ठगीबारे रविको जवाफ : एमडीले चेक नकाटे के घाँस काट्ने ?

ठगीबारे रविको जवाफ : एमडीले चेक नकाटे के घाँस काट्ने ?
सुन्नुहोस्

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित सो कम्पनीका चार जनामाथि कारबाही सिफारिस गरेको छ । 

पोखराको सूर्यदर्शनसहित पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा ल्याएर अपचलन भएको निष्कर्ष निकाल्दै समितिले रविसहित अध्यक्ष जिबि राई, सञ्चालक सदस्य छविलाल जोशी र कुमार रम्तेललाई कारबाहीको सिफारिस गरेको हो । कुनै पनि कम्पनीका सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।

‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन’, रवि लामिछानेसहितलाई कारवाहीको सिफारिस गर्दै समितिले प्रतिवेदनमा खुलाएको छ । 

बैंक खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुने सबैले दायित्व ग्रहण गर्नुपर्ने समितिको निचोड छ । गोरखा मिडिया नेटवर्कको आर्थिक कारोबारका लागि अध्यक्ष जिबी, तत्कालीन उपाध्यक्ष छवि र प्रबन्ध निर्देशक रविले हस्ताक्षर गरेर ग्लोबल आईएमइ बैंकमा संयुक्त खाता खोलेको केवाइसी विवरण सार्वजनिक भैसकेको सन्दर्भमा समितिको यो निष्कर्षले जिबी राईलाई मात्र दोषी देखाएर अरु उम्कने अवस्था नरहेको स्पष्ट भएको छ । 

‘खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’, प्रतिवेदनमा उल्लेख छ । 

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले भने समितिले लामिछानेलाई ‘क्लिनचिट’ दिएको दाबी गरिरहेका छन् । लामिछाने स्वयम्ले सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि नभएको जिकिर गरे ।

समितिले प्रतिवेदन बुझाएलगत्तै संसद भवनबाहिर उनले समितिको प्रतिवेदनअनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको दाबी गरेका हुन् । सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको लामिछानेको स्वीकारोक्ति छ । 

‘अझैपनि भाष्य निर्माण गर्नलाई त्यहाँबाट गएको पैसा त्यसले चलाएको हो नि भनेर भनिएको छ । मैले आएको पैसाको त्यहाँ आन्तरिक प्रशासन चलाउन त्यहाँ चेक नकाटेर एमडीले घाँस काट्ने कुरा आउँदैन नि त । चेक नै काट्ने होला नि । जुन कुरामा लाञ्छना लागेको थियो त्यो कुरामा समितिले स्पष्ट पारेको छ’, उनले भने ।

टिप्पणीहरू