दुई रविको एआइजीले कसरी मिलाए कुरा ?

दुई रविको एआइजीले कसरी मिलाए कुरा ?
सुन्नुहोस्

प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले सत्ता परिर्वतनलगत्तै अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीमाथि छानविनका लागि समिति बनाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला प्रहरीभित्र समानान्तर सत्ता चलाएका एआइजीमाथि कुँवरको मुख्य आरोप थियो, ‘कु’को प्रयास गरेको ।’

एआइजी टेकप्रसाद राईको नेतृत्वमा गठित पाँच सदस्यीय टोलीमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई, उजुरी छानबिनका एसपी प्रकाश मल्ल, कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इञ्जिनियर डिएसपी मुकेश तिवारी छन् ।

गृहमन्त्री रमेश लेखकले एआइजी ज्ञवालीले पदको चरम दुरूपयोग गरेकोबारे मन्त्रिपरिषद बैठकमै भनेका थिए, ‘ज्ञवालीले पदको चरम दुरूपयोग गरेका प्रमाणहरू नै आएपछि छानबिन थालिएको रहेछ ।’ तर पछिल्लो समयमा कुँवर एकाएक एआइजी ज्ञवालीको पक्षमा उभिएका छन् । स्रोतका अनुसार उनलाई एकाएक ज्ञवालीको माया लागेको भने होइन । यसमा दुई ठूला व्यापारिक घरानाको भरथेग रहेको देखिँदैछ । 

तत्कालीन गृहमन्त्री रवि लामिछानेका ज्ञवालीलाई जोगाउने प्रमुख पात्र हुन्, सूर्य नेपालका कर्मचारी तथा विभिन्न रक्सी कम्पनीका मालिक रवि केसी । जो एआइजी ज्ञवाली र उनका दाजु पूर्व प्रहरी आइजिपी ठाकुर ज्ञवालीका आर्थिक साझेदार हुन् । चण्डिका डिष्टिलरीका एकल मालिक र यति डिष्टिलरीका प्रमुख लगानीकर्ता रवि केसीसहित प्रभु ग्रूपका उच्च अधिकारीहरूले कुरा मिलाएपछि कुँवर ज्ञवालीका पक्षमा उभिएको स्रोतको दाबी छ । 

ज्ञवाली दाजु आइजिपी भएको बेला काठमाडौंको प्रमुख थिए र सरुवा, बढुवाको सूची त्यहीँ बसेर बनाउने गरेका थिए । त्यसबेला बढुवाका लागि लाखौं बुझाउनेहरू अहिले पनि प्रशस्त भेटिन्छन् । भनिन्छ, उनले त्यही पैसा रवि केसीमार्फत लगानी गरेका छन् । एक उच्च अधिकारीका अनुसार पछिल्लो समय उनको रवि केसीसँग ७६ पटक टेलिफोनमा कुराकानी भएको छ भने, रवि केसी र ठाकुर ज्ञवालीवीच ३१ सहित सुन तस्कर जीवन चलाउनेसँग ३१ पटक संवाद भएको रेकर्ड छ । 

दुई रवि र ज्ञवालीको पुरानो प्रेम

दाजु आइजिपी भएको बेला करोडौँ आर्जन गरेका ज्ञवाली जसरी पनि प्रहरी प्रमुख बन्न चाहन्थे । त्यसको लागि तत्कालीन प्रधानमन्त्री प्रचण्डसम्म चाँजोपाजो पनि मिलाए । मदिरा मालिक रवि केसीले तात्कालीन प्रधानमन्त्रीकी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई प्रभावमा पारेकै थिए । सूर्य नेपालमा दोस्रो तहका कर्मचारी रविको मोरङको रंगेली–५ मा स्थित चण्डिका डिष्टिलरीले कर छली गरेको भेटिएपछि आन्तरिक राजश्व कार्यालय विराटनगरले जरिवाना तिराएको थियो । बाह्रसिंगे बियर, ८८४८ भोड्का, वल्ड दरबारजस्ता ह्विस्कीको उत्पादक यति डिष्टिलरी पनि बन्दिपुरे साहुजी अभिषेक श्रेष्ठको साझेदारीमा केसीकै हो । 

ठाकुर ज्ञवाली प्रदेश १ (हाल कोशी) को डिआइजी हुँदादेखि केसीको सम्बन्ध कसिलो भएको र कोरोना महामारीताका विराटनगर नाकाबाट निर्धक्क मदिरा भारततर्फ तस्करीका निम्ति सेटिङ मिलाउन सहयोग गरेको नातामा भाइलाई आइजीपी बनाउन केसीले दौडधुप गरेका थिए । उनको लागि पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि सहयोगी भूमिकामा थिए । ठीक त्यहीबेला अख्तियारमा नागरिकता विवादको उजुरी परेको हो । उजुरीपछि अख्तियारले गृहलाई छानबिन गर्न चिठी लेख्यो र उनी प्रहरी प्रमुख हुनबाट रोकिए । खासगरी कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको रुचिमा वसन्त कुँवर प्रहरी प्रमुख बने । 

प्रहरी प्रमुख बन्न नपाएपछि उनले आफ्नो सपनाको हत्यारा भन्दै अख्तियार प्रमुख प्रेमकुमार राई, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाकी पत्नी हालका परराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम लिने गरेका थिए । भन्थे, ‘यता अख्तियारमा उजुरी, उता ट्यापे धिरजप्रताप सिंह (तात्कालीन प्रहरी प्रमुख) ले आरजु राणालाई मनाएपछि मेरो प्रमुख हुने सपनामा अवरोध आयो ।’ आफू निकट केही प्रहरी र पत्रकारसँग प्रमुख राई र राणाको नाम लिँदै उनी विरोधका आगो ओकल्थे । 

त्यसपछि उपत्यका प्रहरी प्रमुख भए । नक्कली भुटानी शरणार्थी प्रकरण छानविन थाले । त्यही छानविनलाई प्रतिशोधको एउटा हतियार बनाए । उनैको योजनामा आरजु राणा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, तत्कालीन गृहसचिव प्रेमकुमार राई र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई मुछेको बयान मिडियामा आगोजस्तै फैलाइयो । 

नक्कली शरणार्थी प्रकरणमा ५८ औं दिन लामो अनुसन्धान सकेर प्रहरीले ८ जेठ २०८० मा सरकारी वकिलको कार्यालयसमक्ष रायसहितको प्रतिवेदन बुझायो । उक्त प्रतिवेदन सरकारी वकिलले खोल्न नपाउँदै सबैजसो सञ्चार माध्यमले छाप्न थालिसकेका थिए । त्यसबेलाका प्रत्यक्षदर्शी एक एसपीका अनुसार उनले सम्पादकहरूलाई बोलाई–बोलाई पेनड्राइभमा हालेर प्रतिवेदन बाँडेका थिए ।

यतिसम्म कि ज्ञवालीले यो प्रकरणमा पक्राउ परेका डा. इन्द्रजित राईलाई चार पटकसम्म मध्यरात रानीपोखरी लगेर प्रलोभन र धम्की दिएका थिए । उनले भनेका थिए, ‘तपाईं बूढो हुनुभयो । प्रेम राई, राजेश बज्रचार्यको नाम लिनु, म छोडिदिन्छु ।’ तर राईले धम्कीको वीचमा पनि भने, ‘निर्दोषहरूको नाम लिनु अपराध हो । प्रेम सर भगवान्जस्तो मान्छे हो । यसमा उहाँको नाम लिनु अपराध हो । हुँदै नभएको नाम लिन्न ।’

नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला ज्ञवालीले आफू प्रहरी प्रमुख बन्ने र अख्तियारमा लीलामणी पौडेललाई लैजाने भन्ने अभियान नै चलाए । 

स्रोतहरूका अनुसार निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) को अध्यक्ष मनोज कार्की, अन्तर्राष्ट्रिय विमानस्थलतिर कन्फेक्सनरीको दोकान गर्ने सुवास श्रेष्ठलगायतले ज्ञवाली समूहलाई यो अभियानमा आर्थिक लगानी गरिदिने वचन दिएका थिए । कुँवरलाई पनि त्यही प्रकरणमा जोडेर हटाउने र आफू प्रमुख हुने योजना थियो । प्रहरी प्रमुख कुँवरमाथि अपराध अनुसन्धान कार्यालयमा भएको बेला उजुरी दर्ता नगरेको आरोप थियो । २०७८ पुस २२ गते उपत्यका अपराध अनुसन्धान, मीनभवनमा गएका उनी २०७० असार १७ गतेसम्म त्यहीँ थिए । 

भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं ठगेको भन्दै २०७० जेठ १८ गते कार्यालयमा ८१ जनाले उजुरी दिएका थिए । दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाको तर्फबाट सो उजुरी दर्ता गराएकोमा सुरुदेखि नै अनुसन्धानमा आलटाल गरेको आरोप कुँवरमाथि लगाइएको थियो ।

स्वार्थ मिलेपछि सोझै बूढानीलकण्ठ

रवि लामिछाने गृह मन्त्रालयमा आएलगत्तै कांग्रेसले विरोध शुरु गरिहाल्यो । उता रविलाई रिस, उता ज्ञवालीको पुरानै तुस । दुबै जनाको स्वार्थ मिल्यो । रविले ठूलालाई समातेर हल्ला गर्ने योजना बनाए । यसी मेसोमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बेचन झा भारतबाट असार १२ गते पक्राउ परेलगत्तै उनको योजना हालकी परराष्ट्रमन्त्रीलाई समात्ने बन्यो । ज्ञवाली र तत्कालीन विशेष ब्युरोका प्रमुख डा.मनोज केसी यसमा मज्जैले प्रयोग भए । डिएसपी दिपेश बस्याललगायतले पत्रकारहरूसँग समन्वय गरिरहेका थिए । डिएसपी सुवास हमाल र दुर्गा दाहाल उनका सहयोगी थिए ।

१५ असारको दिन प्रहरीको एक टोलीलाई बूढानीलकण्ठमा रेकी गर्न पठाइयो । उतिबेला प्रहरी प्रमुख वसन्त कुँवर भने अमेरिका भ्रमणमा थिए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र ज्ञवालीको सल्लाहमा केन्द्रीय अनुसन्धान ब्युरोको एक समूह सादा पोशाकमा बूढानीलकण्ठमा खटिँदा एसपी होविन्द्र बोगटीले उक्त अपरेशनको कमाण्ड गरेका थिए । 

सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेले पनि एआइजी ज्ञवालीले २ करोड मागेको दाबी गर्दै आएका छन् । आइजिपी बन्नलाई आफूसँग २ करोड मागेको र दिन नसकेपछि साजिश रचिएको आरोप चलाउनेको छ । 

चलाउनेले भनेका छन्, ‘श्याम ज्ञवालीले चाहिँ आइजिपी बढुवाभन्दा अगाडि घरैमा बोलाएर मसँग आइजिपी बन्नका लागि २–३ करोड मागेका थिए । मेरो कल डिटेल हेर्दा पनि थाहा हुन्छ । मैले त्यति पैसा छैन दाइ भनेपछि व्यक्तिगत रिस राख्न थालेपछि डबल गेम खेले । यता, मलाई भाग् नत्र तँलाई फसाउन ठूलो गिरोह लागेको छ, माओवादीले फसाउँदै छ भनेर साथीमार्फत खबर पठाउँथे । उता सिआइबीले जीवन चलाउनेलाई भगायो भनेर रवि दाइलगायतको टिमलाई उचाल्थे ।’

एक अनलाइनमा प्रभु बैंक र व्यापारी रवि केसीलाई लगानी गराएका तिनैले डा.मनोज केसीमार्फत नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशकमार्फत क्यास खन्याएको पनि बुझिएको छ ।

ठगीको फाइल गायब, संसदमा बचाउ

ज्ञवालीले गृहमन्त्री लामिछानेविरुद्ध पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सिआइबीले थालेको अनुसन्धानसमेत दबाएका थिए । संसदीय छानबिन विशेष समितिले सहकारीको बचत हिनामिनाबारे असार २१ मा गृहसचिव एकनारायण अर्याल र उच्च प्रहरी अधिकारीहरूसँग गरेको छलफलमा ज्ञवाली त्यसरी लामिछानेको बचाउमा लागेका हुन् ।

डिपीसँग दोस्ती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति तथा तत्कालीन श्रममन्त्रीले जनजागृति सहकारीमा करोडौं हिमामिना गरेका थिए भने एक पीडितलाई सिआइबी कार्यालयमा लगेर दबाब र धम्की दिई दुई करोड दिएर कुरा मिलाएका थिए । बालमन्दिरको जग्गा प्रकरणमा ज्ञवालीमाथि बृहस्पति स्कूल र विशाल ग्रुपका सञ्चालकहरूलाई तर्साएर असुल गरेको आरोप छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू