रविलाई थप २५ दिन माग्दा कति दिन थुन्न देला अदालतले ?
जिल्ला अदालत कास्की पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागिएको छ । अदालत पुर्याइएका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहितलाई जिल्ला सरकारी वकिल कार्यालय कास्कीले २५ दिन म्याद थपको अनुमति मागेको बुझिएको छ ।
गत मंगलबार १० दिन म्याद थपिएको थियो । राजनीतिमा आउनुअघि रवि उक्त मिडियाको प्रबन्ध निर्देशक थिए । पोखरास्थित सूर्यदर्शन सहकारीको साढे ५ करोड रुपैयाँ सोही मिडियामा पुर्याएर खर्च गरेको आरोपमा लामिछानेलगायतलाई सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
गतसाता पनि बहसको क्रममा सरकारी वकिलले लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न अनुमति मागेका थिए । लामिछानेको पक्षबाट नारायण घिमिरे,नारायण कँडेल,सुशील पन्तलगायतले बहस गर्दै बयान सकिएकाले रिहा गर्नुपर्ने धारणा राखेका थिए ।
गत मंगलबार सहकारी पीडितहरुको तर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहसको क्रममा थुनामै राखेर लामो समयसम्म अनुसन्धान गर्नुपर्ने जिकीर गरेका थिए ।
टिप्पणीहरू