अदालतमा 'सुगर ड्याडी'को बयान : नाइट क्लबमा पैसा उडाउनु मेरो सोख हो !

अदालतमा 'सुगर ड्याडी'को बयान : नाइट क्लबमा पैसा उडाउनु मेरो सोख हो !

कसैलाई चरम यातना र पीडा दिएर आफू खुशी हुने प्रवृतिलाई साइकोप्याथ भनिन्छ । यस्ता मानिस देख्दा समान्य हुन्छन् तर उनीहरुको दिमागमा कतिसम्मको अपराधिक सोच र विचार आउँछ त्यो कल्पनासमेत गर्न सकिंदैन । साइकोप्याथका अपराधी कति डरलाग्दा हुन्छन्, चलचित्रको काल्पनिक कथाहरुमा मात्र देख्न सकिन्छ । 

तर, यो प्रसंग कुनै काल्पनिक कथाको होइन, एउटा वास्तविक साइकोप्याथ आशिष देउला उर्फ ‘सुगर ड्याडी’को हो । जो अहिले काडमाडौँ जिल्ला अदालतमा बयान दिइरहेका छन् । 

भदौ १९ गते पक्राउ परेका देउलामाथि विभिन्न युवा-युवतीहरुलाई बन्धक बनाएर कपडामा लगाउने आइरनले डामेको, पानी तताउने विद्युतीय रडले पोलेको तथा पाइपले कुटपिट गरेको आरोप छ । 

शुरुमा प्रहरीले ३३ वर्षीय देउलासहित २७ वर्षका राजेन्द्र घले, २२ वर्षे ओजस्वी तामाङ र साजन गुरुङलाई समातेको थियो । तर, प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले देउला र ओजस्वीलाई मात्र प्रतिवादी बनाएर मुद्धा चलायो । 

हिजोदेखि देउलाको बयान सुरु भएको र अहिले पनि जारी रहेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘अस्ति मुद्धा दर्ता भएको थियो, हिजोदेखि न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलाशमा बयान जारी छ, साँझसम्म सकिन्छ कि ।’ 

काठमाडौँको बूढानिलकण्ठ र लगनखेलमा घर भएका देउला धनी बाबुका छोरा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यद्यपि, उनको बाबुको भने कोभिड महामारीमा निधन भइसकेको बताइएको छ । 

देउला ठमेलस्थित सिनेट, ओम्निया, एलओडी, टर्टलजस्ता नाइट क्लबका नियमित ग्राहक रहेको अनुसन्धानकै क्रममा थाहा भएको छ । उनले ती क्लबहरुमा जाँदा अनुहारमा बुढ्यौली नकाब लगाएर पैसा उडाएको फोटो-भिडियो अहिले पनि समाजिक सञ्जालमा छरपष्ट देखिन्छ । 

प्रहरीका अनुसार क्लबमा आउने युवतीहरुलाई ‘सुगर ड्याडी’ बाट परिचित गराउने उनले युवतीहरुलाई महंगा मदिरा अफर गर्ने र नशामा लठ्ठीएपछि गाडीमा राखेर घर लैजाने गरेका थिए । 

आधा दर्जन युवतीले देउलामाथि यौन शोषण र ज्यानबन्धकको आरोप लगाएका छन् । तर, प्रहरीमा भने दुई युवा र एक युवतीले मात्र जाहेरी दिएको उजुरी दिएको बुझिएको छ । देउलासँग डराएर अरु युवतीहरुले जाहेरी दिन नदिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस सम्बन्धमा प्रहरीले देउलाबाट पीडित भएकाहरुलाई निर्धक्क उजुरी दिन आह्वानसमेत गरेको थियो । 

उजुरी दर्ता गराएकी एक युवतीले सिनेट क्लबबाट आफूसहित तीन जनालाई घरमा लगेर देउलाले टर्चर दिएको बताएकी छन् । एक मिडियासँगको कुराकानीमा उनले भनेकी छन्, ‘हामी तीन जना थियौँ र पनि हामीले केही गर्न सकेनौँ । तिमीहरुको औँला काट्ने कि आइरनले पोल्ने भनेर सोध्यो । उसको हर्कत पूरा पागलजस्तो थियो । हामीले डराएर औँला नकाट्नुस्, बरु पोल्नुस् भन्न बाध्य भयौँ ।’

त्यस्तै, उजुरी दिने अर्का युवकले पनि दुवै हात बाँधेर पानी तताउने विद्युतीयले रडले पोल्दै यातना दिएको बताएका छन् । 

रोचक के भने, देउलाले प्रहरीसँग एउटा अनौठो बयान दिएका छन् । भनेका छन्, ‘बैंकबाट ऋण लिएको पैसा उडाएर भिडियो बनाएको हुँ, त्यो मेरो सोख हो ।’ 

त्यस्तै उनले युवकहरुलाई यातना दिएको सम्बन्धमा पनि बयान दिएका छन्, ‘मलाई केटीको केशमा फसाइदिन्छु भनेर धम्की दिएपछि बदला लिन फलामको अइरन तताएर ढाडमा डामेका हुँ !’

टिप्पणीहरू