माछा देखे दुलाेभित्र हात,सर्प देखे बाहिर हात

माछा देखे दुलाेभित्र हात,सर्प देखे बाहिर हात

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री गए रातिदेखि प्रहरी हिरासतमा छन् । सहकारी ठगी र संगठित अपराधको आरोप लागेका उनलाई हिजो साँझ काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्रेर राति नै पोखरा पुर्याई हिरासतमा राखिएको छ । 

पक्राउअघि प्रहरीले पार्टी कार्यालय घेरेपछि रविले सार्वजनिक गरेको छोटो भिडियो र कार्यालय परिसरको सम्बोधनमा सरकारले आफूसँग प्रतिशोध साँधेको बताएका थिए । जिल्ला अदालत कास्कीको आदेश र कास्की जिल्ला प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जीपछि उनले सरकार र विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली,काँग्रेस महामन्त्री गगन थापामाथि आक्रोश पोखेका हुन् । 

कसैको राजनीति बचाइदिन र दुई तिहाइको सरकार जोगाइदिनका लागि आफूलाई बलि चढाउन लागिएको उनको तर्क थियो । हिजै साँझ सामाजिक सञ्जालमा ‘सरकार मर्यो,हामीलाई जुठो पर्यो’ भनेर लेखेका उनले केही महिनाअघि आफू सरकारमा हुँदा कैलाश सिरोहियालाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि भनेका थिए, ‘सरकारले हैन, अदालतको आदेशमा पक्राउ परेको हो !’

यतिखेर उनी स्वयम् र उनका समर्थकले रविको पक्राउमा अदालत नै बिकेको संज्ञा दिएका छन् । तर, मिडियामा हुँदा रविले ‘नेताले देश बिगारेको’ र आफू नेता भएपछि मिडियाले देश बिगारेको भाष्य बनाएका थिए ।

ठाउँ र परिस्थितिअनुसार बोल्दै आएका उनी यतिखेर आफ्नै वाक पटुताको कारण एकपछि अर्को अप्ठेरोमा परेको स्वतः अनुमान लगाउन सकिन्छ । आफू गृहमन्त्री छँदा भुटानी शरणार्थीलगायत विभिन्न काण्डमा पक्राउ परेकाहरुतर्फ लक्षित गर्दै रविले भनेका थिए, ‘अदालतको आदेश पालना नगर्ने रु’ अहिले आफ्नो पालोमा सरकारले पूर्वाग्रह राखेको अर्थ लगाएका छन् । यसबाट उनलाई मन्त्री मात्रै होइन, उपप्रधानसहितको गृह नै किन चाहिएको रहेछ भन्ने प्रष्ट भएको छ ।

हिजो आफैँले बोलेको कुरोको उल्टो अर्थ लाग्नेगरि आज भन्न थालेपछि धेरैले स्क्रिप्ट पढ्ने अभिनेता र राजनीतिक दलका नेताबीचको विभेद पत्ता लगाएका छन् । हुनतः अभिनेताले अरुले पढेको स्क्रिप्ट पढ्दै अभिनय गर्ने हो । तर, राजनीतिक दलका नेताले यथार्थ र धरातल हेरेर बोल्ने भएकाले ती दुईबीचको तुलना नै हुन सक्दैन । 

रविले आफूलाई सरकारले पूर्वाग्रह राखेर पक्रेको भनेका छन् । तर जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाह गृह मन्त्रालयका कर्मचारी हुन् र ? 

प्रहरीको अनुसन्धान, छानबिन र अभियोजनबमोजिम न्यायाधीशले पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएका हुन् । सोहीबमोजिम प्रहरीले उनलाई पक्राउ पुर्जी जारी जारी गरेको हो ।

तर हठ, झूठ र कुतर्क बोल्नुको पनि सीमा हुन्छ । यसअघि आफ्नै पार्टी सरकारमा छँदा तत्कालीन सभामुख कृष्णबहादुर महरा, मन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पनि पक्राउ परेकै हुन् । तर, उनीहरुको पक्राउमा पार्टीका नेता तथा कार्यकर्ताले रास्वपाले जस्तो रोइलो गरेका थिएनन् । रविको पार्टीले हिजो र जेठ ९ गते प्रकाशित गरेको विज्ञप्तिको भाषाले पनि उनको दोहोरो चरित्रलाई उदाङ्गो बनाइदिएको छ । 

कैलाश सिरोहिया पक्राउ परेपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘विधिको शासनको अर्को सौन्दर्य हो : कानुन भन्दामाथि कोही हुँदैन । जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । कोही कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो ।’ हिजोको विज्ञप्तिमा भनिएको छ, ‘कानुनको छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन ।’

टिप्पणीहरू