भैरहवामा भित्र बयान, बाहिर दुईथरी प्रदर्शन
भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बयान शुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालय रूपन्देहीमा पुर्याएपछि बयान थालिएको छ ।
कार्यालयभित्र बयान चलिरहँदा रास्वपा कार्यकर्ताहरुले बाहिर प्रदर्शन जारी राखेका छन् । अर्कोतर्फ सहकारी पीडित पनि आन्दोलित भएका छन् । स्थानीय सुप्रिम सहकारीका पीडितहरुले बचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।
सहकारीपीडित संघर्ष समितिका संयोजक विजय नेपालले पीडितहरूको आन्दोलन नरोकिने बताए । उनले सुप्रिम सहकारी संस्थाको बचत रकम फिर्ता र दोषीमाथि कारबाही नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।
नेकपा (एमाले) सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समिति र प्रहरी प्रतिवेदनले बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रविकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा रकमान्तर भएको जनाएको छ ।
लामिछानेलाई मध्यान्ह पोखराबाट विमानमा भैरहवा ल्याएदेखि समर्थकहरुले चर्का नारा लगाउँदै प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवम् डीएसपी लक्ष्मी खनालका अनुसार अपरान्हसम्म भैरहवाको अवस्था सामान्य नै देखिन्छ ।
टिप्पणीहरू