सुन व्यवसायीले बेचे नक्कली चाँदीका नोट, ठगिए सर्वसाधारण
चाँदीका नक्कली नोटसहित एकजना सुन व्यवसायी पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित इन्द्र ज्वेलर्सका मालिक स्थानीय ३० वर्षीय सोहिल शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शाक्यले तिहारमा चाँदीको नोट बिक्रीमा भन्दै सामाजिक सञ्जालमा विज्ञापन गरेका थिए । तर, उनले नक्कली नोटमा चाँदीको लेप लगाएर त्यसलाई बाहिरबाट लेमिनेसन गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले हिजो उनलाई प्लास्टिकले लेमिनेसन गरेको चाँदीजस्तो देखिने नक्कली नोटसहित फेला पारेको हो । ती नोट नेपाल राष्ट्र बैंकबाट जारी भएको भान पार्न वा विश्वास दिलाउन राष्ट्र बैंकबाट जारी गर्दा उल्लेख हुने विवरण समेत भरेको पाइएको छ ।
शाक्यको साथबाट एक हजार रुपैयाँ दरको श्री ९९९९ उल्लेख भएको ४८ थान, एसडी ०००००० उल्लेख भएको ४० थान, ट ५६८२१३८३ उल्लेख भएको २५ थानसहित पाँच सय रुपैयाँ दरको श्री ९९९९ उल्लेख भएको २८ थान नक्कली चाँदीका नोट बरामद गरिएकोे छ । उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
टिप्पणीहरू