प्रधानमन्त्री चीन जाने,भारतीय सेनापति नेपाल आउने

प्रधानमन्त्री चीन जाने,भारतीय सेनापति नेपाल आउने
सुन्नुहोस्

भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण शुरु हुनुअघि द्विवेदीले नेपाल भ्रमण गर्न लागेका हुन् । उक्त भ्रमण विशेषगरी द्विपक्षीय सैन्य सम्बन्धलाई थप मजबुत बनाउँदै सुरक्षा क्षेत्रलाई आधुनिक तुल्याउनेमा केन्द्रित हुने बताइएको छ । 

नेपाली समकक्षीसँगको भेटवार्तापछि भारतीय सेना प्रमुख द्विवेदी मुक्तिनाथ जाने बुझिएको छ । दुई मुलुकका सेनाबीच हुँदै आएको सहयोग आदानप्रदानअन्तर्गत यस पटक सूर्य किरण संयुक्त सैन्य अभ्यासको अवलोकनमा पनि द्विवेदी सहभागी हुने छन् । उक्त अभ्यास मूलतः आतंकवादप्रतिरोध,प्रकोपमा उद्धार तथा मानवीय सहयोगसँग सम्बन्धित हुँदै आएको छ ।

भारतीय अखबार द ट्रिब्युनको अनलाइन संस्करणले सेना प्रमुखको भ्रमण नेपालले अस्वीकार गरेको भारतीय सेनाको अग्नीपथ योजनाअन्तर्गत नेपाली युवा भर्ति कार्यक्रम सुचारु गर्नेमा केन्द्रित हुने जनाएको छ । भारतीय सेनाका केही रेजिमेन्टमा ४३ गोर्खा बटालियन छन् । तिनमा कम्तीमा ६० प्रतिशत नेपाली युवाको बाहुल्य रहेको छ । 

भारतले अघि सारेको अग्नीपथ स्किमअन्तर्गत नेपाली युवा चार वर्ष सैनिक तालिममा सहभागी हुन्छन् । तीमध्ये २५ प्रतिशतले सेवालाई निरन्तरता दिन्छन् भने बाँकीमध्ये केहीले केन्द्रीय सैन्य प्रहरी सेवा र केहीले सार्वजनिक क्षेत्रका इकाइमा काम गर्ने मोडालिटी बनाइएको छ । तर, नेपाल पक्षले भारतको उक्त प्रस्तावलाई अस्वीकार गरेको ट्रिब्युनले लेखेको छ ।

नेपालले अग्नीपथ स्किममा सहभागी हुन असहमति जनाएपछि अवकाशप्राप्त  मेजर जनरल अशोक मेहताले भनेका थिए, ‘यो भारतको एउटा रणनीतिक भर्ना कार्यक्रम हो । गोर्खा सैनिकसँगको सम्बन्धलाई ध्यानमा राखेर भारतले नेपालका केही चाहनालाई समावेश गर्नुपर्छ ।’

टिप्पणीहरू