कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय

कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय

-अलेक्जेण्डर दुगिन

रूसी सुरक्षा परिषदको स्थायी समितिको हालैको बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको आणविक सिद्धान्त ‘आणविक प्रतिरोधको क्षेत्रमा राज्य नीतिका आधारहरू’ मा संशोधनको घोषणा गरेका छन् । यसलाई निकै महत्वपूर्ण घटनाको रुपमा लिइएको छ ।

घोषणामा सबैभन्दा महत्वपूर्ण पक्षको रुपमा आणविक सिद्धान्तमा केही नयाँ कुरा समावेश गरिएको छ । कुनै पनि गैरआणविक राष्ट्रद्वारा रूसमाथि गरिने आक्रमणलाई अर्को आणविक राष्ट्रद्वारा समर्थन गरिएमा त्यसलाई रूसी संघमाथिको संयुक्त आक्रमण मानिने घोषणाको महत्वपूर्ण पक्ष हो । 

रुसी सार्वभौमको निम्ति यसलाई एउटा आधारभूत बुँदाको रुपमा लिइन्छ । यसको अर्थ रुसी राष्ट्रपतिले सर्वोच्च कमाण्डर–इन–चीफको रूपमा परमाणु हतियार प्रयोग गर्ने अधिकार मात्रै कायम राख्दैनन् भन्ने हुन्छ । परमाणु शक्ति नभएको राज्यले परमाणु शक्ति भएको राज्यको समर्थनमा आक्रमण गरेमा राष्ट्रपतिले केवल परमाणु प्रतिरोधको पूर्ण तर्कबमोजिम जवाफ दिने अधिकार मात्र नराखेर राष्ट्रपतिलाई त्यसो गर्न बाध्यकारी बनाउने अवस्था सिर्जना हुने छ ।

अब, विचार गरौं : के यो भविष्यको बारेमा हो वा वर्तमानका लागि ? पछिल्लो समय रुसको कुर्स्क क्षेत्रमा प्रत्यक्ष आक्रमण भएको छ । एउटा गैर–परमाणु, शत्रुतापूर्ण युक्रेनको आक्रमण, जसलाई आणविक राज्यको समर्थन र प्रत्यक्ष सहायता प्राप्त छ । यसले नाटो, संयुक्त राज्य अमेरिका र युक्रेनद्वारा रुस महासंघविरुद्ध संयुक्त आक्रमणलाई जनाउँछ ।

अर्कोतर्फ स्वाभाविक रूपमा, सोही समयमा, चार अन्य इकाईले रुससँग पुनः एकता गरेका छन् । जसमाथि युक्रेन आक्रमण गर्दैछ । तथापि, कुर्स्क क्षेत्रको मामिलामा रुससँग अब नाटोसँग युद्धमा जाने अधिकार मात्र होइन, दायित्व पनि आएको छ । यही कुरो बेलारुसको क्षेत्रीय अखण्डतामाथि कुनै पनि हस्तक्षेपको सन्दर्भमा पनि लागू हुने निश्चित छ । बेलारुस रुसी राज्यको रणनीतिक साझेदार हो ।

रुसी राष्ट्रपति पुटिनले भनेका थिए :

‘म फेरि दोहोर्याउँछु, यो निकै गम्भीर छ । वास्तवमा, हामी आफैंलाई यस्तो स्थितिमा राखेका छौं जहाँहाम्रो लागि युद्धमा प्रवेश गर्नु अपरिहार्य छ । अनि कुनै दिन आउनसक्ने काल्पनिक परिस्थितिहरूमा होइन, यस्तो अवस्थामा जुन पहिले नै सबैलाई ज्ञात भइसकेको छ । 

त्यसकारण, आज, आणविक प्रलयलाई रोक्नका लागि, अर्थात् रुस र नेटोबीचको प्रत्यक्ष आणविक द्वन्द्वलाई रोक्न एउटा मात्र समाधानकोउपाय छ । त्यो कुर्स्क क्षेत्रबाट युक्रेनी सेना तुरुन्त फिर्ता गर्नु हो । यो तत्काल हुनुपर्छ किनभने त्यहाँ युक्रेनको निरन्तर उपस्थितिले, अमेरिकी र नेटोको समर्थनको निरन्तरतासँगै, आणविक युद्धको अपरिहार्य सुरुवात भएको अर्थ लागेको छ । हामीले यस्तो निर्णयमात्र गरेका छैनौं, हामीले हाम्रो आणविक सिद्धान्तमा नै यस्ता संशोधनहरू अवलम्बन वा अंगीकार गरेका छौं ।

अवश्य, अब धेरैले यस कठोरतालाई सहज बनाउन कोशिस गर्नेछन् । तर सार यो हो कि अब यो केवल ‘लक्षमण रेखाहरू’ मात्र होइन यो अझ प्रभावकारी रूपमा आणविक प्रलयको निर्णय हो । अन्य कुनै पनि कागजातमा राष्ट्रिय सुरक्षा रणनीति सहित, संशोधनहरू फरक रूपमा व्याख्या हुन सक्छ । तर जब हाम्रो आणविक सिद्धान्तमा यस्तो धारा अपनाइन्छ भने अब हामीसँग अन्य कुनै विकल्प बाँकी रहँदैन ।

यो एक अत्यन्तै गम्भीर कदम हो र अत्यन्त महत्वपूर्ण र गम्भीर दस्तावेज पनि । हिजो जुन घटना भएको छ सम्भवतः इतिहासमा एक निर्णायक मोड हो । किनभने, वर्तमान परिस्थितिमा, अब, हामी नेटोसँगको प्रत्यक्ष संघर्षलाई टार्न सक्दैनौं ।

अनुवादक : मोहनप्रसाद ज्ञवाली ।

टिप्पणीहरू