प्रधानमन्त्रीलाई चाहिँ अझै उही प्यारो

प्रधानमन्त्रीलाई चाहिँ अझै उही प्यारो

तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले १२ असार २०८० मा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधे । तर अधिकारीले उल्टै चुनौती दिए, ‘परेको सबै ब्यहोर्छु, तर स्पष्टीकरण दिन्नँ ।’ 

किरातीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोधेरै उक्त कदम चालेका थिए । यसैमा ती दुई जनाबीच सार्वजनिक वाक्युद्ध शुरु भयो । अधिकारीलाई बर्खास्त गर्न लाग्दा प्रधानमन्त्रीले एकाएक रोके । त्यसपछि उनलाई भेटेर किरातीले भने ‘मेरो गल्ती कमजोरी भए मलाई कारबाही गर्नुहोस् । होइन भने विभागीय मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ दिन्न भन्नेमाथि कारबाही हुनुपर्छ ।’ उत्तरमा प्रधानमन्त्रीले भनेका थिए, ‘के रहेछ, अध्ययन गर्छु, अनि स्टेप चालौंला ।’

स्टेपकै प्रतीक्षामा थिए मन्त्री तर प्रधानमन्त्रीले कुनै स्टेप चालेनन् बरु अधिकारी झन् शक्तिशाली भएर निस्किए । मन्त्रीले कुनै काम अह्राउँदा महानिर्देशकले भन्ने गरेका थिए, ‘तपाईंले मात्रै भनेर हुन्न, माथि सोध्नुपर्छ ।’ अधिकारी आफ्नो कोर ग्रुपमा भन्ने गर्थे, ‘१४ क ले अब सबैको मुख बन्द भएको छ ।’ 

क्यानका आफूनिकट कर्मचारी चाँदमाला श्रेष्ठ, बाबुराम पौडेल, राजेन्द्र पौडेललगायतको जमघटमा उनको भनाइ रहन्थ्यो, ‘अब चिन्ता नगर्नुहोस् । बुझाएको पैसाको तपाईं हामीले म्यानेज गर्नुपर्छ । अब म होइन, त्यो मन्त्री हट्छ ।’ एक प्रत्यक्षदर्शीका अनुसार यो सुन्नासाथ अधिकारीका आर्थिक व्यवस्थापक चाँदमाला जुरुक्क उठेर चियर्स गरेका थिए । अन्ततः अधिकारीको दाबी सही सावित भयो । मन्त्री किराती हटे र दुःखको गीत गाउन थाले, ‘देश कसले चलाउँदो रहेछ बुझेर फर्किएँ ।’

मन्त्री हटेपछि अधिकारीले भन्ने गरेका थिए, ‘त्यो चटके मन्त्रीले हाम्रो कुरो बुझेको भए उनको नि राम्रो हुनेथियो ।’ स्रोतका अनुसार उनको पहुँच पछिल्लो समय प्रचण्डको बेडसम्मै थियो ।

ओली आएपछि पनि उस्तै

पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् बद्रीप्रसाद पाण्डे । पाण्डे पनि शुरुमा त अधिकारीविरुद्ध आक्रामक नै थिए । दर्जनौं भ्रष्टाचारको मुद्दामा मुछिएका महानिर्देशकलाई हटाउँछु भन्थे । तर, अहिले उनी नरम बनेका छन् । स्रोतका अनुसार अधिकारीले प्रधानमन्त्री र उनको टिमलाई पनि हातमा लिएका छन् । चाँदमाला श्रेष्ठलगायतको समूहलाई अन्तर्राष्ट्रिय विमानस्थलतिर कन्फेक्सनरीको दोकान गर्ने सुवास श्रेष्ठमार्फत प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसम्म पुगेको ब्रिफिङ गरेका छन् । स्रोतका अनुसार उनले भनेका छन्, ‘अब पाण्डे मन्त्रीजी बुरुक्क उफ्रेर केही पनि हुन्न ।’ तर उनले आफ्नो टिमलाई बताएजस्तो बालुवाटारमा बज्रचार्यलाई भेटे वा नभेटेको भने पुष्टि हुन सकेन । 

माधव नेपालदेखि ओलीसम्म प्रभावित

अधिकारीलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कोशेली बुझेरै महानिर्देशक बनाएका हुन् । वरिष्ठताका आधारमा उनीभन्दा अगाडि प्रतापबाबु तिवारी, भोलाप्रसाद गुरागाईंलगायत दावेदार भए पनि अधिकारीले मन्त्री, सचिव र शक्ति केन्द्रहरूलाई रिझाएर पद पाएका थिए ।

एमाले र माओवादी एक भएर बनेको नेकपामा संघर्षताका माधव नेपाल समूहले गर्ने भेलाको खर्च यिनै अधिकारीले तिरिदिएका थिए । ललितपुरतिरको एक भेलाको प्रयोजनका लागि तात्कालीन युवा संघका नेताहरूसँग उनले भनेका थिए, ‘हैन, यो केपी ओलीको यस्तो बुद्धिचाहिँ कताबाट आउँछ हो, पार्टी र देश दुबै सक्ने भए ।’ केपी ओलीको सत्तोसराप गर्ने अधिकारी ओली सत्तामा फर्केपछि उनकै प्रिय बनेका छन् । 

स्रोतका अनुसार तत्कालीन मन्त्री प्रेम आले र महानिर्देशक अधिकारीबीच भएको भेटको एउटा गोप्य भिडियो एक पत्रकारले फेला पारेका थिए । उक्त भिडियोमा पैसाको डिल, केपी ओलीलाई सत्तोसराप गरेको सबै अंश थियो । पछि प्रेम आलेले रोइकराइसहित ती पत्रकारका लागि काम गरिदिएपछि भिडियो डिलिट गरिदिए । आले भन्थे, ‘झण्डै डुबाएको ।’ त्यसो त पछिल्लो समय आफूलाई ओलीको विशेष मान्छे बताउने नवीन बस्नेतमार्फत उनले केपी ओली कप क्रिकेटको सम्पूर्ण आर्थिक व्यवस्थापनसमेत गरिदिएको दाबी गर्दै आएका छन् । 

अधिकारीविरुद्ध पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, क्यानको भवन निर्माणलगायतमा अर्बाैं भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी छ । तर, आफूविरुद्ध उभिने जो–कोही सकिने भन्दै उल्टै चेतावनी दिएर हिँड्ने गरेका छन् । स्रोतका अनुसार चाँदमाला श्रेष्ठ, बाबुराम पौडेल र पर्यटन रिपोर्टिङ गर्ने एक ठूलो दैनिकका पत्रकारसँग उनले भनेका थिए, ‘हामीलाई जसले चलायो उनै चल्छन् । अख्तियारले बयान लिएको होहल्ला गराएछन् । उनीहरूकै भाग्यदातासँग मेरो सम्बन्ध भएको के थाहा उनीहरूलाई !’ अख्तियारका भाग्यदाता अर्थात् प्रधानमन्त्री ओलीसँग आफ्नो सम्बन्ध रहेको उनले दाबी गरेका हुन् । 

अधिकारीको भ्रष्टाचारबारे राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय मिडियाले पनि पटक–पटक लेखेका छन् । अख्तियारले अनुसन्धान क्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि परामर्शदाता छनोट तथा सम्बद्ध व्यक्तिहरूसँग गैरकानुनी तरिकाले मिलेमतो गरी भ्रष्टाचार गरेको उजुरी फेला पारेको छ ।

अधिकारीविरुद्ध अख्तियारमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण विभागमा गैरकानुनी धनआर्जनको उजुरी रहेको छ । निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीभन्दा पहिले छुट्टाछुट्टै आयोजना प्रमुख रहने गर्थे । तर, शक्ति केन्द्रको आडमा उनी तीन वटै आयोजनाको एकीकृत संगठन बनाई आयोजना प्रमुख बने ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकै दोस्रो टर्मिनल भवनको लागत घटाउन प्राविधिक टोलीले सुझाव दिएकोमा रकम बढाउन चलखेल गरेको अर्को उजुरी छ । एशियाली विकास बैंकले ७ अर्ब लगानी गर्ने तथा ३ अर्ब नेपाल सरकारले हालेर कूल १० अर्ब रूपैयाँको लागतमा दोस्रो टर्मिनल भवन बनाउने डिजाइनसहित इस्टिमेट गरिएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० करोडको हाराहारीमा परामर्श सेवामा पनि उनले अनियमितता गरेका थिए । पिएस फर एडिसनल स्पेसिफिक एक्स्पर्टस एज एण्ड ह्वेन रिक्वायर्ड बाई इम्प्लोयर शीर्षकमा मात्र १६ करोड ५ लाख रूपैयाँ राखेर अरु विभिन्न गरी प्रोभिजनलमै १९ करोड ५० लाख अर्थात् आधा रकम चलखेल गरेको स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, ट्याक्सी–वे निर्माणसहितको कामका लागि ९ अर्ब २० करोड रूपैयाँमा दिइएको ठेक्कामा पनि उनको सेटिङ रहेको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । उनले सेटिङ गरेको ठेक्कामा चाइना नेशनल इञ्जिनियरिङ कर्पोरेशन र चाइना मेसिनरी इञ्जिनियरिङ कर्पोरेशनलाई मात्र पास गराइएको थियो ।तर अधिकारीले भने पटक–पटक आफूनिकट र आफूनिकट पत्रकारसँग अख्तियारलाई चुनौती दिने गरेका छन् । एक पुरानो दैनिकका पर्यटन हेर्ने पत्रकार र एक अनलाइनका पत्रकारसँग एक साताअघि भनेका थिए, ‘अब यहाँ सकिनासाथ अख्तियार जाने हो ।’ अख्तियार जाने अर्थात् क्यानको जागिर सकिएपछि अख्तियारमा नियुक्ति खाने । उनले भन्ने गरेका छन्, ‘त्यहाँ कसरी जाने हो ? त्यो विधि हामीलाई पनि थाहा छ । त्यहाँ हुनेहरूले धेरै आँखा नलाए हुन्छ ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू