डेढ अर्ब ठगेका मेयरलाई थुनछेक बहसमा उभ्याईंदै

डेढ अर्ब ठगेका मेयरलाई थुनछेक बहसमा उभ्याईंदै

सहकारी बचतकर्ताको झण्डै डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आजदेखि थुनछेक बहसमा उभ्याईंदै छ । जिल्ला अदालत बागलुङमा हिजो उनको बयान सकिएको प्रहरीले बताएको छ ।  

बागलुङ र पोखरामा सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनपछि अघिल्लो वर्षको जेठदेखि फरार मेयरलाई भारतको नयाँ दिल्लीमा पक्रेर शनिबार राति काठमाडौं ल्याइएको थियो । आइतबार सीआईबी लगिएका उनलाई सोही दिन पोखरा हुँदै बागलुङ पुर्याइएको थियो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका नेपाली सहकारी ठगीको कसुरमा २०८० जेठदेखि फरार थिए । भारतको दिल्लीमा शुक्रबार पक्राउ परेपछि नेपालीलाई आइतबार राति बागलुङ ल्याइएको थियो ।

जिल्ला अदालत बागलुङमा हिजो बयान सकिएकाले आजदेखि थुनछेकको बहस हुन लागेको हो । नेपालीविरुद्ध १५ सय ७३ जना सर्वसाधारणले ठगीको जाहेरी दिएका छन् ।

उनले हालसम्म एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ हिनामिना गरेको देखिन आएको छ । उनीसहित झण्डै एक दर्जनविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

टिप्पणीहरू