अमेरिकी जर्नेलसँगको भेटपछि रक्षामन्त्रीको स्पष्टीकरण

अमेरिकी जर्नेलसँगको भेटपछि रक्षामन्त्रीको स्पष्टीकरण

रक्षामन्त्री मानवीर राईले आफूले अमेरिकी सेनाका एकजना जर्नेलसँग मात्रै भेटेको बताउनुभएको छ । उहाँले प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा अमेरिकी सेना दलबलसहित नेपाल नआएको उल्लेख गर्नुभयो । 

बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपालमा अमेरिकी सेना आएको र हिजो सिंहदरबारमा भएको भेटबारे रक्षामन्त्रीलाई सोधेकी थिइन् । जवाफ दिँदै मन्त्रीले भन्नुभयो, ‘एक जना रथी आउनुभएको छ । दलबलसहित होइन ।’

अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेण्ट जर्नेल जोसह्वा एम. रुडले मन्त्री राईसँग हिजो रक्षा मन्त्रालयमा भेटवार्ता गर्नुभएको थियो । सो क्रममा दुईपक्षीय सम्बन्ध,सैन्य सहयोग आदानप्रदान र थप सहकार्यबारे विचार विमर्श भएको बुझिएको छ ।

अमेरिकी सैन्य रणनीतिअन्तर्गतको इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जनरल रुड नेतृत्वको चार सदस्यीय टोलीमा लेफ्टिनेन्ट कर्णेल ब्राण्डन क्रुपा,दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका लागि रणनीतिकार तथा नीति सल्लाहकार रमा मुत्याला,राजनीतिक सल्लाहकार सेहजी खान र सञ्चार अधिकृत डस्टिन ह्विटाकार छन् । टोली अमेरिकी वायुसेनाको कल साइन निन्जा ९८ वाला मील एअर विमानमा शुक्रबार दिउँसो आएको हो ।

यता पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजै वर्तमान केपी ओली नेतृत्वको सरकार सत्ता जोगाउन राष्ट्रिय स्वाधीनतामा सौदाबाजी गर्न लागेको गम्भीर आरोप लगाउनुभएको थियो । मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा बोल्दै दाहालले अमेरिकाको राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपिपी) सम्झौताका लागि अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको दाबी गर्नुभएको छ । यसबाट नेपालको राष्ट्रिय स्वाधिनता कमजोर हुने उहाँको भनाई छ ।

टिप्पणीहरू