रविको आज पनि म्याद थप, सिआइबी टोलीमा डिएसपी थप

रविको आज पनि म्याद थप, सिआइबी टोलीमा डिएसपी थप

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिना काण्डको अनुसन्धान गर्न खटिएको प्रहरी टोलीमा एक जना सदस्य थपिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीमा पोखरा बसिसकेका डिएसपी सुन्दर तिवारीलाई थप खटाइएको छ । टोलीमा पहिलेदेखि दुई जना थिए । ती दुबै जना हाल उपत्यका प्रहरी प्रमुख एआइजी किरण बज्राचार्यको पालामा अनुसन्धानमा सहजीकरणका लागि पोखरा महानगरपालिकासङ्ग समन्वय गर्ने हिसाबले  खटिएका थिए । 

टोलीले रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलगायत संलग्न रहेको भनिएको सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुध्दिकरणबारे थप अध्ययन,अनुसन्धान र नयाँ कोणबाट विश्लेषण गरिरहेको बताइन्छ ।

यसैबीच गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने,उपाध्यक्ष छवि जोशीलगायतलाई आज पनि म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा पेश गरिँदै छ । लामिछानेलाई पहिलो पटक असोज ४ गते छ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको थियो । 

त्यसपछि सात दिनको म्याद थपिएका उनलाई गत मंगलबार १० दिन हिरासतमा राख्न भनियो । उक्त १० दिनको म्याद सकिएकाले पुनः म्याद थपको निम्ति आज अदालतमा पेश गर्न लागिएको हो । कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका उनी सोही रातिदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
 

टिप्पणीहरू