रातारात कायापलट हुनुको यस्तो छ रहस्य
श्रीलंकामा शनिवार सम्पन्न निर्वाचन कम्युनिष्ट नेता अनुरा कुमारा दिसानायकेले जितेका छन् । संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उक्त मुलुकमा निर्वाचनअघिको प्रचारप्रसारमा अनुराको चर्चा एक्कासि चुलिए पनि, उनले नै निर्वाचन जित्छन् भनेर कसैले सोचेका थिएनन्, नत्र आइएमएफलगायत पश्चिमा संगठन र मुलुक उनलाई जित्न नदिन पक्कै सक्रिय हुने थिए । त्यसो त आइएमएफकै कारण संकट भोग्न विवश मुलुकलाई उकास्न अनुरा आफैँले निर्वाचन प्रचारप्रसारको दौरान उक्त संगठनसित वार्ता गर्ने बताएका थिए ।
५५ वर्षीय अनुराले जितेर राष्ट्रपतिको शपथसमेत लिइसकेका छन् । तर, उनका लागि सत्ता फलामको च्युरा चपाएजस्तै हुनेमा कुनै शंका छैन । किनभने उनी यस्तो मुलुकको राष्ट्राध्यक्ष र सरकार प्रमुख बनेका छन् जहाँको सबै क्षेत्र संकटले घेरिएको छ, राजनीतिक, आर्थिक, सामाजिक क्षेत्र भताभुंग छ । र, जनआकांक्षा ठूलो छ अर्थतन्त्रको मेरुदण्ड बनेको र कोरोनाको कारण ध्वस्तप्रायः पर्यटन क्षेत्रलाई पुनः गतिशील बनाउने अर्को चुनौती छ । आकाश छोइसकेको बजारभाउलाई सही ट्र्याकमा ल्याउन पनि त्यति सजिलो छैन । चरम अवस्थामा पुगेको बेरोजगारी समस्या चाहेर पनि तुरुन्त समाधान गर्न सकिन्न ।
सबैभन्दा ठूलो समस्या भनेको संसदमा अनुराले नेतृत्व गरेको राजनीतिक दलको उपस्थिति हो । २२५ सदस्यीय संसदमा जनता विमुक्ति पेरामुना (जनमुक्ति मोर्चा)का जम्माजम्मी ३ सदस्य छन् । त्यसैले संसदीय निर्वाचन जितेर आफ्नै पार्टीको सरकार बनाउँछु भन्नलाई पनि १ वर्ष पर्खनुपर्ने हुन्छ । किनभने संसदीय निर्वाचन अर्को वर्षको अगस्त २० मा मात्र हुन गइरहेको छ ।
राष्ट्रपतिमा निर्वाचित माक्र्सवादी–लेनिनवादी अनुरा त्यो राजनीतिक दलको सर्वोच्च नेता हुन्, जुन दलको राजनीतिक धार उग्रवामपन्थ थियो, सशस्त्र संघर्ष र शहरी छापामार युद्धद्वारा सत्ता कब्जा गर्ने लक्ष्य थियो । सिंहली राष्ट्रवादको पक्षधर थियो । तमिल विद्रोह दबाउन आफूहरूले बुर्जुवाको बिल्ला लगाउने गरेको सरकारलाई सघाउनसमेत पुगेको थियो । उसले सन् १९७१ र सन् १९८७ –१९८९ मा असफल सशस्त्र विद्रोह गरिसकेको छ । पहिलो सशस्त्र संघर्षमा ५ हजार र दोस्रोमा करिब ६० हजारको ज्यान गयो ।
दोस्रो प्रयासमा ‘श्रीलंकाली स्टालिन’ कहलिएका सर्वोच्च नेता रोहना बिजेवीरालगायत नेता मारिए । पहिलो विद्रोहलाई चीन र उत्तर कोरियाले सघाएका थिए भने विद्रोह दबाउन सरकारलाई भारत, पाकिस्तान र तत्कालीन सोभियतसंघले साथ दिएका थिए । दोस्रोे विद्रोहमा पनि सरकारका पछाडि भारतीय सेना थियो । दुबै विद्रोह असफलतामा टुंगिएपछि बल्ल उक्त दलले शान्तिपूर्ण बाटो समात्यो । निर्वाचनमा भाग लिने नीति बनायो ।
त्यसो त सन् १९७१ को विद्रोहपछि सन् १९८२ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा स्वयं बिजेविरा उम्मेदवार बनेका थिए तर उनले ४ दशमलव १९ प्रतिशत मत मात्र पाए । सन् १९९४, १९९९ मा पनि दलले उम्मेदवार उठाएको थियो । गत शनिबार सम्पन्न निर्वाचनमा सफलता हासिल गरेका अनुरा स्वयं पनि सन् २०१९ र सन् २०२२ को निर्वाचनमा उठेका थिए । सन् २०१९ मा ३ दशमलव १६ प्रतिशत मत पाएका उनले ३ वर्षपछि सम्पन्न अर्को निर्वाचनमा प्राप्त मत घटेर १ दशमलव ३७ प्रतिशतमा सीमित हुन पुगेको थियो ।
बिजेविराको हत्यापश्चात् पार्टी नेतृत्व सेल्लापेरुमार्गे फर्नाण्डोले सम्हाले तर उनको हत्या पनि नेतृत्वमा पुगेको डेढ महिनापछि नै भयो । उनीपछि ललिथ बिजेरत्ने नेता बने । उनी पनि पक्राउ परे र मारिए । फर्नाण्डो र ललिथ दुबैजना सन् १९८७ – ८९ को विद्रोहका सैनिक नेता थिए । सन् १९९० मा सोमावास्ना अमरसिंघे पार्टी नेता बने । उनले २४ वर्ष चलाए । सन् २०१४ को फेब्रुअरीमा सम्पन्न १७ औं महाधिवेशनले बल्ल अनुरालाई नेतृत्वमा ल्यायो । अनुरा विद्यार्थीकालमै जेभिपीको राजनीतिमा लागेका थिए, जतिबेला उनी १९ वर्षका थिए । सन् १९९५ मा पोलिटब्युरो सदस्य बने भने सन् २००० मा सांसद । १ वर्ष कृषि र सिञ्चाइ मन्त्री पनि रहे ।
बिगतका २ निर्वाचनमा अनुराले प्राप्त गरेको मतको आधारमा भन्ने हो भने न जेभिपी न अनुरालाई नै जनसमर्थन मिलेको देखिन्छ । त्यो बेला परिस्थिति अहिलेको जस्तो बिग्रिसकेको थिएन । जताततै फ्रिडम पार्टी र युनाइटेड नेशनल पार्टीको दबदबा चल्थ्यो । आर्थिक संकट सन् २०१९ पछि नै देखापरिसकेको थियो । तर २०२२ पुग्दानपुग्दै स्थिति भयावह बन्यो । सरकार र राजनीतिक दलप्रति जनताको असन्तुष्टि चरमावस्थामा पुग्यो र जनता राष्ट्रपति भवन घेर्न अग्रसर भए ।
राष्ट्रपति देशबाट भाग्न विवश बने । चरम आर्थिक संकट, बेरोजगारी, महँगीले आकाश छोइसकेको परिस्थितिमा गत शनिबार निर्वाचन सम्पन्न भएको हो । त्यहाँका जनतालाई ती संकटबाट मुक्ति पाउने कुनै उपाय सुझिराखेको थिएन । ७६ वर्षदेखि शासन गर्दै आइरहेका प्रमुख दुइटा दलप्रति जनताको विश्वास पूर्णतः टुटिसकेको थियो । उनीहरूको आँखामा सबै नेता घृणाका पात्र थिए । उनीहरू देशमा चामत्कारिक नेताको उदय होस्, उसैले मुलुकलाई हाँकोस् भन्ने चाहन्थे । यस्तैमा उनीहरूले अन्य उम्मेदवारको तुलनामा अनुरालाई उपयुक्त पात्र ठाने र जिताए । उनी स–साना २१ दल सम्मिलित ‘राष्ट्रिय जनशक्ति मोर्चा’ बाट उठेका थिए ।
उनले आर्थिक संकट र बेरोजगारीलाई थोरै मात्र घटाउन सके, आकाश छोइसकेको महँगीलाई अलिकति मात्र भए पनि ठीक ठाउँमा ल्याउन सके मात्रै पनि सफल राजनेता हुने देखिन्छ । भ्रष्टाचारकै कारण मुलुक यो अवस्थामा पुगेको हो भन्ठानिरहेका जनताले निर्वाचनको क्रममा उनले उरालेको भ्रष्टाचारविरुद्धको नारालाई साथ दिए । सत्तामा पुगेपछि यो अभियानलाई कसरी साकार पार्ने हुन्, यसमा पनि उनको भविष्य निर्भर छ । उनले आइएमएफसित सहकार्य गर्ने त भनेका छन् तर यसमा पार्टीका अन्य नेता–कार्यकर्ता नै बाधक बन्न सक्छन् । किनभने अहिलेसम्म उक्त पार्टीले आइएमएफको हस्तक्षेपलाई चर्को विरोध गर्दै आइरहेको छ । अहिलेको अवस्थामा आइपुग्दासम्म पनि श्रीलंकाको राजनीतिमा अनुराको दल जेभिपीको अवस्था नाजुक छ । संसदको सबैभन्दा सानो दल त हो नै त्यसबाहेक पनि ४५५ सदस्यीय प्रदेशसभामा १५ जना र ८,३५६ सदस्यीय स्थानीय निकायमा ४३६ सदस्य मात्र छन् । मोर्चामा सम्मिलित अरू दलको त कतै प्रतिनिधिसम्म पनि छैनन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू