‘संगठित अपराध’ देखि रवि सशंकित

‘संगठित अपराध’ देखि रवि सशंकित

सूर्यदर्शन सहकारीको करोडौँ रकम हिनामिना प्रकरणसम्बन्धी अनुसन्धानका लागि रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी आदेशपछि कास्की प्रहरीको अनुरोधमा रास्वपा सभापति लामिछानेलाई हिजो राति नै काठमाडौंमा पक्रेर पोखरा पुर्याइएको छ ।

त्यसअघि उक्त ठगीको अनुसन्धानमा कास्की प्रहरीलाई सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को एउटा टोली पोखरा पुगेको थियो । लामिछानेका तत्कालीन साझेदार छविलाल जोशीमाथि हिरासतमा राखेर अनुसन्धान जारी रहँदा सिआइबीले इन्स्पेक्टर शेखर थापा र वरिष्ठ सई रवि घिमिरेलाई पोखरा पठाएको थियो । ती दुवै अपराध अनुसन्धानमा काबिल अधिकृतका रुपमा चिनिन्छन् । घिमिरे आर्थिक अपराध अनुसन्धान विज्ञ पनि हुन् । 

यसअघि एआइजी किरण बज्राचार्य सिआइबी प्रमुख भएका बेला पनि यिनैलाई त्यता पठाइएको थियो । उनीहरूले सहकारीको बचत हिनामिनामा रविको संलग्नता पुष्टि हुने निश्कर्षसहितको प्रतिवेदन बुझाएका थिए । तर, त्यतिबेलै सत्ता गठबन्धन बदलिएर रवि स्वयं तालुकदार मन्त्रालयको कुर्सीमा फर्किएपछि प्रतिवेदन त फासफुस हुने नै भयो सिआइबीको नेतृत्वसमेत हेरफेर गरियो । सहकारी प्रकरणको अनुसन्धानमा प्रभावकारी भूमिका खेलेकी बज्राचार्यलाई हेडक्वार्टर तानेर रविको रोजाइमा सिआइबी प्रमुख भएका श्यामलाल ज्ञवालीले ‘रवि जोगाऊ अभियान’ अन्तर्गत प्रतिवेदन नै दम्पच पारिदिए । 

त्यतिबेला प्रतिवेदनबारे सोधखोज हुँदा ज्ञवालीले जिप्रका कास्कीलाई देखाएर पन्छिने गरेका थिए भने आइजीपी वसन्त कुँवरले पनि त्यस्तै भूमिका खेले । कास्कीका एसपी मनोज थापाले पनि भाँजो हाल्ने काम गरेकै हुन् । तर, अहिले श्यामलाल अवकाशमा गइसकेको अवस्था र एसपी थापाको समेत कास्कीबाट सरुवा भएकाले अनुसन्धानमा अप्ठेरो नपर्ने सिआइबी टोलीको विश्वास छ । ‘अहिले जिल्ला प्रहरी कार्यालयका अधिकृत र सरकारी वकिलले नै अनुसन्धान गरिरहेका छन् । हाम्रो काम अनुसन्धानमा आवश्यक टेक्निकल सपोर्ट र विज्ञता प्रदान गर्नेमात्रै हो । त्यसैमा केन्द्रित रहेर काम भैरहेको छ’, सिआइबी स्रोतले भन्यो ।

सहकारी ठगी प्रकरणमा संसदीय विशेष छानविन सामितिबाट दोषी ठहर भई कारवाही सिफारिस गरिएका लामिछानेमाथि अब अनुसन्धान शुरु भएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई, सञ्चालक छविलाल र तत्कालीन प्रवन्ध निर्देशक रविलाई दोषी ठहर गर्दै समितिले विद्यमान कानुनबमोजिम कारवाही गर्न सुझावसहितको प्रतिवेदन बुझाइएको छ । असोज २ गते बसेको क्याबिनेट बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेबमोजिम असोज ६ गते काठमाडौँबाट समातिएका छविलाललाई कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ । उनलाई हिजो पुनः २० दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

यस प्रकरणमा विगतमा जस्तै दोहोरो भूमिका खेलिरहेका रविले एकातिर सहकारी ठगीमा ‘क्लिनचिट’ पाएको प्रचार गर्दै आएका छन् । अर्कोतिर आफू प्रवन्ध निर्देशक रहँदाका बखत गोर्खा मिडिया नेटवर्क प्रालिमा भएको आर्थिक अपचलनको जिम्मा लिने पनि भन्न छाडेका छैनन् । अनुसन्धानमा सघाउन तयार रहेको अभिव्यक्ति दिइरहने अनि आफूलाई फसाउने षड्यन्त्र भइरहेको भन्दै सरकारविरुद्ध चेतावनीको भाषा पनि बोलिरहने उनको दोहोरो मापदण्ड हो । 

छविलाल समातिएलगत्तै हत्तपत्त पार्टी कार्यालयमा कार्यकर्ता भेला पारेर ‘खबरदारी भाषण’ गरेका उनले भोलिपल्ट फेसबुकमा लाइभ बसेर समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । आफ्नो बचाउका लागि यस्तो काइते भाषा बोल्ने रविलाई प्रश्न हुँदै आएको छ– आरोपितलाई नसमातिकन प्रहरीले कसरी अनुसन्धान गर्छ ? 

सत्तासँग बार्गेनिङ गरेर सम्भावित संगठित अपराधको कसूरबाट उम्किने रणनीतिअन्तर्गत रविले यस्तो चालबाजी गर्दै आएको प्रहरीको बुझाई छ । किनभने संगठित अपराधअन्तर्गत मुद्दा चल्यो र उनी दोषी ठहर भए भने वर्षौँ जेल बस्नुपर्ने हुन्छ । तर, सामान्य ठगीको कसूरमा ठगेको पैसा फिर्ता गरेमात्र पुग्छ । 

देशभर सहकारीको नेटवर्क बनाएर ग्यालेक्सी टिभीमा कानुनविपरित पैसा लगिएकाले यो संगठित अपराधअन्तर्गत कसूर स्थापित हुने मुद्दा हो । सूर्य दर्शनलगायत विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको ६५ करोडमध्ये ४० लाखको एउटा चेकमा जिबिले सही गरेको बाहेक सबै रविले नै परिचालन गरेको पुष्टि भैसकेको छ । सहकारीकै पैसाबाट मासिक ६ लाख तलब खाएका उनले ८१ लाख ससुरालीलाई समेत दिएका थिए । 

अर्कोतिर, कम्पनी रजिष्ट्रार कार्यालयमा नक्कली शेयर हस्तान्तरण गरेको र कानुनले चिन्दै नचिनेको ‘स्वेट शेयर’ खरिद–बिक्री गरेकाले रविविरुद्ध किर्ते कसूरमा पनि मुद्दा लाग्ने अवस्था छ । यो सबै स्थितिलाई नजिकबाट बुझेका उनले ‘नैतिक जिम्मेवारी लिन्छु’ भनेर आमसेन्टिमेन्ट आफूतिर लिन र सरकारलाई दबाबमा राख्न खोजेको देखिन्छ । बाहिर चर्का कुरा गरे पनि भित्रभित्र भने यो प्रकरणको सहज ‘सेटलमेन्ट’ गर्न चाहेको आशयमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बसेर कुरा गरौँ, म रुम मिलाउँछु’ भनेर बार्गेनिङ गरिसकेका छन् । 

यता, बुटवलको सुप्रिम सहकारीमा भएको बचत हिनामिनामा पनि रविलाई उम्किन सजिलो देखिँदैन । पूर्वपत्नी इशा श्रेष्ठ र अर्की विदेशी पत्नीपट्टीका सन्तानलाई भरणपोषणको जिम्मा लिएका उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङपुत्र दिपेशमार्फत सुप्रिमको पैसा अमेरिका पठाएका थिए । दिपेशले निकटहरूसँगको अनौपचारिक कुराकानीमा उक्त कुरा खुलाएको कुरा नोटिशमा राखेको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने छ । 

रविले गृहमन्त्री हुँदा निर्मला पन्तका हत्यारा समातिनै लागेको भनी गराएको प्रचार पनि झूठा ठहरिएको छ । यो प्रकरणको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अहिले पुराना फाइल झिकाएर अध्ययन गर्ने काम भैरहेको छ । प्रतिपक्षमा हुँदा सरकारमा गएपछिको पहिलो काम निर्मला हत्या प्रकरणका दोषीलाई कानुनको कठाघरामा उभ्याउने रविको घोषणा थियो । तर,  चार महिना उपप्रधानसहित गृहमन्त्री हुँदा उनले ‘सिन्कोसमेत नभाँचेको’ उनै प्रहरी अधिकारी बताउँछन् ।

त्यसो त, लोकरिझ्याइँको राजनीतिमा विश्वास गर्नेहरू परिणाम हैन प्रचारमा विश्वास गर्छन् । रविले पनि यस्ता अनेक फण्डा गर्दै आएका छन् । जिबी राईबारे प्रश्न उठ्दा ‘छिट्टै थाहा पाउनु हुन्छ’ भनेर पन्छिने गरेका उनले गृहमन्त्रीको कुर्सीमा बसेर ‘लोकेशन पत्ता लाग्यो’ भन्दै गफसमेत दिन भ्याए । मलेसियामा रहेका जिबीलाई छिट्टै नेपाल ल्याउने उनको मीठो भाषण त्यतिबेला सञ्चार माध्यमका हेडलाइन बनेका थिए । तर, जिबीलाई समात्न मलेसिया जाने अनुमति माग्दा उल्टै प्रहरीलाई सहयोग नगरेको भित्री तथ्य बाहिर आयो । रवि गृहमन्त्रीबाट बाहिरिएपछि प्रहरीको एउटा टोली मलेसिया पुगे पनि जिबीलाई समातेर ल्याउन सफल भएन ।
 

टिप्पणीहरू