नगर प्रमुखले उद्धघाटन गरेको घट्ट सञ्चालनमा

नगर प्रमुखले उद्धघाटन गरेको घट्ट सञ्चालनमा
सुन्नुहोस्

चितवनको कालिका नगरपालिका–९ सिन्ती झरनानजिकै रहेको पानी घट्ट स्तरोन्नति गरिएको छ । 

जीर्ण अवस्थामा रहेको पानी घट्ट स्तरोन्नतिपछि नगरप्रमुख विनोद रेग्मीले उद्धघाटन गरेसँगै सञ्चालनमा आएको छ । स्थानीय रमेश मगरले सञ्चालन गर्दै आएको घट्टबाट वडा नम्बर ९ र १० का पहाडी क्षेत्रमा बसोबास गर्ने स्थानीयले लाभ लिँदै आएका थिए । 

तर, जीर्ण बनेपछि सो पानी घट्ट बन्द भएको थियो । जसका कारण स्थानीय घण्टौं हिँडेर मिलसम्म जान बाध्य थिए । नगरपालिकाले पानी घट्ट स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८१–८२ मा डेढ लाख रुपैयाँ विनियोजन गरेको थियो । 

पानी घट्ट सञ्चालनमा आएसँगै स्थानीयलाई सहज हुने नगरप्रमुख रेग्मीले विश्वास व्यक्त गरे । 

उनले भने,‘चितवनमा अन्त कतै पानी घट्ट छैन् । जीर्ण बनेपछि भएको यो एउटा पानी घट्ट पनि बन्द थियो । पानी घट्ट स्तरोन्नति गरेपछि झण्डै एक सय घरधुरी लाभान्वित हुन्छन् । घण्टौंसम्म हिँडेर मिल जानुपर्ने बाध्यता हट्छ ।’

तस्बिरहरु

टिप्पणीहरू