चैत १५ को ताण्डवले दिएको सन्देश

चैत १५ को ताण्डवले दिएको सन्देश

चैत १५ गतेको विध्वंशमा सुरक्षा कमजोरी भएकै हो ? यो प्रश्न सोध्दा उच्च अधिकारीहरू भन्छन्, ‘फोर्स बाँड्नुपर्‍यो, त्यसैले नियन्त्रण गर्न सकिएन ।’ ठूलो संख्यामा प्रदर्शनकारी थिएनन् । तथापि उनीहरूले निकै ठूलो क्षति पुर्‍याए, लुटपाट गरे । आगजनी गर्न सफल भए । किन उनीहरूलाई बेलैमा नियन्त्रण गर्न सकिएन त ? तिनै अधिकारी जवाफ दिन्छन्, ‘दुर्गा प्रसाइँका मान्छेहरू धेरै थिएनन् । समाजवादी मोर्चाको तर्फ भने निकै नै ठूलो संख्या उपस्थित थियो । त्यसैले आफ्नो संख्या देखेर हौसिएका विप्लवसहित सम्मिलित कम्युनिष्ट घटकहरू राजावादीसँग भिड्न जान्छन् कि भन्ने आशंकाले त्यतातिर फोर्स केन्द्रित गरियो । तर यता राजावादीहरू उनीहरू आफै अराजक बने ।’ सुरक्षा निकायले समाजवादी मोर्चाको सभामा १७÷१८ हजारको उपस्थिति रहेको र अराजकतावादीतर्फ भने सात आठ हजारको हाराहारीमा मानिसहरू सहभागी बनेको आंकलन गरेको छ । यसै विषयमा सरकारले भने आफूहरूले यसखाले अराजकताको अनुमान नै नगरिएको प्रष्टोक्ति दिइसकेको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई सुरक्षाकर्मीहरूको साथ हुने र विशेषगरी सेनाले समर्थन गर्ने कतिपयले हल्लामा विश्वास गरिरहेका बेला सुरक्षा निकायका एक उच्च अधिकारीले चाहिँ भिन्नै धारणा राखेका छन्, । उनले जनआस्थासँग भने, ‘ज्ञानेन्द्रको बुद्धि पहिले जस्तो थियो अहिले पनि त्यस्तै रहेछ । नत्र दुर्गा प्रसाइँजस्तो अराजकलाई कमाण्डर बनाएर फेरि दरबारमा फर्कने सपना कसैले देख्छ ?’ हुन पनि अराजकता कुन हदसम्म थियो भने उनीहरूले आगो लगाएको भवनमा आगो निभाउन दमकल जाँदा दमकल नै तोडफोड गरे । समयमै आगो निभाउन नसक्दा पत्रकार सुरेश रजक त्यसभित्र जलेर मर्न बाध्य बने ।

सडकमा तैनाथ प्रहरीतर्फ सिधै गाडी हुइँक्याउँदै अघि बढेका दुर्गा प्रसाइँलाई नियन्त्रण नगर्नुमा पनि प्रहरीको आफ्नै तर्क छ । उनीहरूको भनाइअनुसार यदि त्यसबेला दुर्गा प्रसाइँलाई गिरफ्तार गरेको भए भीड अझ बढी अनियन्त्रित र उद्दण्ड बन्न सक्थ्यो । उनीहरूले के पनि तर्क गर्न सक्थे भने शान्तिपूर्ण राजनीति गर्न र भेला हुन दिइएन । त्यसैले निषेधित क्षेत्रतर्फ अघि बढ्ने क्रममा उनले पहिलो घेरा तोड्दासमेत प्रहरीले संयमता अपनाइरह्यो । यहाँसम्म कि उनी चढेको गाडीको टायरमा गोली हान्न सकिन्थ्यो । प्रहरीले त्योसमेत गरेन । यसबाट प्रहरी र सरकारलाई उनीविरुद्ध दर्जनौं मुद्दा चलाउने अवसर मिलेको छ । त्यो दिन एउटा ठूलै दुर्घटना त भयो तर सरकारलाई भने केही दिनका लागि हाइसञ्चो मिलेको छ । किनकि अराजकता र उद्दण्डतालाई उक्साउने राप्रपाका दुई नेता धवलशमशेर र रवीन्द्र मिश्र प्रहरी हिरासतमा छन् । त्यसैगरी दुर्गा प्रसाइँ भागेर पारि पुगेको अनुमान छ ।

उता सशस्त्र प्रहरीको भने छुट्टै व्यथा छ । एक उच्च अधिकारीका अनुसार त्यसबेला कवि हृदयका उपत्यका प्रहरी प्रमुख सिसिटिभीमा बानेश्वरतिर के हुँदैछ भन्ने फुटेज हेरेर बसेका थिए । यता प्रहरीको काठमाडौं इञ्चार्जचाहिँ केही भिडियो क्लिप सामाजिक सञ्जालमा पोस्ट गर्दैमा व्यस्त थिए । दुर्गा प्रसाइँलाई पहिलो चरणमै रोक्न पर्नेमा प्रहरीले त्यो नगरेको कतिपय अधिकारीको भनाइ छ । भन्छन्, ‘यदि दुईटा कार्यक्रम एकै दिन थिएन भने सुरक्षाकर्मीहरूले आफ्नो बललाई एकैतिर केन्द्रित गर्न सक्थे र भीड जतिसुकै अराजक भए पनि सहजै नियन्त्रण हुन सक्थ्यो । सुरक्षाकर्मीहरूका अनुसार समाजवादी मोर्चाले इगो प्रदर्शन गर्दै त्यही दिन कार्यक्रम आयोजना गर्नु पनि क्षतिको एउटा कारण हो ।’

सुरक्षा निकायहरूको अन्तिम विश्लेषण के छ भने जे–जस्तो क्षति भए पनि चैत १५ गतेको घटनाका कारण राजावादीहरूको बन्दै गएको इमेजमा निकै ठूलो धब्बा लागेको छ । उनीहरू रक्षात्मक बनेका छन् र केही समयका लागि लोकप्रियता खस्किन पुगेको छ । दुर्गा प्रसाइँ, नवराज सुवेदीहरूले पनि समाजवादी मोर्चाको झैँ भद्र सभा गरेका थिए भने धेरैले राजावादीको सभा ठूलो भन्दै तारिफ गर्थे ।

टिप्पणीहरू