सौर्य एअरलाइन्सले गर्याे विमान दुर्घटनामा ज्यान गुमाएकी यात्रुको हस्ताक्षर किर्ते

सौर्य एअरलाइन्सले गर्याे विमान दुर्घटनामा ज्यान गुमाएकी यात्रुको हस्ताक्षर किर्ते
सुन्नुहोस्

जहाज दुर्घटनामा ज्यान गुमाएकी छोरीको हस्ताक्षर किर्ते गरेको दाबीका साथ सौर्य एअरलाइन्स व्यवस्थापनमाथि कारबाहीको मागसहित अभिभावकले प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका छन् । पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडाको हस्ताक्षर किर्ते गरेर नक्कली कागजातको आडमा एअरलाइन्स व्यवस्थापनले गम्भीर अपराध गरेको उजुरी दर्ता गरेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालमा ४०६० नम्बरमा दर्ता भएको उजुरीमा व्यापारिक स्वार्थका लागि एअरलाइन्स व्यवस्थापन पक्षले गैरकानुनी रुपमा १२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत छोरीको हस्ताक्षर किर्ते गरिएको उल्लेख छ । सौर्यले प्रिजाको हस्ताक्षर किर्ते गरेर पीडित परिवारको आत्मसम्मान र स्वाभिमानमा ठेस पुर्याएको भनिएको छ । 

उजुरीमा जहाज दुर्घटना छानबिन गर्न गठित सरकारी आयोग गठन गर्दा कानूनविपरीत योग्यता नै नपुगेकालाई सदस्य बनाइएको पनि उल्लेख छ । उक्त दुर्घटनाबारे आयोगले नियोजित प्रतिवेदन तयार गरेको आरोप लगाइएको छ । प्रतिवेदनको पुनःपरीक्षण गर्न संवैधानिक आयोग गठन गर्नुपर्ने खतिवडाको माग छ । 

‘सौर्य जाहाज दुर्घटनाको मुख्य कारण एअरलाइन्स व्यवस्थापन पक्षको लापरवाही, प्राविधिक त्रुटी र मानवीय कमजोरी भन्ने स्पष्ट छ । उक्त कुरा सरकारी आयोगको प्रतिवेदनलेसमेत पुष्टि गरेको छ’, उजुरीमा भनिएको छ ।

१८ जनाको ज्यान गएको उक्त दुर्घटनाका मुख्य दोषी वायुसेवा कम्पनी र व्यवस्थापन पक्षलगायत सबैलाई कारबाही गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने माग छ ।

गत साउन ९ गते नियमित मर्मतका लागि पोखरातर्फ उड्नेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना हुँदा डेढ दर्जनको ज्यान गएको थियो । दुर्घटनामा छोरी,ज्वाइँ र नाबालक नाति गुमाएका पत्रकार खतिवडाले गैरकानुनी उडानमा आफूले तीन सन्तति गुमाउनु परेको दुःखेसो गरे । निधनपछि पनि छोरीलाई भ्रष्ट सावित गर्न खोज्दै एअरलाइन्स व्यवस्थापन पक्षले गम्भीर अपराध गरेको उनको भनाई छ ।

‘प्रधानमन्त्रीको हस्ताक्षर किर्ते गर्नेलाई पक्राउ गरेर कारबाही हुने तर गम्भीर अपराध गर्ने सौर्य व्यवस्थापनलाई पक्राउ गरेर कारबाही गर्न कुन कानुनले छेकेको छ ?’ खातिवडाले प्रश्न गरे । उनले आजै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमासमेत उजुरी दर्ता गराएका छन् ।

टिप्पणीहरू