अमेरिकाबारे हप्ता दिनमै ओली आनका तान

अमेरिकाबारे हप्ता दिनमै ओली आनका तान

सचिवालय बैठकमा अमेरिकाविरुद्ध आक्रामक अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पोलिटब्युरो बैठकमा भने नरम रूपमा प्रस्तुत हुनुभएको छ । 

भदौ १३ गते च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा अमेरिकाले सरकार ढाल्न सक्ने आशंका व्यक्त गर्दै उहाँले एक लाख कार्यकर्ता सडकमा उतार्ने प्रस्ताव गर्नुभएको थियो । बैठकको प्रारम्भमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै ओलीले सरकारमाथि संकट रहेको र आवश्यक परे सडकमा जानुपर्ने अवस्था आउनसक्ने ब्रिफिङ गर्नुभएको थियो । 

पदाधिकारी सम्मिलित पार्टीको हाइकमाण्ड बैठकमा यसरी महाशक्ति राष्ट्र अमेरिकाप्रति कठोर टिप्पणी गर्नुभएका प्रधानमन्त्रीले करिब एक हप्तापछि पार्टीकै अर्को तहको बैठकमा भने आफ्नै अभिव्यक्तिको खण्डन गर्नुभयो । भदौ १८ गते बसेको पोलिटब्युरो बैठकमा भन्नुभयो– ‘अमेरिकाको बारेमा मैले गरेको त्यस्तो टिप्पणी बाहिर तपाईंहरूले जस्ताको तस्तै लान नहुने ।’ 

सचिवालय बैठकमा आफूले राखेका धारणा बाहिर सार्वजनिक भएकोमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो । नेताहरूले गोपनीयता कायम गर्न नसकेको भन्दै आक्रोशित हुनुभएका उहाँले प्रश्न गर्नुभयो– ‘टप कमिटीमा भएका कुरा नै बाहिर जान्छन् भने कहाँ छलफल गर्ने ?’

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अमेरिका,चीन र भारतसँग एमालेले सदैव सन्तुलित सम्बन्ध राख्दै आएको उल्लेख गर्दै कसैको पनि विरोध गर्ने नीति नभएको स्पष्ट गर्नुभएको बैठक स्रोतले जानकारी दियो । ‘नेकपा एमाले न अमेरिका,न चीन,न भारत कसैको पनि विरोध गर्न हुँदैन । हामी अहिले राजनीतिक संवेदनशीलताको अवस्थामा छौँ । यस्ता संवेदनशील इस्युमा बाहिर कसरी बोल्ने,के बोल्ने साथीहरूसँग नलेज छैन’, ओलीको भनाइ थियो । 

तर, सरकारमै बसेर सडकमा कार्यकर्ता उतार्ने विषयमा भने उहाँले सचिवालय बैठककै धारणा पोलिटब्युरोमा पनि दोहो¥याउनुभयो । सरकारमाथि चौतर्फी घेराबन्दी भइरहेको दाबी गर्दै भन्नुभयो, ‘अहिले जथाभावी बोल्दै हिँड्ने प्रवृत्ति बढेको छ । आवश्यक पर्‍यो भने हामीले पनि मान्छे उतार्नुपर्छ ।’ 

सचिवालयमा बैठकमा उहाँले सरकार र आफूविरुद्ध सडकमा हुने गरेका नारावाजीको कार्यकर्ता तहबाट प्रतिवाद नभएकोमा आक्रोश पोख्दै एक लाख मान्छे उतार्नुपर्नेमा जोड दिनुभएको थियो । पोलिटब्युरोमा भने अध्यक्षले दुई–चार लाख मान्छे काठमाडौँ ल्याउनुपर्ने पनि हुन सक्छ भनेर मौखिक प्रस्ताव राखेको एक नेताले बताए । 

कांग्रेससँगको सहमति अक्षरशः कार्यान्वयन हुने भएकाले शंका नगर्न बैठकमा नेताहरूलाई ओलीको आग्रह थियो । आरजु राणा देउवाको भारत भ्रमणपछि दुई दलबीच अविश्वास बढेको र स्वयं प्रधानमन्त्री आशंकित रहेको चर्चा भइरहँदा उहाँले भन्नुभयो– ‘हामी सम्झौताप्रति प्रतिबद्ध छौँ, त्यही भएर मैले एक हप्ताअगाडि नै छाड्दिन्छु भनेको हो, छोड्छु पनि । चुनावसम्म अहिलेकै गठबन्धन रहन्छ । चुनावमा एक्ला–एक्लै प्रतिस्पर्धा हुने अवस्था बनाइन्छ ।’

एमाले बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि चर्को आलोचना भयो । अध्यक्ष ओलीले निन्दा गर्दै भन्नुभयो– ‘सरकार छाड्नुपरेको छटपटीले प्रचण्ड उद्यण्ड भइराखेका छन् । तर, तिनले केही गर्न सक्दैनन् । उनको पालामा टिआरसी पास गर्न सकेनन्, हामीले गर्‍यौँ । टिआरसीअन्तर्गत गर्नुपर्ने बाँकी काम पनि हामीले नै गर्नुपर्छ ।’

बैठकमा सांस्कृतिक बिचलनमा परेका केही नेताप्रति ओलीले कटाक्षपूर्ण टिप्पणी गर्नुभयो । यौनकाण्ड लागेका पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहको नाम नलिई उहाँले दुई विकल्प सुझाउँदै भन्नुभयो, ‘राजनीति गर्ने हो भने इमान्दारीसाथ गर्नुपर्‍यो, मोजमस्ती गर्ने भए राजनीति छोडेर जानुपर्‍यो ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू