजना गर्न कपको व्यवस्था गरेपछि औपचारिक रुपमा शुरु भएको स्थानीयको भनाई छ ।
लाखेजात्राको अवसरमा खेलाइने फुटबल खेल २०६४ सालमा मोतिकुमार पतङ्वाको अध्यक्षतामा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङ गठन गरेर व्यवस्थित गरिएको हो । गतवर्ष लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा प्रथम ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको थियो ।
यो वर्ष पनि देवराज गुरुङको अध्यक्षतामा दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता भदौ ३ गतेदेखि हुने भएको छ ।भानुजन मा.वि.को खेलमैदानमा हुने दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । पहिलो दिन संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी (भारत) बीच हुने खेल तालिका छ । भोलिपल्ट पाँचथर फुटबल क्लब पाँचथर र सलहेश युवा क्लब सिरहाबीच खेल हुने छ ।
भदौ ५ गते बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङ प्रतियोगितामा उत्रँदै छन् । भदौ ६ गते त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ र बिर्तामोड युनाईटेड फुटबल क्लब झापाबीच खेल हुने तालिका छ । त्यसपछि विजयी टीमहरु दोस्रो चरणको खेल हुने छ ।
यस पटक ताप्लेजुङका नौ वटा स्थानीय निकायका नाममा प्यारापिटहरुको नामाकरण गर्न लागिएको छ । प्यारापिटको पछाडि सबैले देख्ने स्थानमा पालिकाका पर्यटकीयस्थलका फोटाहरु राख्ने तयारी छ । होप फर अल संस्थाको तर्फबाट लागुऔषध नियन्त्रणको प्रयासका लागि चेतनामूलक नाटक कार्यक्रम, पर्चापोष्टर वितरणसमेत गरिने आयोजकले जनाएको छ ।
झण्डै ६० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा प्रथम हुने टिमलाई गोल्ड कपसहित पाँच लाख र दोस्रो हुने टिमलाई कपसहित दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
म्यान अफ द म्याचमा सात टिमको लागि पाँच हजारका दरले ३५ हजार वितरण गरिँदै छ । विधागत खेलाडीहरुलाई ८५ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।
टिप्पणीहरू