दक्षिण सुडानमा पुनः मडारिँदै अस्थिरताको कालो बादल

दक्षिण सुडानको पछिल्लो राजनीतिक र सुरक्षा स्थिति अत्यन्तै जटिल र चिन्ताजनक बन्दै गएको छ । सन् २०१८ मा भएको शान्ति सम्झौतापछि केही स्थिरता देखिए पनि पछिल्ला घटनाक्रमले अफ्रिकी मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने संकेत देखिन थालेको छ ।
राजनीतिक तनाव र गिरफ्तारी :
यो वर्षको मार्च महिना लागेपछि राष्ट्रपति साल्भा कीर र उपराष्ट्रपति रिएक मचारबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ । राष्ट्रपति कीरका समर्थक सेनाले उपराष्ट्रपति मचारको निवासलाई घेराबन्दी गर्दै उनका निकट सहयोगीहरूलाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरुमा सेनाका उपप्रमुख जनरल गाब्रिएल डुओप लाम र पेट्रोलियममन्त्री पुओट काङ चोलसम्म छन् । यो गिरफ्तारीले २०१८ को शान्ति सम्झौतामा गम्भीर असर पार्ने देखिएपछि स्थानीयले चिन्ता व्यक्त गरेका हुन् ।
बिग्रँदो सुरक्षा र हिंसात्मक झडप :
देशको उत्तरी क्षेत्रमा रहेको नासिर सहरमा सरकारी सेनाहरू र ह्वाइट आर्मी नामक मिलिसियाबीच हिंसात्मक झडपहरू भइरहेका छन् । यस क्रममा संयुक्त राष्ट्रसंघको हेलिकप्टरमाथि आक्रमण हुँदा दक्षिण सुडानी सेनाका एक जर्नेल र दर्जनौँ सैनिकहरूको मृत्यु भएको छ । यी घटनाले देशको सुरक्षा स्थितिलाई थप जटिल बनाएको छ ।
छिमेकी देशहरूको संलग्नता :
दक्षिण सुडानको अस्थिरताले छिमेकी देशहरूलाई पनि चासो बढाएको छ । युगाण्डाले राष्ट्रपति साल्भा कीरको सरकारलाई सुरक्षा प्रदान गर्न विशेष सेना तैनाथ गरेको छ । युगाण्डाको उक्त कदमले दक्षिण सुडानमा पुनः गृहयुद्ध भड्किने डरलाई झनै बढाएको छ ।
मानवीय संकट र विस्थापन :
सुडानमा जारी द्वन्द्वका कारण १० लाखभन्दा बढी मानिस दक्षिण सुडानमा शरण लिन बाध्य भएका हुन् । यसले दक्षिण सुडानमा स्वास्थ्य सेवा, पानी, र आश्रय जस्ता स्रोतहरूमा गम्भीर दबाब परेको छ । संयुक्त राष्ट्रसंघले उक्त मानवीय संकटलाई सम्बोधन गर्न थप सहयोगको आह्वान गरेको छ । तर, आह्वानको उपयुक्त स्रोत फेला परिसकेको छैन ।
अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया :
संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले दक्षिण सुडानको स्थितिमा गम्भीर चिन्ता व्यक्त गर्दै नेताहरूलाई शान्ति प्रक्रियामा पुनः केन्द्रित हुन आह्वान गरेको छ । आयोगका अध्यक्ष यास्मिन सुकाले देशको पछिल्लो अवस्थालाई “चिन्ताजनक प्रतिगमन’ को रूपमा व्याख्या गरेकी छन्।
निष्कर्ष :
दक्षिण सुडानको वर्तमान राजनैतिक र सुरक्षास्थिति अत्यन्तै संवेदनशील छ । नेताहरूबीच बढ्दो अविश्वास, सुरक्षा चुनौती, छिमेकी देशहरूको अस्वभाविक संलग्नता र मानवीय संकटले देशलाई पुनः गृहयुद्धतर्फ धकेल्ने खतरा बढाएको अनुमान गर्न थालिएको छ । यस्तो अवस्थामा, सबै पक्षले संयम अपनाउँदै शान्ति प्रक्रियालाई पुनः सशक्त बनाउनतर्फ ध्यान दिनु आवश्यक रहेको बताइन्छ ।
- श्रीदीप धिताल ।
टिप्पणीहरू