विदेशमा पीएचडी गरेर आएका प्राध्यापक बेपत्ता

विदेशमा पीएचडी गरेर आएका प्राध्यापक बेपत्ता

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसका उपप्राध्यापक बुना भण्डारीलाई स्पष्टीकरण सोधिएको छ । 

बिदा स्वीकृत बिनै लामो समयदेखि गैरहाजिर रहेकी उनलाई रजिष्ट्रार कार्यालयले आज सार्वजनिक सूचना निकालेर स्पष्टीकरण मागेको हो । आगामी १५ दिनभित्र चित्तबुझ्दो जवाफ नदिए सेवाबाट हटाउने त्रिविको चेतावनी छ । 

अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयमा ‘पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन’ विषयमा पीएचडी अध्ययन निम्ति भण्डारीले २०७३ माघ ५ देखि ०७८ भद्रौ १५ गतेसम्म बिदा पाएकी थिइन् । यद्यपि, उनी ०८० मंसिर २३ गतेमात्र नेपाल फर्किइन् । 

नेपाल आएपछि केही समय कार्यालयमा हाजिर भएकी उनले गत फागुल्न १६ गते असाधारण बिदा मागेकोमा स्वीकृतिबिनै हालसम्म अनुपस्थित रहेको रजिष्टार कार्यालयअन्तर्गत कर्मचारी महाशाखाले जनाएको छ । 

‘त्रिवि कार्यकारी परिषद्को मिति २०८१ भद्रौ ५ गतेको निर्णयानुसार लगातार ९० दिनभन्दा बढी समयदेखि बिना सूचना अनुपस्थित हुनुभई आफ्नो कर्तव्यप्रति लापरबाही गरेकोले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० अनुसार विश्वविद्यालय सेवाबाट किन नहटाउने ? भनी १५ दिनभित्र स्पष्टीकरण पेश गर्न जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू