स्वदेशी र विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम फरक भवनमा

स्वदेशी र विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम फरक भवनमा

नेपाली र विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम अब एउटै भवनमा सञ्चालन गर्न रोक लगाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थालाई त्यस्तो निर्देशन दिएको छ । 

मन्त्रालयले एउटै भवन परिसरमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाहरुले एक वर्षभित्र अनिवार्य रुपमा अलगअलग स्थानमा कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाइएको छ । 

त्यस्तै, विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिएर मन्त्रालयबाट अनुमति प्राप्त शिक्षण संस्थाहरुले पनि तीन वर्षभित्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता (क्युएए) प्राप्त गरिसक्न र त्यसका लागि तत्काल प्रक्रिया अघि बढाउन भनिएको छ । 

मन्त्रालयले प्रत्येक शिक्षण संस्थालाई छुट्टाछुट्टै डेडिकेटेड पूर्णकालीन प्रिन्सिपलको अविलम्ब व्यवस्था गरी निजको सम्पर्क नम्बरसहितको विवरण उपलब्ध गराउनसमेत परिपत्रमा उल्लेख छ । योसँगै विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई मन्त्रालयबाट अनुमति प्राप्त सञ्चालित सबै शिक्षण संस्थाले वार्षिक प्रतिवेदन तयार पारी माघभित्र पेश गर्नुपर्ने छ ।

टिप्पणीहरू