प्रकृतिमाथिको छेडखानीले विनाश निम्तिएको त होइन् ?

प्रकृतिमाथिको छेडखानीले विनाश निम्तिएको त होइन् ?

हिन्दू धर्मावलम्बीको महान् चाड दशैं नजिकिँदै गर्दा मुलुकले एउटा ठूलो बज्रपातको सामना गर्नुपरेको छ ।  बिहीबार रातिदेखि भएको अविरल वर्षाले निम्त्याएको प्राकृतिक विपद्ले मुलुकभर ठूलो धनजनको क्षति भएको छ । कतै गाउँ नै सखाप भएको छ त कतै घरभित्र बाढी पसेको छ । 

नेपाल प्रहरीका अनुसार हालसम्म एक सय ६३ जनाको ज्यान गएको छ । त्यसैगरी, बाढी पहिरो र डुबानमा ६० जना घाइते भएका छन् । ५७ जनाको कुनै अत्तोपत्तो छैन् । यात्रु बोकेको बस पहिरोले पुरिएका छन् । रातदिन नभनिकन सुरक्षाकर्मी उद्दारका लागि खटिएका छन् । 

बाढीपहिरोले काभ्रेपलाञ्चोकमा सबैभन्दा धेरै क्षति पुर्याएको छ । रोशी क्षतविक्षत अवस्थामा छ । जथाभावी नदीजन्य पदार्थ उत्खनन् गर्दा रोशीमा विध्वशं मच्चिएको हो । यता, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पनि ठूलो धनजनको क्षति भएको छ । सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा हिजो बिहान आएको पहिरोमा पुरिएर एकै ठाउँमा ६ जनाको ज्यान गयो । 

राजधानी काठमाडौं जोड्ने सबै सडकमार्ग बन्द छन् । यात्रुहरु बीच सडकमा अलपत्र परेका छन् । काठमाडौं उपत्यकामा समेत बाढीले वितण्डा मच्चाएको छ । काठमाडौं, भक्तपुर र ललितपुर बाढीका कारण अति प्रभावित भएको छ ।

यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, नेपाली सेनासमेतको टोली खटिदाँपनि उद्दार गर्न हम्मेहम्मे परेको छ । बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते खोला सर्वसाधारणको घरभित्र पसेको छ । कतिपय बस्ती नै डुबानमा परेको छ । 

दशैंको मुखमा बाढीपहिरोले करोडौंको क्षति पुर्याएको छ । सयौंको घरमा रुवाबासी चलेको छ । काठमाडौं उपत्यकामा बाढीले यत्रो ताण्डव देखाउला भनेर कसैले कल्पनासमेत गरेका थिएनन् । हिजो पुरै काठमाडौं उपत्यका पानी–पानी बनेको थियो । 

राजधानीमै उद्दार गर्न चुकेको भन्दै हाल सरकारको चर्को आलोचना भइरहेको छ । ललितपुर महानगरपालिका–१४ नखिपोटमा नख्खु खोलाले मच्चाएको वितण्डाको दृश्य सर्वत्र चर्चामा छ । खोला किनारामा टहरा बनाएर बसेका चार जनालाई लामो समयसम्म पनि सरकारले उद्दार गर्न सकेन् । 

उद्दारको पर्खाइमा बसेका उनीहरु बाढीमा बगे । त्यतै उभिएका युवकले पानीमा हाम्फालेर उनीहरुको उद्दार गरे । उपत्यकामा मात्रै दर्जनौंको ज्यान गइसकेको छ । यस विपद्को घटनालाई अधिकांशले प्रकृतिमाथिको छेडखानी भनेका छन् । 

प्रकृतिले आफूमाथि गरेको अत्याचारको बद्ला लिएको अधिकांशको जिकिर छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘खोलाले धर्म छोडेको छैन्, मान्छेले धर्म छोडेर खोला मिचेको हो ।’ त्यस्तै, अर्कोले भनेका छन्,‘प्रकृतिले फेरि आफ्नो हैसियत के हो, देखाइदिएको छ । त्यसैले प्रकृतिको दोहन नगरौं ।’

सामाजिक सञ्जालमा लेखिएको छ,‘प्रकृतिसँग तिमी खेलिरहेका थियौं । अब तिमीसँग प्रकृति खेल्दै छ । अर्थः प्रकृतिले आफ्नो ठाउँ खोज्दै छ तिमीहरु उसको बाटोमा आफ्नो बासस्थान बनाइरहेका छौं ।’ उपत्यका पानीले भरिनुको प्रमुख कारण खोला अतिक्रमण गर्नु देखिएको छ । 

जसरी मानिसले आफ्नो थातथलो खोज्छ, त्यसैगरी खोला पनि खोज्छ । पछिल्लो समय खोला साँघुरिँदै गएको छ । खोला मिचेर घर ठड्याएको छ । केहीले आफ्नो स्वार्थका निम्ति खोला किनारा मिच्दा समग्र उपत्यकाबासी प्रभावित बनेका छन् । सारा उपत्यकाबासीले त्यसको मूल्य चुकाउनुपरेको छ । 

उपत्यकाबासीले खोलालाई कुलो बनाउँदै छन् । सुकुम्बासीको नाममा खोला किनारा कब्जा गरिएको छ । सर्वोच्च अदालतले खोला किनारामा थप २० मीटर छोड्न आदेश दिएको छ । त्यसको विरोधमा खोला किनारबासी निरन्तर आन्दोलनमा छन् । 

यता, सरकार सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा गएको छ । नागरिकको सम्पत्तिमाथिको हक खोस्ने सर्वोच्चको आदेश सरासर गलत भएको सरकारको ठम्याई छ । त्यसो त खोलाको हकको संरक्षण कसले गर्छ ? राजनीतिक दलहरु उनीहरुलाई भोट बैंक बनाइरहेका छन् । 

उनीहरुलाई त्यहाँबाट हटाउनुको साटो उल्टै कब्जा गर्न प्रोत्साहन गरिरहेका छन् । जसले गर्दा दुई दिन परेको पानीले ठूलो धनजनको क्षति हुन पुगेको हो । खोला किनार मात्र नभई पुरै उपत्यका डुबानको चपेटामा परेको हो । 

उपत्यका कंक्रिटको शहर बनेको छ । जताततै घरैघर । अव्यवस्थित बस्तीका कारण आकाशबाट परेको पानी जाने ठाउँ छैन् । सबै ढलमार्फत खोलामै जान्छ । उता, घरघरको ढलको पाइप पनि खोलामा नै मिसाइएको छ । 

बाढी नगएको ठाउँमा समेत बाथरुमबाट पानी निस्किरहेको थियो । सरकारले बेलैमा खोला किनारको बस्ती नहटाएमा योभन्दा ठूलो क्षति हुनसक्ने जानकारहरु बताउँछन् । उक्त घटनालाई ध्यानमा राखेर सरकारले आवश्यक कदम चाल्नुपर्ने उनीहरुको भनाइ छ । 

यता, विकासको नाममा विनाश भइरहेको छ । अध्ययन र योजनाबिनै विकासका काम गर्ने प्रवृत्तिले भविष्यमा योभन्दा पनि ठूलो विनाश निम्त्याउने निश्चय नै छ । अन्य जिल्लामा पनि प्रकृतिमाथि चरम दोहन भइरहेको छ । 

रोशीमा आएको विपत्ति मानव सिर्जित हो । क्रसर उद्योग सञ्चालन गर्ने नाममा भएको नदीजन्य पदार्थको दोहनले पुरै बस्ती विस्थापित भएको छ । काभ्रेमा मात्रै झण्डै ६० जनाको मृत्यु भएको छ । खोला छेउ बनेका पक्की घरहरु ढलेको छ । 

पूर्वतयारीमा सरकारको लापरवाही 

‘पूर्वतयारी नगर्ने, नागरिक मरेपछि टाउको गन्ने’, सरकारको प्रवृत्ति नै बनिसकेको छ । यसपटक पनि सरकारले उही प्रवृत्ति दोहोर्याएको छ । जसका कारण ठूलो मानवीय क्षति हुन पुगेको हो । जल तथा मौसम विज्ञान विभागले बिहीबार रातिदेखि आइतबारसम्म भारी वर्षा हुने भनि पहिल्यै जानकारी गराएको थियो । 

यता, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले गत असोज १० गते विज्ञप्ति जारी गरेर उच्च जोखिममा रहेका हिमाल तथा पहाडका ५६ जिल्लामा दुई रात रात्रिकालिन बस नचलाउन आग्रह गरेको थियो । 

मौसमको पूर्वानुमानअनुसार प्राधिकरणले तयारी अवस्थामा रहन सरकारलाई सूचित गराएको थियो । तर, सरकार पूर्वतयारीमा चुकेको हो । राजधानीमै समेत सरकार उद्दारमा चुकिरहेको देखिन्थ्यो । बाढीले वितण्डा मच्चाउँदा सरकार टुलुटुलु रमिता हेरेर बसेको थियो । 

यता, प्राधिकरणले बस नचलाउन आग्रह गर्दागर्दै पनि अटेर गरिएको हो । धादिङ्गको झ्याप्ले खोलामा सवारी साधन पुरिँदा दर्जनौंको ज्यान गएको छ । सुरक्षाकर्मीसँग उद्दार सामग्रीको पनि अभाव थियो । जथाभावी खर्च गर्न सरकारसँग पैसा भइरहँदा सुरक्षाकर्मीलाई उद्दारका सरसामान किन्न बजेट नभएको भन्दै सर्वसाधारणले आक्रोश पोखिरहेका छन् । 

प्रहरीसँग पर्याप्त डुंङ्गा नहुँदा हिजो ललितपुरमा उद्दार कार्यमा ढिलाइ भएको हो । सामाजिक सञ्जालमा यतिबेला सरकारको व्यापक आलोचना भइरहेको छ । अर्जुन यादव भन्छन्,‘विपद्को बेला जनताको लागि राज्यको स्रोत साधन काम लाग्दैन् भने त्यस्ता साधन स्रोतको के काम ? जनताप्रति सरकार कति उत्तरदायी छ भन्ने यो घटनाले पुष्टि गर्छ । जय हो ज्यानमारा सरकार, विपत्तिको बेला यसरी सुतेर हुन्छ सरकार !’

त्यस्तै, अर्कोले लेखेका छन्,‘प्रहरीसँग उद्दार सामग्री हुनुपर्यो नि !’
 

टिप्पणीहरू