गाईगोरु तस्करी, मौन प्रहरी

गाईगोरु तस्करी, मौन प्रहरी

कपिलवस्तुमा राष्ट्रिय जनावर गाईको तस्करी नियन्त्रण बाहिर जान थालेको छ । भारतीय सीमा क्षेत्रका विभिन्न नाका हुँदै भित्र्याउने गाईगोरु तस्करी गिरोह यतिबेला कपिलवस्तुमा सक्रिय भएको बताइन्छ । 

पश्चिम नवलपरासी, दाङ, नेपालगञ्जमा गोरु तस्करीमा कडाई गरिएपछि त्यहाँबाट गोरु तस्करी गर्दै आइरहेका गिरोहहरु कपिलवस्तुबाट काम फत्ते गर्न थालेका छन् । सुरक्षा स्रोतका अनुसार रोशन डल्लाकोटी समूह, नुनु मुसलमान, कान्छा लामा, वोसी मुसलमान तथा सन्देश–विपिन समूहले जिल्लाका विभिन्न फरक स्थानबाट गोरु संकलन गरे झापा पुर्याउने गरेको बताइन्छ । 

जिल्लाका कृष्णनगर, विजयनगर, महाराजगञ्जका भारतीय सीमा क्षेत्र, मर्यादापुर, हरदौना, हथिहवा क्षेत्रका सीमानाकाबाट धपाएर गोरुहरु ल्याइन्छ । त्यसपछि यताका रैथाने छाडा गाइगोरु समेत ट्रकमा लोड गरि पठाउने गरिएको पाइएको छ । 

गाइगोरु तस्करीमा नामूद रोशन डल्लाकोटी चितवनका हुन् । उनले कपिलवस्तुमा आफ्ना सहयोगी मदन भट्टराई सहितको समूह बनाई चन्द्रौटाको गड्गौडा, शितलापुर, बाणगंगाको कोठीखोला क्षेत्रबाट गाइगोरु संकलन गरि रातको समयमा निकासी धन्दा चलाउँदै आएका छन् । 

शिवराज क्षेत्रकै स्थानीय नुनु मुसलमानले जवाभारी, शितलापुर क्षेत्रबाट गोरु तस्करी गर्छन् । मकवानपुरका कान्छा लामा समूहले यसअघि बाँके नैरैनापुर तथा दाङको राजपुर क्षेत्रबाट गोरु तस्करी गर्दै आएकोमा हाल कपिलवस्तुको गणेशपुर, चन्द्रौटाको खैरी क्रेशर क्षेत्रमा संकलन तथा लोड गर्न थालेका हुन् । यस्तै वोसी मुसलमान समूहले बहादुरगञ्ज, रुद्रपुर, जवाभारी क्षेत्रबाट गोरु तस्करी गर्दै आएका छन् । सन्देश–विपिनले बुद्धभूमीको प्रेमनगर, तौलिहवाको रामघाट तथा महाराजगञ्जबाट उक्त कार्य जारी राखेका छन् । गाइगोरु तस्करीमा संलग्न यी समूह भदौ यता निकै सक्रिय भएको बताइन्छ । 

तस्करहरुले भारतीय गाइगोरु नेपाल ल्याएर यहाँबाट झापा हुदै बंगलादेशसम्म बिक्रीका लागि पुर्याउने गरेका छन् । तर कपिलवस्तुमा पूर्व–पश्चिम राजमार्गमा तीन वटा र हुलाकीमा पाँच वटा प्रहरी कार्यालय हुँदासमेत यसको रोकथाम तथा नियन्त्रण हुन नसक्नु सबैले आश्चर्य मानेका छन् । सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा तोडेर अवैध कारोबार गरिरहेको गोरु तस्कर नेपाल प्रवेश लगत्तै किसानबाट किनेका कागजपत्र बनाएर, भेटनरी चिकित्सकको क्वारेन्टाइन प्रमापत्र र भिसिटिएस अनलाईन बनाएर गन्तव्य सम्म पुर्याउन सफल हुने गरेका छन् । कतिपय अवस्थामा चेकजाँचमा खटिएका सुरक्षाकर्मी कागजपत्र देखेर छाड्न बाध्य छन् भने कतिपय नदेखे झैँ गरिदिन्छन् ।

जिल्लामा क्रियाशील हिन्दु धर्म संरक्षक संघ संस्थाले प्रहरीकै मिलेमतोमा गाइगोरु तस्करी बढ्ेको दाबी गरेका छन् । एक महिनाअघि कपिलवस्तु प्रहरीका एसपी निरन्जन दत्त भट्ट तथा अधिकांश प्रहरी निरिक्षक फेरिएपछि तस्करको जालो तोडिने उनीहरुको आशामा तुषारापात भएको छ । गत बिहीबार राति स्थानीय हिन्दु युवाहरुको दबाबपछि बहादुरगञ्ज प्रहरीले जवाभारीबाट गोरु लोड गरेर राति २ बजे चन्द्रौटातर्फ जाँदै गरेको ना.६ ख ३०९८ नम्बरको ट्रक नियन्त्रणमा लिइयो तर, गोरु छाडियो । भन्सार तथा राजस्व कार्यालयले गोरु तथा ट्रक जिम्मा लगाउँदा बुझ्न नमान्ने, लिलाम नगरिदिने समस्याले पक्राउ गरेर पनि कानूनी कारबाही गर्न सकिने अवस्था नभएकाले छाड्न बाध्य हुनुपरेको प्रहरी अधिकारीहरुको दुःखेसो छ ।

यसैबीच गएराति गोरु लोड गरेर जाने क्रममा स्थानीय हिन्दू युवा समूहले प्रहरीलाई पक्राउ गर्न दबाब दिएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले जवाभारीबाट ना.५ ख ५२०२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोरु छाडेको छ भने ट्रक चालकलाई नियन्त्रणमा राखिएको छ ।  बरामद ट्रक र गोरु नुनु मुसलमान समूहको रहेको प्रहरी स्रोतले बताएको छ ।

टिप्पणीहरू