रविका कारण हिरासत पुगेकाहरु यौटै कोठामा

रविका कारण हिरासत पुगेकाहरु यौटै कोठामा

कहिलेकाहीँ संयोग कस्तो पर्छ भने फरक-फरक कसूरमा पक्राउ परेका दुई जना चर्चित व्यक्ति हिरासतमा पुगेर रुम पार्टनर बन्छन् । यो प्रसंग हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ र पूर्वडिआइजी छविलाल जोशीको । उनीहरु दुवै कास्की प्रहरी हिरासतको एउटै कोठामा छन् । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड पैसा मागेको अडियो सार्वजनिक भएपछि कारवाहीमा परेका ढाकाको सांसद पद मात्र गएन, राजनीति नै समाप्त भयो । सभापति रवि लामिछानेले ढाकालाई स्पष्टीकरणको मौका नै नदिई कारवाही गरे । पोखराको पृथ्वी चोकमा दिया फार्मेसी चलाउँदै आएका उनी भदौ २७ गते 'लागुऔषध कारोबार' आरोपमा पक्राउ परे । 

गत साउनमा प्रहरीले रोल्पा घर भएका ४२ वर्षीय प्रकाश थापा मगरलाई ९७ ट्याव्लेट लागुऔषधसहित पक्राउ गरेको थियो । उनले दिया फार्मेसीबाट उक्त लागुऔषध खरिद गरेको बयान दिएपछि ढाका समातिएका हुन् । अहिले प्रहरीले उनीविरुद्ध पोखरा जिल्ला अदालतमा मुद्धा दर्ता गरेर थप अनुसन्धान गरिरहेको छ ।

थुनुवाहरु धेरै भएको र कोठा कम भएकाले दुवैलाई एउटै कोठामा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वसन्त शर्माले जानकारी दिए । 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन कसूरमा समातिएका पूर्वडिआइजी छविलाल आइतबारदेखि कास्की हिरासतमा छन् । सहकारी छानविनसम्बन्धी संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको ६५ करोडभन्दा बढी रकम गैरकानुनी ढंगले प्रवाह भएको प्रतिवेदन तयार पार्दै जिबी राई, छविलाल जोशी र रवि लामिछानेलाई कारवाहीको सिफारिस गरेको थियो । त्यसैका आधारमा काठमाडौँबाट समातिएका उनलाई थप अनुसन्धानका लागि पोखरा पुर्याइएको हो ।

प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार छविलालले प्रहरीसँगको बयानमा भनेका छन्, ‘गोर्खा मिडियामा सहकारीको पैसा लगानी गर्ने आइडिया रवि लामिछानेकै हो, म बेकारमा फसेँ ।’ यद्यपि, यता रविले भने खुलमखुला त्यसमा आफ्नो संलग्नता नभएको दावी गरिरहेका छन् । 

रविको चेपुवामा परेका ढाका र छविलाल अहिले संयोगले हिरासतको एउटै कोठामा पुगेका छन् । थुनुवाहरु धेरै भएको र कोठा कम भएकाले दुवैलाई एउटै कोठामा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वसन्त शर्माले जानकारी दिए । 

उनका अनुसार अहिले हिरासतमा ५०-६० जना थुनुवाहरु छन् । तीमध्ये ढाका र छविलाललाई राखिएको कोठामा अरु १२ जना छन् । डिएसपी शर्माले जनआस्थासँग भने, ‘थुनुवा धेरै छन्, कोठा कम । दुई जनालाई राखिएको कोठामा अरु १०/१२ पनि छन् ।’

त्यसो त, छविलालले सुरुमा अस्पतालमा बस्ने अडान लिएका थिए । तर, प्रहरीले डाक्टरको सिफारिसबिना अस्पतालमा बस्न नपाइने भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएर स्वास्थ्य चेकअप गराएको थियो । त्यहाँ डाक्टरहरुले कुनै गम्भीर विरामी नरहेको र अस्पताल बस्नुपर्ने अवस्था नभएको रिर्पोट दिएपछि उनलाई हिरासतमै बस्नु परेको हो ।

टिप्पणीहरू