रातारात चीन पुग्यो मुख्यमन्त्री नेतृत्वको टोली

रातारात चीन पुग्यो मुख्यमन्त्री नेतृत्वको टोली
सुन्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन पुगेको छ । सिचुआन प्रान्तको राजधानी छन्तुमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डल गएराति चीन पुगेको छ ।

टोली चीनतर्फ प्रस्थान गरेपछि बसेको क्याबिनेट बैठकले विदेश भ्रमणको स्वीकृति दिएको थियो । हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले छन्तुमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन लुम्बिनीका मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिवलाई स्वीकृति दिएको जानकारी आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

छन्तुमा आजदेखि पर्सिसम्म आयोजित इन्टरनेसनल फ्रेन्डसिप सिटीज कोअपरेसन एण्ड डेभलपमेन्ट कन्फरेन्समा सहभागी हुन समन्वय र विकासको विषयमा छलफल गर्न टोली हिजो त्यता गएको हो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा २०७६ सालमा लुम्बिनी प्रदेश र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको थियो ।

 

चीन गएको टोलीमा मुख्यमन्त्रीसहित आर्थिक योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्त, स्वर्गीय एमाले नेता जीवराज आश्रित पुत्र डा. सागर न्यौपाने छन् । मुख्यमन्त्री आचार्यले आजदेखि लागु हुनेगरी कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाललाई दिएका छन् ।

टिप्पणीहरू