मरिचमानको जिल्लामा राजावादीको अवस्था

– तिलक मल्ल (क्षितिज)
कर्णाली प्रदेशको सुगम जिल्ला (साविक राप्ती अञ्चलको) सल्यान पूर्वप्रधानमन्त्री मरिचमान सिंहको जिल्ला भनेर पनि चिनिन्छ । ऐतिहासिक पृष्ठभूमिको आधारमा यहाँ भुरेटाकुरे राजाहरूले शासन गरेका थिए । फालावाल–खलंगा–माल्नेटा–रोल्पाकोट–गाँडाकोट–ढाकाडाम दार्माकोट–बडागाउँ र सुइकोटमा तिनै राजाहरूका केन्द्र थिए ।
विभिन्न जातजाति, धर्म, संस्कृति रहेको सल्यान सामाजिक सद्भाव र भावनात्मक रूपले केन्द्रिकृत छ । राणाविरोधी आन्दोलनमा पनि सल्यानले महत्वपूर्ण भूमिका खेलेको हो । राजनीतिक परिवर्तनसँगै २०१५ सालमा चर्चित थिए, नेवबहादुर मल्ल । वन सहायक मन्त्री पनि भए । त्यसपछि राजनीतिक फेरबदल र पञ्चायती व्यवस्थामा स्थापित नाम हो, ‘मरिचमान सिंह श्रेष्ठ ।’
उनी सदरमुकामस्थित खलंगा हाई स्कूलको प्रधानाध्यापक थिए । पछि पञ्चायती व्यवस्थाको प्रधानपञ्च हुँदै प्रधानमन्त्री भए । शुरुमा प्रधानपञ्च, राष्ट्रिय पञ्चायत सदस्य, शिक्षामन्त्री, राष्ट्रिय पञ्चायतको अध्यक्ष हुँदै प्रधानमन्त्रीसमेत भए । राजाको विश्वासपात्र मात्र होइन, राष्ट्रवादी नेताको रूपमा समेत चिनिन्थे ।
आफ्नो कार्यकालमा भारतसँगको द्वन्द्व र नाकाबन्दीमा पनि झुकेनन् । सल्यानबाट प्रधानमन्त्री बन्ने एक मात्र व्यक्ति भएकाले सल्यानलाई मरिचमानको नामले समेत चिनिन्छ । पञ्चायती व्यवस्था ढलेसँगै सल्यानमा २०४८ तिर काँग्रेसको दबदबाब रह्यो । वामपन्थी विस्तारै विस्तार हुन थाले । खासगरी माओवादी जनयुद्धको सुरुवातले सल्यानको राजनीतिक मानचित्रमा फेरबदल ल्यायो । तत्कालीन सल्यानका ४७ वटै गाविस र हाल दश पालिकामा जबरजस्त प्रभाव पर्यो । ०६४ को पहिलो संविधान चुनावमा माओवादीले अत्यधिक मत प्राप्त गर्यो । माओवादी टुट, फुट र विभाजनपछि शक्ति सन्तुलनमा फेरबदल भयो । हाल राजनीतिक शक्ति सन्तुलनका दृष्टिकोणले त्रिकोणात्मक टक्कर देखिन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि जनताका आकांक्षा पूरा नभएको सन्दर्भमा बिदा भएको राजतन्त्र र पुराना राजावादी देशभर सल्बलाइरहेको अवस्था छ । ठीक यही सन्दर्भमा मरिचमानको जिल्लामा राजावादीको अवस्था कस्तो छ ? भन्ने प्रश्न चाखलाग्दो विषय छ । हाल दशवटै पालिकामा राजावादी गतिविधि शून्य छ । राप्रपा र कमल थापाको संगठन त देखिएको छ । राप्रपाले संघीय संसदमा समानुपातिकतर्फबाट अनिशा नेपालीलाई लगेको छ । तर, राप्रपा मात्र होइन, कुनै पनि राजावादीले राजा चाहियो भनेर नारा लगाएको, सार्वजनिक बहस गरेको पाइँदैन । लघुवित्त पीडितको नेतृत्व गरेका दुर्गा प्रसाईंको त समर्थकसमेत भेटिँदैन ।
मरिचमानको जिल्लामै राजावादीको प्रभाव कमजोर छ । बरु पछिल्लो समय नेपाली कांग्रेसका रुद्रबहादुर डिसीले काठमाडौंको चोकमा राजावादी नारा लगाएको सामाजिक सञ्जालमा देखिन्छ ।
– लेखक, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।
टिप्पणीहरू