अमेरिकामा नयाँ राष्ट्रपतिको छिनोफानो भोलि

अमेरिकामा नयाँ राष्ट्रपतिको छिनोफानो भोलि

विश्व महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरु भएको छ । निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा उत्रिएका छन् । 

विश्वकै पहिलो अर्थतन्त्र भएको शक्तिशाली देशको आगामी चार वर्षको नेतृत्व कसले गर्ला ? अमेरिकाको सत्ता परिवर्तनले प्रत्यक्ष–परोक्ष प्रभाव पार्ने भएकाले विश्वले नै चुनावलाई चासोका साथ हेरिरहेको छ । 

प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’ को सम्मिश्रणका आधारमा निर्वाचित गरिने राष्ट्रपतीय निर्वाचन यसपटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान पछिल्ला मत सर्भेक्षणले देखाएका छन् । केही प्रतिशतको मतान्तरले हार–जित हुने ठानिएको निर्वाचनमा सात राज्यको स्विङ भोट निर्णायक मानिएको छ । अर्थात् ती राज्यमा जसले बढी पाउँछ, उसैले चुनाव जित्ने सम्भावना छ ।

 

अमेरिकामा कूल ५० राज्य छन् । त्यसमध्ये ४३ राज्यको मत कता जान्छ भन्ने लगभग टुंगो लाइसकेको छ । यी राज्यलाई निलो र रातोमा चित्रित गरेर दुई उम्मेदवारको मतको हिसाब किताब भइरहेको छ । 

तर, एरिजोना, जर्जिया, मिसिगन, नेभादा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन राज्यमा कुन उम्मेदवारले बढी मत पाउँछ भन्ने प्रष्ट भइसकेको छैन । ट्रम्प र कमला जसले यहाँ बढी भोट ल्याउँछन् उही राष्ट्रपति हुने निश्चितजस्तै छ ।

यी राज्यमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीले परिणाम आफ्नो पक्षमा पार्न सम्पूर्ण शक्ति खन्याएबाट पनि उक्त कुरा पुष्टि हुन्छ । 

कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका छन् । इलेक्ट्रोल कलेजको ५३८ मध्ये २७० भोट ल्याउनेले निर्वाचनमा विजय हासिल गर्न सक्नेछन् ।

टिप्पणीहरू