मन्त्री सवार हेलिकोप्टर चौतारामा, विकट बस्तीमा पीडितहरुको बेहाल

मन्त्री सवार हेलिकोप्टर चौतारामा, विकट बस्तीमा पीडितहरुको बेहाल

असोज १२ गतेको पहिरोमा पुरिएर सिन्धुपाल्चोक जिल्लाको विकट जुगल गाउँपालिका– कुनेगाउँका दुई जना हालसम्म बेपत्ता छन् । पहिरोले चार जना बगाएकोमा १७ गते दुई जनाको शव फेला परेको छ, बाँकी भेटिएका छैनन् । 

सोही दिन भोटेकोसीमा आएको बाढीले भोटेकोसी गाउँपालिकास्थित लार्चामा रहेको बेलिब्रिज र कोदारीको पक्की पुल बगायो । यसबाट दशैँको मुखमा स्थानीयले नसोचेको सकस झेल्नुपरेको छ । 

चीनसँगको नाका जोड्ने दुई वटा पुल बगाएकै कारण सडक अवरुद्ध हुँदा चाडपर्वलक्षित नौ सयभन्दा बढी मालबाहक कन्टेनर अलपत्र छन् । केही कन्टेनर नेपाली भूमिमा र कतिपय चिनियाँ भूभागमा रोकिएको अवस्था छ ।

बाढी, पहिरो र डुबानले मुलुकभर झण्डै साढे दुई सयले ज्यान गुमाएका छन् भने कयौँ बेपत्ता छन् । अर्बौँको भौतिक सम्पत्तिको क्षति गरेको छ । सरकारले काठमाडौँ उपत्यकासहित १२ जिल्लाका ४३ स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीमध्ये बाढी पहिरोबाट बढी धनजनको क्षति भएको जिल्लामध्ये सिन्धुपाल्चोक एक हो । 

तर, प्राकृतिक प्रकोपको चपेटामा परेको सिन्धुपाल्चोकका प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि हेलिकोप्टर लिएर आज गएको सरकारी टोली परैबाट फर्किएको छ । पहिरोले ध्वस्त गाउँबस्ती निरीक्षण गर्न पुगेको गृहमन्त्री रमेश लेखकसहितको जम्बो टोली सदरमुकाम चौताराबाटै फर्किएको हो । 

टोलीमा गृहमन्त्री लेखक, रक्षामन्त्री मानवीर राई, भौतिक यातायातमन्त्री देवेन्द्र दाहाल, प्रधानसेनापति लगायत सहभागी थिए । तर, न पहिरोमा परी पाँचजनाको ज्यान गएको लिसंखुपाखर पुगे । न कुनेगाउँ जाने चासो देखाए ! पुल बगाएर आक्रान्त बनेको भोटेकोसीसम्म पनि गएनन् । 

हेलिकोप्टर सदरमुकाम चौतारामा बिसाएर त्यतै रोकिएको सरकारी टोली जिल्ला विपत् व्यवस्थापन समितिले राखेको बैठक सम्बोधन गरेर फर्कियो ।

काठमाडौँ फर्कनुअघि गृहमन्त्री लेखकले बैठकमा सम्बोधन गर्दै बेपत्ताको खोजीमा सरकार गम्भीर भएर लागिपरेको बताए । चौतारा पुगेर दुई जना नागरिक बेपत्ता भएको कुनेगाउँ टेक्ने जाँगरसम्म नदेखाएका उनले सरकार सक्रिय रहेको भाषण गरेका थिए ।

बेलिब्रिज बगाएपछि भोटेकासीबासीको जनजीवन बेहाल भएको छ । तर, भौतिक यातायातमान्त्री दाहालले भारतले २० वटा बेलिब्रिज दिन लागेकाले प्राथमिकताको आधारमा बाँड्ने भन्दै बेमौसमी गफ छाँटे । रक्षामन्त्री राईले विपत्मा सेनाले राम्रो काम गरेकोमा प्रशंसा गरे ।

प्राकृतिक प्रकोपले वर्षेनी आक्रान्त सिन्धुपाल्चोकमा गाउँबस्ती डुबिसकेपछि, घरखेत बगाएर विल्लिबाँठ भइसकेपछि भिआपीहरुको बेअर्थी लर्को लाग्ने गरेको यो पहिलो पटक होइन । यसअघि पनि विपदग्रस्त क्षेत्रको निरीक्षणका नाममा भीआइपीहरु हेलिकोप्टरमा घुम्ने गरेकै हुन् । तर, निरीक्षणका नाममा हुने त्यस्ता भ्रमण उपलब्धिमूलक नहुँदा पीडितले थप पीडा महशुस गर्ने गरेको बुझाई स्थानीयको छ । 

यता, बाढीपहिरो गएको १० दिनपछि विपदग्रस्त क्षेत्र निरीक्षण भन्दै  सिन्धुपाल्चोक आइपुगेका भीआइपी टोलीसँग स्थानीय राजनीतिक दलका नेताहरुले रोष प्रकट गरेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुलीले यत्रो दिनसम्म निरीक्षणमा नआएको भन्दै गृहमन्त्रीप्रति आक्रोश जनाए । 

राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुले सिंगो जिल्लालाई नै विपदग्रस्त क्षेत्र घोषणा गर्न माग गरे पनि गृहमन्त्री लेखकले भने त्यसो गर्न नमिल्ने बताएका छन् । जिल्लालाई विपदग्रस्त क्षेत्र तोक्न नमिल्ने भन्दै उनले कुन पालिकालाई घोषणा गर्नु पर्ने हो छानेर सिफारिस पठाउन आग्रह गरे ।

असोज १२ गतेको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा १० जनाले ज्यान गुमाउनका साथै दुई जना बेपत्ता भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । बाढी पहिरोले जिल्लाको मुख्य सडकका विभिन्न ४८ ठाउँ अवरुद्ध र भित्री सडकहरु अधिकाँश ठप्प थिए । अधिकाँश ठाउँमा पहिरो पन्छाइएकाले अहिले यातायात सुचारु भएको छ । 

तर, दुइवटा पुल बगाएका कारण भोटेकोसी गाउँपालिका मात्र नभएर चीनसँगको तातोपानी नाकासमेत पूर्णरुपमा प्रभावित छ ।

टिप्पणीहरू