मनमोहक ‘विश्व शान्ति स्तूप’
रुपन्देहीको प्रख्यात बौद्ध धार्मिकस्थल लुम्बिनीमा अवस्थित ‘विश्व शान्ति स्तूप’ निकै सुन्दर छ । यो स्तूप गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रमुख आकर्षण केन्द्र बनेको छ । लुम्बिनी गुरुयोजनाको उत्तरी क्षेत्रमा रहेको उक्त स्तूप लुम्बिनी पुग्ने धेरैजसो मानिसहरु जाने गर्दछन् ।
निकै मनमोहक र आकर्षक रहेको लुम्बिनी स्तूपको नाममा समेत परिचित यो नेपालकै सबैभन्दा अग्लो स्तूप पनि हो । भगवान् बुद्धको पवित्र अस्तु धातु स्तूपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएकाले पनि शान्तिका अनुयाईको आस्था र पवित्र केन्द्र बनेको छ । लुम्बिनी स्तूप स्वर्गीय जापानी निप्पोजान म्याहोजी संस्थाका संस्थापक फुजी गुरुद्वारा विश्वभर बनाइएका ८० बढी विश्व शान्ति स्तूपमध्ये एक हो ।
सात वर्ष लगाएर निर्माण गरिएको शान्ति स्तूप ४१ दशमलब ५ मिटर अग्लो र २० मिटर गोलाइ रहेको छ । त्यस्तै, स्तूपको आधार स्तम्भ ५९ मिटर गोलाई छ । झण्डै ९ सय मेट्रिक टन सिमेन्ट लागेको उक्त स्तूपमा २७ हजार स्क्वायर फुट मार्बल प्रयोग गरिएको छ ।
२०५० कात्तिक २८ गते स्वर्गीय गिरिजाप्रसाद कोइरालाले शिलायन्स गरिएको स्तूपको ०५८ कात्तिक १८ गते उनैले उद्घाटन गरेका थिए । दोस्रो विश्वयुद्धका बेला जापानको ताका हिरोसिमा र नागसाकीमा आणविक अस्त्रको प्रहारबाट असंख्य मानवीय नरसंहार दर्दनाक दृश्यबाट भावविह्वल भई फूजीले संसारभर नै शान्ति स्तूपको निर्माण कार्य थालेका थिए ।
‘विश्व शान्ति स्तूप’ तस्विरहरू
टिप्पणीहरू